विद्यार्थी नपुग्दै नेपालबाट वर्सेनि विदेशिन्छ ९४ अर्ब – Nepal Press

विद्यार्थी नपुग्दै नेपालबाट वर्सेनि विदेशिन्छ ९४ अर्ब

विदेशमा हैन, नेपालमै गरौं अध्ययन

नेपालको अर्थतन्त्र इतिहासमा नेपालले सायदै भोगेको समस्याहरुबाट गुज्रिरहेको छ । अर्थतन्त्रका प्रायः सबै सूचकहरु नकारात्मक छन् । एक वर्ष अगाडि ९ महिनाका लागि वस्तु र सेवा खरिद गर्न प्रशस्त सञ्चित भएको विदेशी मुद्रा ६ महिनाका लागि मात्र पर्याप्त हुने अवस्थामा पुग्नु भनेको सानो विषय हैन । यही गतिमा देश अगाडि बढ्दा दुई वर्षपछि हामी विदेशी मुद्राको सञ्चितीविहीन अवस्थामा पुग्ने खतरा उत्पन्न भएको छ । यस्ता अनेक तथ्यांकहरुको विश्लेषण गरी कतिपय अर्थशास्त्रीहरुले ‘नेपाल श्रीलंकाको बाटोमा अग्रसर भइरहेको छ’ भन्ने अत्यन्त डरलाग्दो निष्कर्ष निकाल्न थाल्नु देशलाई माया गर्ने जनताका लागि ठूलो पीडाको विषय हो ।

कोभिडको महामारीकै समयमा पनि झिनो भए पनि सकारात्मक लयमा अगाडि बढिरहेको नेपालको अर्थतन्त्र एक वर्षको छोटो समयमा यस्तो लज्जाजनक अवस्थामा पुग्नुको एकमात्र कारण वर्तमान सरकारको गलत नियत र नीति नै हो । सरकारलाई भने यो विषयले किञ्चित छोइरहेको देखिन्न । तथापि आफैंमा कम्फटेवल महसुस गरिरहेको सरकारलाई दोष थोपरेर बस्नु देशको भलो चाहने व्यक्तिहरुको लागि समयको बर्बादीमात्र हो ।

तसर्थ अब जनता आफैं सजग भएर यो देशको अर्थतन्त्रलाई सही ट्रयाकमा ल्याउन आफ्नो क्षेत्रबाट सक्दो पहलकदमी लिनुपर्ने देखिन्छ । जनताले लिनसक्ने र लिनुपर्ने केही पलहकदमीमध्ये एउटा महत्वपूर्ण पहलकदमी – नेपालीहरुको विदेश अध्ययनबाट भइरहेको विप्रेषणलाई संकुचन गर्न आह्वान गर्दै यो आलेख तयार गर्दैछु । यद्यपि नेपालमा अध्ययन गर्न नपाइने/नसकिने विषय तथा विद्यावारिधि जस्ता डलर खर्चनु नपर्ने, उल्टो अध्ययन÷अनुसन्धानबाट भत्ता प्राप्त हुने तहका विषयहरुका लागि निरुत्साहित गर्ने मनसाय राखिएको छैन, बरु त्यस्तो अध्ययनको प्रोत्साहन नै गर्ने हो । १२ कक्षाको नतिजा प्रकाशित भएसँगै, अझ कतिपय अवस्थामा एसईई परीक्षालगत्तै अध्ययनका नाममा विदेश बसाइ सर्ने योजना भएका विद्यार्थीहरुलाई अनुरोध गर्ने मनसायले यो आलेख तयार गरिएको हो ।

आर्थिक वर्ष २०६८/०६९ देखि आर्थिक वर्ष २०७५/०७६ सम्म (कोभिडका प्रतिबन्धहरु सुरु हुनु पहिलेसम्म)को जम्मा ८ वर्षको छोटो अवधिमा २,९०,६४३ जना विद्यार्थीहरुले एनओसी लिएको शिक्षा मन्त्रालयको तथ्यांक छ ।

विदेशी विश्वविद्यालयमा अध्ययन व्यक्तिको आधारभूत मानव अधिकार भएकाले यसलाई संकुचन गर्ने हेतुले कुनै धारणा वा विचार प्रसारित गर्न अप्ठ्यारो छ । देशमा विद्यमान अनेकौं समस्याका कारण आजको दिनमा विदेशमा गएर अध्ययन गर्ने नेपाली विद्यार्थीहरुको आधारभूत चाहना भइसकेको अवस्थामा उनीहरुलाई आफ्नो अधिकारबाट बञ्चित हुने गरी कुनै नियम-कानून प्रतिपादन गर्न सकिन्न, दुरुत्साहित हुने तर्क पेश गर्नु पनि शोभनीय हुन्न । तर, देशको अर्थतन्त्र कहालीलाग्दो अवस्थाबाट गुज्रिरहेको वर्तमान अवस्थामा छलफलका लागि यो विषय पस्किनु असान्दर्भिक नहोला भन्ने हेतुले यो विषयको उत्थान गर्ने हिम्मत गर्दैछु ।

हामीले विदेशी विश्वविद्यालयको शिक्षालाई सेवाका रुपमा डलरमा खरिद गरिरहेका छौं । यसतर्फ हाम्रा केही सूचकहरु अवलोकन गरौं । आर्थिक वर्ष २०६८/०६९ देखि हालसम्म करिब ४ लाख विद्यार्थीले विदेशमा अध्ययन गर्न जान आवश्यक पर्ने नो अब्जेक्सन लेटर (एनओसी) पत्र लिएको अनुमान छ । आर्थिक वर्ष २०६८/०६९ देखि आर्थिक वर्ष २०७५/०७६ सम्म (कोभिडका प्रतिबन्धहरु सुरु हुनु पहिलेसम्म)को जम्मा ८ वर्षको छोटो अवधिमा २,९०,६४३ जना विद्यार्थीहरुले एनओसी लिएको शिक्षा मन्त्रालयको तथ्यांक छ ।

कोभिड सकिँदै गर्दा यस वर्ष २०२२ को सुरुवातदेखि दैनिक १००० देखि १२०० विद्यार्थीहरुले एनओसीका लागि आवेदन बुझाउन थाले । लाइन यति लामो र अस्तव्यस्त हुन थाल्यो कि विद्यार्थीहरुबीच लुछाचुँडीमात्र हैन, हानाहानको अवस्था पनि देख्नुपर्‍यो । यो विषयलाई सम्बोधन गर्न नेपाल सरकार, शिक्षा मन्त्रालय, एनओसी शाखाले अनलाइनमार्फत कागजात बुझाउने पद्धतिको विकास गर्नुपर्‍यो ।

प्रत्येक विद्यार्थीले विदेशमा अध्ययन गर्न जाँदा लाग्ने खर्च जाने मुलुक, विश्वविद्यालयको प्रकार, अध्ययनको तह र विषयअनुसार फरक पर्ने भए पनि समग्रमा हेर्दा एकजना नेपाली विद्यार्थीले विदेश जाँदा ७५ हजार अमेरिकी डलर लगानी गर्नुपर्ने सामान्यकृत तथ्यांक छ ।

सन् २०२२ को सुरुका ३ महिनामा ४० हजार विद्यार्थीहरुले एनओसी प्राप्त गरिसकेका छन् भने यही गति रह्यो भने यो वर्ष एक लाख विद्यार्थी अध्ययनका लागि बाहिर निस्कने देखिन्छ । प्रत्येक विद्यार्थीले विदेशमा अध्ययन गर्न जाँदा लाग्ने खर्च जाने मुलुक, विश्वविद्यालयको प्रकार, अध्ययनको तह र विषयअनुसार फरक पर्ने भए पनि समग्रमा हेर्दा एकजना नेपाली विद्यार्थीले विदेश जाँदा ७५ हजार अमेरिकी डलर लगानी गर्नुपर्ने सामान्यकृत तथ्यांक छ । यसअनुसार यो वर्ष करिब ७५ करोड अमेरिकी डलर उनीहरुको लगेज अगाडि नै विदेश उड्ने देखिन्छ, जुन आजको विनिमयदरमा ९३ अर्ब ७५ करोड नेपाली रुपैयाँ हुन आउँछ । यो भनेको नेपालको यस वर्षको बजेटको १९.१३ प्रतिशत हो ।

