देउवाको जिल्ला पुगेर भट्टले भने- गठबन्धन असफल भइसक्यो, आउँदो चुनावमा एमालेको बहुमत
कैलाली । नेकपा एमालेका सचिव लेखराज भट्टले मुलुक सरकारविहीन जस्तो भएको टिप्पणी गरेका छन् । डडेल्धुराका कार्यकर्तासँगको भेटघाटमा भट्टले प्रधानमन्त्री शेरबहादुर देउवा जिम्मेवार नहुँदा यस्तो समस्या देखिएको जिकिर गरे ।
डडेल्धुरा प्रधानमन्त्री देउवाको गृह जिल्ला हो । स्थानीय तहको निर्वाचन स्मरण गर्दै भट्टले भने, `प्रधानमन्त्री शेरबहादुर देउवाले शक्ति र सत्ताको दुरुपयोग गर्नुभयो । निर्वाचन अवधि भर आफैँ बसेर निर्वाचन प्रभावित गर्नुभयो ।´
सरकार जनताप्रति उत्तरदायी नभएको भट्टको आरोप थियो । `प्रधानमन्त्रीलाई यस विषयमा चासो छैन । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । जनता आक्रन्त छन् । प्रधानमन्त्रीज्यू मस्त हुनुहुन्छ ´ भट्टले आक्रोश जनाए ।
अर्थमन्त्री जनार्दन शर्मा राज्यप्रतिको अपराधमा संलग्न भएको पनि भट्टले आरोप लगाए । गठबन्धनका कारण देश श्रीलंकाको बाटोमा गइरहेको उनको भनाइ थियो ।
आगामी चुनावबाट एमाले पहिलो शक्ति बन्ने र बहुमतको सरकार बनाउने दाबी गर्दै उनले भने, ‘गठबन्धन गरेर एमाले सक्ने रणनीति बनाएपछि पाँच दलीय गठबन्धन असफल असफल भइसक्यो । संसदीय निर्वाचनमा हामी पहिलो शक्ति बन्छौ र बहुमतको सरकार बनाउँछौं ।´