स्रोत नखुलेको साढे ८३ लाख बढी रुपैयाँ बरामद, दुई जना पक्राउ
जनकपुरधाम । धनुषाको सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले दुई जनाबाट स्रोत नखुलेको साढे ८३ लाख बढी रुपैयाँ बरामद गरिएको छ ।
पक्राउ पर्नेहरूमा जनक नन्दिनी गाउँपालिका ५ का ३६ वर्षीय ईश्वर मण्डल र सोही ठाउँका १९ वर्षीय राजेश मण्डल छन् ।
उनी दुवै जनाले आलुको बोरा ल्याउँदै गर्दा जनक नन्दिनी गाउँपालिका १ इनरुवा सीमा इलाका स्थित चेक प्वाइन्टमा विओपीबाट खटेको प्रहरी निरीक्षक शम्भु कटुवाल नेतृत्वको टोलीले चेकजाँचको क्रममा स्रोत नखुलेको रुपैयाँ बरामद भएपछि पक्राउ गरिएको छ ।
प्रहरी निरीक्षक कटुवालको अनुसार उनीहरूबाट ८३ लाख ६४ हजार ५ सय रुपैयाँ बरामद भएको छ । बरामद रकममध्ये १ हजारको ७ हजार नोट, ५ सयको २६९९ नोट, १०० को १ सय नोट र ५० को १ सय नोट रहेको छ ।
उनीहरू भारतबाट नेपालतर्फ आउने क्रममा शंका लागेर चेकजाँच गरेपछि बरामद भएको स्रोत नखुलेको रकम, मोटरसाइकल र रुपैयाँ आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा पठाएको तयारी गरेको सशस्त्र प्रहरीले जनाएको छ ।