तर्क हुनसक्छ, उनीहरुले कमाएर रेमिट्यान्सको रुपमा नेपालमा पैसा पनि पठाइरहेका छन् । तर, तथ्यांकले बताउँछ कि अध्ययन गर्न जाने समृद्ध मुलुकमा हो र त्यहाँ जाने व्यक्ति (या विद्यार्थीहरु) ले यता रेमिट्यान्स पठाउनेभन्दा उतै सेटल हुने कुरामा बढी ध्यान केन्द्रित गरिरहेका देखिन्छन् । यसरी हेर्दा शिक्षाका लागि प्रत्येक वर्ष बाहिरिने पैसामध्ये थोरैमात्र डलर नेपालमा फर्किन्छ भने धेरै उतै जम्छ ।

त्यसो त नेपाल राष्ट्र बैंकले सन् २०१९ मा रहेको एक अनुसन्धानले देखाएको छः नेपालमा रेमिट्यान्स आम्दानी बढ्दै जाँदा निर्यात कमजोर र आयात बलशाली हुँदै गएको छ । किनभने रेमिट्यान्सको पैसा आफैंमा उत्पादनको क्षेत्रमा लगानी नभई उपभोग्य वस्तुमा (अधिकांश अवस्थामा विलासिताको वस्तुमा) मात्रै लगानी भइरहँदा उत्पादकत्व बढेको छैन, बरु उत्पादक युवा शक्ति बाहिरिँदा उत्पादन घट्दैछ । तसर्थ, रेमिट्यान्सले देशलाई सबल बनाउने आधार भेट्न मुस्किल छ ।

अमेरिकाको रफ्तार र निरन्तर विकासको महत्वपूर्ण कारण भनेको विश्वभरिका राम्रा विद्यार्थी थप अध्ययनका लागि त्यहाँ जाने परम्पराले नै हो भन्ने कुरा प्रमाणित जस्तै छ । तसर्थ नेपालको शिक्षालाई समृद्ध गर्न राम्रा विद्यार्थीहरुलाई यही अध्ययनका लागि उत्साहित बनाउनु अत्यावश्यक छ ।

विदेशमा अध्ययन गर्न जाने प्रवृत्तिलाई रोक्न सक्दा नेपालको वर्तमान डलर सञ्चिती समस्यालाई उकास्न सकिन्छ भन्ने तर्कबाट यो आलेखको उत्थान भए पनि वास्तवमा नेपालको शिक्षामा दूरगामी विकासका लागि नेपाली विद्यार्थीहरुले उच्च शिक्षा नेपालमै हासिल गर्ने अवस्थाको सृजना अपरिहार्य छ । राम्रो शिक्षाको वातावरण बनाउन शिक्षा नीति, शिक्षक र शिक्षालयमात्र राम्रो भएर पुग्दैन, त्यसको महत्वपूर्ण अंश राम्रो विद्यार्थी हो ।

अमेरिकाको रफ्तार र निरन्तर विकासको महत्वपूर्ण कारण भनेको विश्वभरिका राम्रा विद्यार्थी थप अध्ययनका लागि त्यहाँ जाने परम्पराले नै हो भन्ने कुरा प्रमाणित जस्तै छ । तसर्थ नेपालको शिक्षालाई समृद्ध गर्न राम्रा विद्यार्थीहरुलाई यही अध्ययनका लागि उत्साहित बनाउनु अत्यावश्यक छ । त्यसो त तथ्यांकले देखाउँछ, २०४६ पछि नेपालले शिक्षामा फड्को नै मारेको छ । यद्यपि नेपालले शिक्षामा गर्नुपर्ने धेरै विषयहरु बाँकी छन् ।

राम्रा विद्यार्थी राम्रो शिक्षा अध्ययनका लागि प्यासी हुन्छन् । देशको शिक्षा प्रणालीले त्यो प्यास मेट्न नसक्दा ती विद्यार्थीहरु भौतारिँदै बाहिर जानुपर्ने बाध्यता पनि छ । तर, दुःखलाग्दो कुरा के छ भने नेपालमा सजिलै अध्ययन गर्न सकिने विषयहरुका लागि पनि नेपाली विद्यार्थीहरु विदेशमा अध्ययन गर्न जाने परम्परा ह्वात्तै बढेको छ । यसको कारण खोतल्ने हो भने हामी सजिलै के निष्कर्षमा पुग्न सक्छौं भने अधिकांश नेपाली विद्यार्थीहरु शिक्षाको खोजीभन्दा पनि स्वतन्त्रता र श्रममार्फत आर्थिक उपार्जनको खोजीमा अध्ययनको नाममा विदेश गइरहेका छन् ।

अधिकांश नेपाली विद्यार्थीहरु शिक्षाको खोजीभन्दा पनि स्वतन्त्रता र श्रममार्फत आर्थिक उपार्जनको खोजीमा अध्ययनको नाममा विदेश गइरहेका छन् ।

विदेशमा अध्ययनरत विद्यार्थीहरुले सफा शहर र ठूला महलको अगाडि खिचेका फोटाहरु फेसबुक, इन्स्टाग्राममा राखिएका भरमा यहाँ रहेका विद्यार्थीहरु विदेश जान हतारिन्छन् । साथै विदेशमा अध्ययनका लागि पठाउनु परिवारका लागि समेत गौरवको विषयका रुपमा ग्रहण गर्ने संस्कार विकास भएकाले पनि आफ्ना सन्तानलाई बाहिर पठाउन परिवार कुनै कुरामा सम्झौता गर्न चाहन्न । तसर्थ, नेपालको शिक्षा गुणस्तरहीन भएकाले मात्रै यति धेरै विद्यार्थीहरु बाहिर गएका हुन् भन्ने तर्क कमजोर साबित हुन्छ ।

एउटा अध्ययनले देखाएको छ, अस्ट्रेलिया जाने नेपाली विद्यार्थीहरुमध्ये आधाले डिप्लोमा अध्ययन गर्छन् । जहाँ ५० हजार बढी नेपाली विद्यार्थीहरु अध्ययन भिषामा गएका छन् । र, अध्ययनका लागि जापान जाने ३० हजार बढी नेपाली विद्यार्थीमध्ये अधिकांशले जापानी भाषा अध्ययन गर्न जान्छन् । यसले के देखाउँछ भने अधिकांश विद्यार्थीहरुका लागि विदेशमा अध्ययन जानु भनेको विकसित मुलुकमा काम गर्न जान भिषा प्राप्त गर्ने बहानाबाजीमात्रै हो । दुःखको कुरा, नराम्रो विद्यार्थीहरुलाई ती मुलुकहरुले भिषा नै दिँदैनन् र राम्रो विद्यार्थीहरु नै यो भूमरीमा परिरहेको अवस्था हो ।

नेपालमा आफ्नो अध्ययनलाई निरन्तरता दिँदा निकै ठूलो सफलता हासिल गर्न सक्ने र देश तथा समाजलाई योगदान गर्ने स्थानमा पुग्न सक्ने व्यक्तिहरु पनि यसरी सजिलो र चाँडो पैसा कमाउने बाटो समात्न थाल्नु देशको भविष्यका लागि विडम्बना हो । विकसित मुलुकमा भिषा पाउने हैसियतका ‘क्रिम’ नेपाली विद्यार्थीहरुले यति नै पैसा लगानी लगेर नेपालमा कुनै व्यवसाय गर्दा सजिलै जीवन व्यतित गर्ने आम्दानी पक्कै निकाल्न सक्छन् भन्ने मेरो अनुमान हो ।

विकसित मुलुकहरुलाई श्रमिकको खाँचो छ र दोस्रो मुलुकका विद्यार्थीहरुलाई सजिलै काम दिन्छन्, ट्याक्स तिराउँछन् र विस्तारै यस्तो भूमरीको सृजना गरिदिन्छ कि ऊ चाहँदा पनि आफ्नो देशमा फिर्न नसक्ने अवस्था सिर्जना गरिदिन्छन् ।

नेपाली विद्यार्थीहरु अध्ययन गर्ने नाममा बाहिर जाने र उतै बसोबास गर्न थाल्दा यहाँ रहेका उनीहरुका अभिभावकहरु विस्तारै सहायताविहीन हुँदै गइरहेका र त्यसले सामाजिक विकृति ल्याइरहेका धेरै उदाहरण छन् । विकसित मुलुकहरुलाई श्रमिकको खाँचो छ र दोस्रो मुलुकका विद्यार्थीहरुलाई सजिलै काम दिन्छन्, ट्याक्स तिराउँछन् र विस्तारै यस्तो भूमरीको सृजना गरिदिन्छ कि ऊ चाहँदा पनि आफ्नो देशमा फिर्न नसक्ने अवस्था सिर्जना गरिदिन्छन् ।

उता छोरा/बुहारी अथवा छोरी/ज्वाइँ मेसिन जस्तै व्यवस्थित र सुन्दर जीवन गुजारा गरिरहने यता अभिभावकहरु सहाराविहीन हुँदा अत्यन्तै असहज जीवन व्यतित गरिरहने उदाहरण समाजमा निकै छन् । त्यसो त विकसित मुलुकले पत्याउने भनेका नेपालका राम्रा विद्यार्थीहरु हुन् । जसले नेपालमा सुसंस्कार, अनुशासित र सुन्दर समाज निर्माणमा योगदान गर्न सक्छन् । तसर्थ, आज जुन गतिमा विद्यार्थीहरु अध्ययनका नाममा बाहिर भासिँदैछन्, यसले निकट भविष्यमा एउटा ठूलो सामाजिक समस्या नेपालमा भित्र्याउने देखिन्छ ।

अहिले विदेश जाने विद्यार्थीहरु धेरै जना यहाँको वातावरणबाट निराश भएर गएका पनि देखिन्छन् । एउटा कुरा के मनन गर्नुपर्‍यो भने कुनै पनि मुलुक कम्तिमा एउटा पुस्ताले दुःख या त्याग नगरी बनेको छैन । नेपाल बनाउनलाई त्यो त्याग आजको पुस्ताले गर्ने कि भावी पुस्ताले गर्ने भन्नेमात्र प्रश्न हो, एउटा पुस्ताले त्याग त गर्नैपर्छ । आफूले दुःख गरेर भावी पुस्तालाई सुन्दर भविष्य दिने मनसाय राखेर बाहिर जान ठिक्क परेका ‘क्रिम’ विद्यार्थीहरुले यही दुःख गर्ने, यहाँकै शिक्षा प्रणालीलाई सुदृढ बनाउने, यहीकै उत्पादनलाई बढाउने र यही सुसंस्कारको सिर्जना गर्ने काममा लाग्नुपर्दछ ।

विदेश अध्ययन गर्न परामर्शदाताको भूमिकामा सेवा गर्ने महानुभावहरुले पनि विदेश अध्ययनलाई एकदमै सुन्दर विकल्प (अथवा अन्तिम सुन्दर विकल्प) का रुपमा प्रचारप्रसार गर्दा पनि नेपाली विद्यार्थीहरु विदेश जान मरिहत्ते गर्छन् । साह्रै नै व्यवस्थित परामर्श दिने सक्ने ती संस्थाहरुले राम्रो आम्दानी गरिसकेका छन्, अब उनीहरुले आफ्नो मातृभूमिका लागि आफ्नो व्यवसायी बदलेर नेपालमै केही गरौं भन्ने परामर्श दिने संस्थाका रुपमा विकसित गर्दा कसो होला ?

