दुर्व्यवहार प्रकरणको अर्को पाटो : सरिता तिवारीको प्रतिरोध कि प्रतिशोध ? – Nepal Press

दुर्व्यवहार प्रकरणको अर्को पाटो : सरिता तिवारीको प्रतिरोध कि प्रतिशोध ?

संगीतलाई सरिताले पठाएका ती दुई रोमान्टिक गीत

काठमाडौं । एउटै राजनीतिक/दार्शनिक धाराको वकालत गर्ने अत्यन्त निकटस्थ दुई अभियन्ता यतिवेला अवाञ्छित विवादमा आमनेसामने भएका छन् । चितवनकी सरिता तिवारीले पर्वतका यमबहादुर क्षेत्री उर्फ संगीत स्रोतामाथि लगाएको यौन दुर्व्यवहारको आरोपले कथित आलोचनात्मक चेतको उर्बरभूमिमा ठूलै प्रकम्पन उत्पन्न भएको छ ।

पाठकलाई थाहै होला, यो यस्तो धार हो जसले आफूहरुबाहेक देशका सबैलाई प्रतिगामी र बर्जुवामात्र होइन, उत्पीडक र स्त्रीद्वैषी पनि देख्छ । उत्पीडित वर्गको लागि आवाज उठाउने, सामाजिक न्यायको वकालत गर्ने ठेकेदारी आफूहरुसँग मात्रै भएको ठान्छ । यो शिविरमा वाम आन्दोलनका बाइप्रडक्टदेखि प्रजातान्त्रिक धाराका कुण्ठा र अराजकताका शिकारीहरु पनि वेलावेला सहकार्य गर्न पुग्छन् ।

विदेशी परियोजनाको जूठोपुरो खाएर उनीहरुकै एजेन्डाहरुको भारी बोकेका तथा राष्ट्रियता र देशभक्तिको कुरा गर्नेहरुलाई खोक्रो राष्ट्रवादी भन्दै धारेहात लगाउन बानी परेका कथित फरक चेतवाला अतिक्रान्तिकारीहरु यही धारभित्र गोलबन्द छन् । आज यही धारका दुई प्रतिनिधिले एक–अर्कालाई तरवार उज्याउनु एउटा ननिको दृश्य हो ।

सरिता र संगीतले एउटै वैचारिक जगमा टेकेर उग्र विचारधाराहरुमार्फत वाम वृत्तमा आफ्नो स्पेस बनाउन खोजिरहेका थिए । मूलधारको पत्रकारितामा लामो समयदेखि सक्रिय संगीत विगतमा चारित्रिक दाग लागेका व्यक्ति होइनन् । राजनीतिक रूपमा जस्तो चिन्तनले ग्रस्त भए पनि साहित्यमा उनी एक खँदिला प्रतिभा हुन् । उनको व्यक्तिगत स्वभाव पनि सरल, शालिन र मिजासिलो रहेको निकटस्थहरु बताउँछन् । त्यसैले उनीमाथि लगाइएको आरोप नजिकका साथीभाइका निम्ति आश्चर्यजनक थियो ।

सरिता तिवारीले फेसबुक लाइभमा आएर जसरी आफूलाई पीडित र संगीतलाई पीडक भनेर चित्रण गरेकी छन्, यो प्रकरण त्यति स्ट्रेटफरवार्ड पनि देखिँदैन । सरितामाथि अनगिन्ती प्रश्न उठाउने ठाउँहरु उनी स्वयंकै बयानले दिएका छन् ।

सरिताले भनेअनुसार उनी चितवनबाट किताब सम्पादनको कामका लागि काठमाडौं आएकी थिइन् । संगीतसँग उनको थापाथलीतिर भेट भयो । संगीतले आफ्नो डेरामै गएर बस्ने प्रस्ताव राखेपछि उनी सहजै तयार भइन् । संगीतकी पत्नी काठमाडौं बाहिर छिन् भन्ने सरितालाई थाहा थियो । र, पनि पहिल्यैदेखिको घनिष्टतासँगै एक–अर्कालाई दिदी–भाइ सम्बोधन गर्ने भएकाले एउटा विवाहित पुरुषको कोठामा गएर सुत्न अप्ठेरो मानिनन् भन्ने मानौं एकछिनलाई ।

