त्रिविको लापरबाहीः पाठ्यक्रममै नभएको प्रश्न आएपछि विद्यार्थी आन्दोलित (तस्वीरहरुसहित)
काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत बीबीए छैठौं सेमेस्टरको परीक्षामा पाठ्यक्रममै नभएको प्रश्न आएको भन्दै विद्यार्थी आन्दोलित भएका छन् । बागबजारस्थित पद्मकन्या क्याम्पस अगाडि विद्यार्थीहरूले नाराबाजीसहित आन्दोलन गरिरहेका छन् ।
आज भएको नेपाली राजनीति र समाज विषयको परीक्षाको प्रश्नपत्रमा पाँचाैं सेमेस्टरको समाजशास्त्र विषयका प्रश्नहरू आएको विद्यार्थीहरूको दाबी छ ।
त्रिभुवन विश्वविद्यालयले ठूलो लापरबाही गरेको भन्दै विद्यार्थीहरू आन्दोलित भएका हुन् । विद्यार्थीको आन्दोलनका कारण बागबजार क्षेत्रको सडक अवरुद्ध छ ।
यसैपटकको परीक्षामा २२ गते भएको संस्थागत व्यवहार विषयको प्रश्नपत्रमा पनि कमजोरी भेटिएको विद्यार्थीहरूले जनाएका छन् । जसमा एउटा कलेजको प्रि-बोर्डको प्रश्न परेपछि विद्यार्थीले दिएको परीक्षा स्थगित गरी साउन १ गते फेरि लिने भनिएको छ ।
तर, सूचनामा भने कुनै कारण नखुलाइएको विद्यार्थीले बताएका छन् ।