लेखक नेपाल बुद्धिजीवी परिषद्का केन्द्रीय कार्यसमिति सचिव हुन् ।


प्रतिक्रिया

2 thoughts on “विद्यार्थी नपुग्दै नेपालबाट वर्सेनि विदेशिन्छ ९४ अर्ब

  1. पिआर नलिने सर्तमा मात्र
    विद्यार्थी भिसा दिने नियम नेपाल सरकारले गर्नु पर्छ।त कि पछि फर्केर आओस।

  2. १) विद्यार्थीका रुपमा विदेशिनेहरु अधिकांस स्वतन्त्रता र सहज श्रमका लागि विदेसिएका हुन भने यो क्याल्कुलेडेड ९० अर्वको अधिकांस हिस्सा पढाईमा नभइ स्वतन्त्रता र सहज श्रममा लगानि हो । यसलाई रोक्ने रहर हो भने शिक्षामा भन्दा स्वतन्त्रता र सहज श्रममा लगानि गर्नूपर्ने भो ।
    २) शिक्षा, स्वतन्त्रता वा सहज श्रम जेसुकै कारण भएपनि स्थानान्तरण मानव स्वभाव हो । कमजोर अर्थतन्त्रको धकेलाइ र वहियो अर्थतन्त्रको आकर्षणले स्थानान्तरण अनिवार्य गराउछ । यो रोक्न सकिदैन र वृहत्तर मानवीय हितका हिसावले रोक्न आवस्यक र उचित पनि हुदैन ।
    ३) सन्तान विदेश जाँदा निरिह आमावावु गाउँमा एक्लै र दुखि जिवन वाँच्छन भने काम न काज संग हल्लिएर, चोरी चकारी र वेफजुल समय व्यतित गरेर यतै वसे पनि आमावावुले सुख पाउने होइन । राम्रो पढाइ पनि छैन, काम पनि छैन र सम्मानजनक व्यवहार पनि छैन भने किन यहाँ वस्ने ?
    ४) एउटै पिंढीमा कसैले वेइमानी पूर्वक धन, मान र सहज जीवन आर्जन गरिरहेको छ भने त्यहि पिंढीको कसैले दुख, पिडा र अपमान । अनि कनै न कुनै पिंढीले दुख गर्नैपर्छ भनेर उसैले किन दुख सहने ? अर्काे जो सुखमा छ उसले त दुख गर्नेको हिस्सा समेत लिइरहेको छ ।
    ५) मार्क्सले वेराजगारीलाई रिजर्भड् इण्डस्ट्रिएल आर्मी भनेका छन् । विश्वव्यापिकरणले पुजिको मात्र विश्वव्यापिकरण गरेको छैन, श्रमको पनि विश्वव्यापिकरण हुँदैछ । तर ग्लोवल पुजिपति वर्गले आफ्नो हितका लागि त्यसलाई नियमन गर्छ । नियन्त्रित विश्वव्यापिकरण । चाहिएको जति मात्र लाने । अनि लोकल पुजिपति यहाँ सस्तो श्रमिक नपाइएला कि भनेर अनेकौं कानूनी, साँस्कृतिक वा भावनात्मक झमेला खडा गरेर रोक्न थाल्छ । त्यसलाई साथ दिनु हुँदैन ।
    ६) के इण्डिपेण्डेण्ट भेरिएवल हो के डिपेण्डेण्ट भेरिएवल हो ठिक आइडेण्टिफाइ गरौं । हामीले परिवेश सुधार्ने हो परिणाम सुधार्ने होइन । परिणाम त हामीले सुधारको परिवेशले निर्धारण गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *