सरकारी वकिलसमक्ष बेचबिखन प्रभावितको गुनासो- कानूनी लडाइँ साह्रै झन्झटिलो
काठमाडौं । १३ वर्षको उमेरका आफ्नै काकासहित ३जना दलालबाट बेचबिखनमा परेकी सीता मिजार (नाम परिवर्तन) ले आफू भारतमा बेचिएदेखि स्वदेश फिर्तीसम्मको कहानी सुनाएपछि सरकारी वकिलहरू पनि भावुक भए ।
उनी शक्ति समूहको सहयोगमा भारतका कोठीबाट उद्धार भएर स्वदेश फिर्ती हुने प्रक्रिया निकै झन्झटिलो र कठिन थियो ।
फ्री अ गर्ल र एक्टप्याक्ट लग्जम्बर्गको सहयोगमा शक्ति समूह र महान्यायाधिवक्ताको कार्यालयले आयोजना गरेको एक दिने कार्यशालामा सीता जस्तै बेचबिखन प्रभावितहरूले आफ्ना पीडा सुनाए ।
आफूलाई बेचबिखन गर्ने दललाई कानूनी कारबाहीका लागि अघि बढ्दा धेरै झन्झट व्यहोर्नुपरेको उनले बताइन् । शुरुमा मुद्दा दर्ता गर्नै नमानेपछि शक्ति समूहकी संस्थापक चरीमाया तामाङको सहयोगमा उनले आफूलाई बेचबिखन गर्नेविरुद्ध मुद्दा दर्ता गर्न सफल भएकी थिइन् ।
जुन मुद्दामा अदालतले उनको पक्षमा फैसला गर्दै क्षतिपूर्ति बापत ५० हजार रुपैयाँ समेत भराएको थियो ।
सीता जस्तै अर्की प्रभावित रिता (नाम परिवर्तन) ले पनि दुई छोराछोरीसहित भारतमा बेचबिखनमा परेको अनुभव सुनाउँदै जेलबाट समेत दलालहरूले बारम्बार धम्की दिइरहेको बताइन् ।
उनले आफ्नो सुरक्षा कायम नहुँदा पेशा गर्न समेत नसकेको र लुकेर दैनिक जीवन जिउनुपरेको भन्दै मानव बेचबिखन ऐन २०६४ अनुसार क्षतिपूर्ति पनि नपाएको गुनासो गरिन् ।
मानव बेचबिखन तथा हिंसा पीडित प्रभावितहरूको न्यायमा सहज पहुँच सम्बन्धी कार्यशालामा पीडित तथा प्रभावितहरूले यस्तै गुनासो सुनाए, जसलाई महान्यायाधिवक्ता कार्यालयका उच्च अधिकारीले आफूहरुले गम्भीर रूपमा लिएको बताए ।
शनिवार आयोजित सो कार्यक्रममा शक्ति समूहकी बाला भट्टराईले १२ वर्षसम्म काम गरेको अनुभव सुनाउँदै अदालतमा प्रभावितको गोपनीयताको ख्याल नगर्ने, बन्द इजलासको व्यवस्थापनमा खेलाँची हुने तथा प्रतिवादीका वकिलहरूले प्रभावितलाई इजलासमा नै मानसिक हिंसा हुने खालका प्रश्न गर्ने गरेको बताइन् ।
यस्ता क्रियाकलापले बेचबिखन र हिंसा प्रभावितहरूलाई न्यायमा सहज पहुँच चुनौतीपूर्ण रहेको उनको भनाइ थियो ।
बेचबिखन र हिंसाबाट प्रभावितहरूको अनुभव सुनेपछि सहन्यायाधिवक्ता गोपाल प्रसाद रिजालले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐनका प्रमुख विशेषता,नेपालको कानून, मानव बेचबिखन समबन्धी ऐन स्वरूप र मानव बेचबिखनको ऐतिहासिक पृष्ठभूमिको बारेमा प्रस्तुति दिएका थिए ।
सहन्यायाधिवक्ता लोकराज पराजुलीले मानव बेचबिखन विरुद्धका कानुनमा भएका कमजोरीहरूको बारेमा बताएका थिए ।
शक्ति समूहकी अध्यक्ष चरीमाया तामाङको अध्यक्षतामा भएको सो कार्यक्रममा महान्यायाधिवक्ता खम्मबहादुर खाँतीले कानून बमोजिम सरकारी वकिलले प्रभावितहरूको पक्षमा सशक्त भूमिका निर्वाह गर्ने र बारसँग आबद्ध कानून व्यवसायीले पनि पीडितको संवेदनशीलतामा ध्यान दिनुपर्ने बताए ।
सो कार्यक्रममा शक्ति समूहकी बालकुमारी दर्लामीले कानुनी लडाइँको जटिलताबारे जानकारी गराएकी थिइन् ।