अन्तर्घात गरेको भन्दै सुर्खेत कांग्रेसमा उठ्यो शेखर समूहमाथि कारबाहीको माग – Nepal Press

अन्तर्घात गरेको भन्दै सुर्खेत कांग्रेसमा उठ्यो शेखर समूहमाथि कारबाहीको माग

सुर्खेत । स्थानीय तहको निर्वाचनमा असहयोग गरेको भन्दै कांग्रेस जिल्ला समिति बैठकमा शेखर समूहका नेता कार्यकर्तामाथि कारबाहीको माग उठेको छ । शनिबार बसेको कांग्रेस सुर्खेतको बैठकमा विभिन्न पालिकाका कांग्रेस नेताहरूले धारणा राख्ने क्रममा पार्टी पराजय हुनुमा इतर समूह जिम्मेवार भएको बताएका छन् ।

कांग्रेस सुर्खेत स्रोतका अनुसार २०७४ सालमा कांग्रेस एक्लैले ६ पालिका जित्नु तर यो पटक गठबन्धन हुँदा समेत ४ पालिकामा सीमित रहनु परेको बैठकमा आवाज उठेको हो ।

वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिकालगायतका पालिकामा कांग्रेस हार्नुको मुख्य कारण शेखर समूहको असहयोग भएको रिपोर्टिङ गरिएको हो । पूर्वमन्त्री हृदयराम थानी, पूर्वजिल्ला सभापति कमलराज रेग्मीसहितका शेखर समूहका नेतालाई तत्काल कारबाही गर्नुपर्ने माग राखिएको हो ।

स्थानीय तहको निर्वाचनको समयमा गठबन्धनको विरोध गर्दै कांग्रेसबाट उम्मेदवार बन्न शेखर समूहका नेताले इन्कार गरेका थिए । उनीहरूले कांग्रेसले पाउने पालिकामा ४० प्रतिशत आफूहरूको हिस्सा खोजेका थिए ।

हिजोको बैठकले नेपाली कांग्रेसले नेता टोपबहादुर रावतको संयोजकत्वमा तीन सदस्यीय अनुशासन समिति समेत बनेको छ । यो समितिको सदस्यमा जिल्ला कार्यसमिति सचिव देवकुमार सुवेदी र सहसचिव प्रकाश डिसी सदस्य रहेका छन् । संयोजक रावतले भने पार्टीको आन्तरिक छलफलमा यस्ता कुरा हुने गरेको स्वीकारे ।

‘पत्रकारलाई यस्ता कुरा भन्ने समय आइसकेको छैन । पार्टीको नियमित बैठकमा यस्ता कुरा उठिहाल्छन नि ?’ उनले भने, ‘कस कसको बारेमा के कुरा उठे त्यो सबै मिडियामा भन्न आवश्यक छैन । बरु त्यो सूचना दिने व्यक्ति को हो भन्नुस् ।’

यता, जिल्ला सभापति खड्क पोखरेलले साथीहरूबाट असहयोग भएको भन्दै पूर्व केन्द्रीय नेतासम्मका साथीहरूलाई कारवाही गर्नुपर्ने माग उठेको बताए ।

‘अहिले कुनै निर्णय भइसकेको छैन । स्थानीय तहको समीक्षा भइरहेको छ । पालिकास्तरबाट आएका गुनासालाई हामी अध्ययन गरिरहेका छौं ’, उनले भने, ‘केही साथीहरूबाट अन्तर्घात भएको महसुस भएको छ । त्यसलाई कसरी कारबाहीको दायरामा लैजाने भन्ने बारेमा केही समयपछि निर्णय होला ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर