दुई मन्त्रीको राजीनामासँगै बेलायती प्रधानमन्त्रीको पद संकटमा – Nepal Press

दुई मन्त्रीको राजीनामासँगै बेलायती प्रधानमन्त्रीको पद संकटमा

काठमाडौं । बेलायतका दुई मन्त्रीले मंगलबार राति अचानक राजीनामा दिएसँगै प्रधानमन्त्री बोरिस जोनसनलाई पुन: एकपटक पद छाड्न दबाब बढेको छ । वित्तमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जाविदले राजीनामा दिएसँगै बोरिसको पद संकटमा परेको हो ।

पछिल्लो समय विवादित बनिरहेका जोनसनले हालै मात्र सदनबाट विश्वासको मतसहित पद जोगाएका थिए । पछिल्लोपटक मन्त्रीको राजीनामापश्चात प्रधानमन्त्री जोनसनले नदिम जाहवीलाई नयाँ अर्थमन्त्रीमा नियुक्त गरेका छन् भने बेलायती क्याबिनेटका चिफ अफ स्टाफ स्टिभ बार्स्लेलाई स्वास्थ्य सचिवको जिम्मेवारी सुम्पिएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार राजीनामा दिनुपूर्व दुवै मन्त्रीले जोनसनलाई पत्र लेख्दै वर्तमा परिस्थितिमा आफूहरूले काम गर्न नसक्ने जनाएका थिए । यस्तै जाविदले देशमा बढ्दै गएको भ्रष्टाचारको कारण जोनसनको कार्य क्षमतामाथि नै प्रश्न उठाएका थिए ।

यौन दुर्व्यवहारको आरोप लागेका सांसद क्रिस पिन्चरलाई उपप्रमुख सचेतक नियुक्त गरेपश्चात प्रधानमन्त्री जोनसोन आलोचित बनेका थिए । उक्त आरोपको कारण पिन्चरले अहिले राजीनामा दिइसकेका छन् भने जोनसनले पनि पिन्चरलाई सरकारमा सामेल गराउने आफ्नो निर्णय गलत भएको स्वीकारसहित माफी मागेका छन् ।

कोरोना महामारीकाबीच लकडाउनको समयमा पार्टी गरिरहेको फोटो सार्वजनिक भएसँगै विवादमा तानिएका जोनसनले अघिल्लो महिना मात्र अविश्वासको प्रस्तावको सामना गरेका थिए । उक्त विवाद बेलायतमा ‘पार्टीगेट’ प्रकरणको नामले परिचित छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर