देवलाल र याङदी शुभकामना दौडमा प्रथम
काठमाडौं । देवलाल महर्जन र याङदी लामा शेर्पा बुद्धवीर लामा ११औं गीतिमय साँझको सफलताका लागि आयोजित ५ किलोमिटर शुभकामना दौडमा प्रथम भएका छन् । देवलाल पुरुष र याङदी महिलामा पहिलो भएका हुन् ।
देवलालले निर्धारित दूरी २३ मिनेट ५३ सेकेन्डमा पूरा गरे । राजु महर्जन दोस्रो तथा बुलाल महर्जन तेस्रो भए । तीन पटककी एभरेष्ट म्यारथन विजेता याङदीले ३२ मिनेट ११ सेकेन्ड समय खर्चिन् । सुनिता योञ्जन लामा दोस्रो तथा सीता रिमाल तेस्रो बने ।
विजेतालाई ज्ञानोदय बालबाटिका माविकी संस्थापिका इन्दिरा याक्थुम्बाले एक कार्यक्रमबीच पुरस्कृत गरिन् । सो अवसरमा भेट्रान धावकद्वय पुष्पलाल श्रेष्ठ र लाक्पा शेर्पा लामालाई सम्मान गरिएको थियो ।
प्रयास मञ्च नेपालको आयोजनामा शनिबार भएको दौड त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरबाट सुरु भएर विभिन्न भागको परिक्रमा गरी पुनः राखेपमै आएर टुंगिएको थियो । दौडमा एक सय सहभागी थिए ।
दक्षिण एसियाली खेलकुदका कीर्तिमानी पूर्वधावक बैकुण्ठ मानन्धर, पूर्वधावक एवं गीतकार बुद्धवीर लामा, विश्वको चर्चित मानिने बोस्टन र बर्लिन म्याराथन दौडिसकेका धर्म महर्जन, पूर्वधावक शम्भु दाहाल, एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीलगायत दौडेका थिए ।
पूर्वधावक एवं गीतकार बुद्धवीर लामाको नाममा इलाममा हुने बुद्धवीर लामा सूर्योदय पर्यटन हाफ म्यारथनको सहयोगार्थ बुद्धवीर लामा ११ औं गीतिमय साँझ भदौ ११ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुँदैछ ।