कप्तान रेनुका १० हप्ता मैदान बाहिरः साफ गुमाउने निश्चित
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान रेनुका नगरकोटी करिब दश हप्ता मैदान बाहिर रहने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
एसियन कपको तयारीमा रहेकी उनी सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रशिक्षणका क्रममा घाइते भएकी थिइन् । रेनुकाको ‘क्लाभिकल फ्याक्चर’ अर्थात् घाँटी मुनिको बायाँ हड्डी भाँचिएको थियो ।
घाइते भएलगत्तै उनलाई उपचारका लागि बीएनबी अस्पताल लगिएको थियो । सोमबार नै उनको सफल रुपमा शल्यक्रिया भएको थियो । तर, कति समय मैदान बाहिर रहने भन्नेबारे टुङ्गो थिएन ।
दश हप्ता मैदान बाहिर हुने भएसँगै उनले भदौ १३ देखि २५ सम्म नेपालमा आयोजना हुने भनिएको महिला साफ च्याम्पियनसिप २०२२ गुमाउने भएकी छन् ।