सरिताले भनेअनुसार त्यस रात संगीतले कुनै पनि असहज व्यवहार गरेनन् । उनीहरु फरक कोठामा सुते । तर, भोलिपल्ट बिहान आफू ब्युँझेर ओछ्यानमा पल्टिरहँदा संगीत पनि आएर छेउमै पल्टिएको सरिताको भनाइ छ । यसलाई उनले पहिलो दुर्व्यवहारको रुपमा व्याख्या गरेकी छन् ।

सरिताका अनुसार छेउमा पल्टिए पनि संगीतले उनीमाथि त्यसवेला ब्याड टच गरेका थिएनन् । तर पनि एउटा परपुरुष नजिकै आएर पल्टिँदा आफू स्तब्ध बनेको र तत्काल ओछ्यानबाट उठेर हिँडेको सरिताले बताएकी छन् । महिला सुतिरहेको ओछ्यानमा पुरुष आएर पल्टिनुलाई यौन दुर्व्यवहार मान्ने वा नमान्ने आफ्नो ठाउँमा होला । तर, त्यो स्वाभाविक व्यवहार अवश्य होइन ।

तर, त्यसपछि सरिता संगीतको कोठा छोडेर आफ्नो बाटो भने लागिनन् । न उनले संगीतलाई एक शब्द केही भनिन् । बरु त्यो दिनभरि उनीहरु सँगै हिँडडुल गरे । आफ्नै विरादरीका राजेन्द्र महर्जन र आहुतीलाई त्यसदिन सँगै भेट्न गएको सरिताले फेसबुक लाइभमा बताएकी छन् । दिनभर संगीतसँगै हिँडेर राति फेरि पनि उनकै डेरामा फर्किइन् सरिता ।

पहिलो प्रश्न यहाँ उठ्छ । यदि उनलाई संगीतबाट यौन दुर्व्यवहार भएको महसुस भएको थियो भने उनले तुरुन्तै प्रतिवाद किन गरिनन् ? संगीतको कोठा छोडेर बाटो किन तताइनन् ? अनि दिनभर ‘दुर्व्यवहारकर्ता’ सँगै हिँडडुल गरेर राति पनि उनकै कोठामा सुत्न किन फर्किइन् ? यी प्रश्नको जवाफ सरिताले दिन सकेकी छैनन् । हुन त कतिपय सोही शिविरका ब्राण्डेड फेमिनिस्टहरु त्यसवेला जे भए पनि सर्भाइभर (प्रभावित)ले भनेपछि सकियो भन्छन् ।

सरिताका अनुसार दोस्रो रातमा संगीतले उनलाई दोस्रोपटक दुर्व्यवहार गरे । कुनै बहाना गरेर आफ्नो चुरा खेलाएको, हातमा सुम्सुम्याएको र गालामा म्वाई खाएको उनको दाबी छ । दिदी भन्ने गरेकी प्रौढ महिलाको चुरा खेलाउनु र हात सुम्सुम्याउनु असामान्य क्रियाकलाप नै हुन् । महिलाको अनिच्छापूर्वक गालामा किस गरेको हो भने त्यो ह्यारेसमेन्ट नै हुन्छ । तर, यति गर्दा पनि सरिताले कुनै ठोस प्रतिकार नगरेको उनको बयानबाट झल्किन्छ ।

सरिताका अनुसार संगीतले किस गरेपछि उनले ‘हामी त दिदीभाइ हो नि’ भन्दै संगीतलाई ‘अर्को कोठामा सुत्न जाउँ’ मात्र भनेकी थिइन् । संगीत गए र उनी ढोकामा चुकुल लगाएर सुतिन् । ‘दोस्रोपटक दुर्व्यवहार’ भइसकेपछि पनि उनी संगीतकै कोठामा सुतिन् । जबकि काठमाडौंमा आफ्नो भाइको घर भएको उनले बताएकी छिन् । ट्याक्सी लिएर भाइको घरमा जान सक्थिन् । खैर, रातिउँधि त्यो जाँगर उनलाई लागेन भन्ने पनि मानौं ।

तर, गम्भीर सवाल त्यतिवेला उठ्छ कि दुईपटक ‘दुर्व्यवहार’ खेपिसकेपछि संगीतसँगको सम्बन्धमा उनले कुनै दूरी बनाउन चाहिनन् । उनीहरुको सम्बन्ध पूर्ववत रुपमा निरन्तरमात्र होइन झन् कसिलो हुँदै गयो । सरिताले आफ्नो किताब संगीतबाटै सम्पादन गराइन् । किताबमा र विमोचन कार्यक्रममा संगीतलाई असीमित धन्यवाद दिइन् । उनले पटक–पटक चितवनमा साहित्यिक कार्यक्रम गरेर संगीतलाई वक्ताको रुपमा बोलाएको आफैंले स्वीकारेकी छन् । उनीहरु धेरैवटा संस्थामा जोडिएर काम गरे ।

यतिमात्रै होइन । फोनमा आफूहरुबीच राति–राति लामालामा कुरा हुने गरेको सरिताले स्वीकारेकी छन् । सरिता मायाप्रेमका गीत गाएर संगीतलाई म्यासेन्जरमा पठाउँथिन् । त्यो पनि मध्यरातमा । उनले गाएर पठाएका दुई गीत आफ्नो मोबाइलमा अहिले पनि सुरक्षित रहेको संगीतले बताएका छन् । सरिताले पठाएकामध्ये दुई गीतका बोल छन्– माया गर्नेको चोखो माया पनि देखियो… र यो दाजुको मिर्मिरे आँखा, कस्तो मेरो बिगार्यो दिमाख…।’

यदि सरिताले आफूलाई ‘सर्भाइभर’ र संगीतलाई ‘हिंस्रक’ नै ठानेकी थिइन् भने मायाप्रेमका गीत गुन्गुनाएर रेकर्ड गर्दै ‘हिंस्रक’ लाई पठाउनुको रहस्य चाहिँ के होला ? हुन त यो प्रश्न गर्नेहरुमाथि पनि ब्राण्डेड फेमिनिस्ट र फरक चेतवाला शिविरबाट हमला हुन्छ ।

यदि सरिता उमेरले नाबालिग भएको भए, अशिक्षित वा न्यून चेतनास्तरकी भएको भए आफूमाथि भएको दुर्व्यवहार राम्ररी महसुस गर्न सकिनन् वा प्रतिवाद गर्नुपर्छ भन्ने सोच आएन होला भन्ने मान्न सकिन्थ्यो । तर, त्यस्तो होइन । त्यसवेला उनी ३० वर्ष नाघिसकेकी परिपक्व महिला थिइन् ।

सुशिक्षितमात्र होइन, कानूनको विद्यार्थीसमेत थिइन् । यस्तै घटनामा परेकाहरुलाई कसरी प्रतिवाद गर्ने भनेर काउन्सिलिङसमेत गर्थिन् । तर, आफूमाथि भएको कथित यौनहिंसाको प्रतिवाद गर्न, कानूनी उपचारमा जान उनलाई के कुराले रोक्यो प्रश्न अनुत्तरित छ ।

सरिताले कतिवेला आएर संगीतविरुद्ध आफूलाई उभ्याइन् भन्ने पनि उत्तिकै महत्वपूर्ण छ । उनले त्यतिबेला दुर्व्यवहारको विषयलाई खोस्रिइन् जब अन्य विषयमा संगीतसँग उनको विवाद उत्पन्न भयो । प्रसंग थियो सरिताले कान्तिपुरमा लेखेको एउटा लेख । उक्त लेखमा उनले कार्ल मार्क्सलाई ‘बलात्कारी’ संज्ञा दिएकी थिइन् ।

जनता र देश अनि पार्टीको लागि केही उल्लेख्य काम गर्नका दुःखले झुण्ड जम्मा भएर बुद्धिविलास गर्ने वामपन्थीहरुको वृत्तमा उक्त लेख निकै विवादित बनेको थियो । आहुतीलगायत केही वामपन्थी विद्वानले खण्डन लेख नै लेखेका थिए ।

आफ्नो लेख विवादमा आएपछि सरिताले आफूलाई ‘प्रतिरक्षा’ मा लेख लेख्न आग्रह गरेको संगीतको भनाइ छ । सरिताले पनि घुमाउरो तवरले यसलाई स्वीकारेकी छन् । तर, उनको चाहना संगीतले पूरा गरेनन् । उनी स्वयम् सरिताको लेखमा असहमत थिए । त्यसपछि सरिता र संगीत दुवै संलग्न रहेको मार्क्सवादी मोर्चा नामको संगठनले सरितामाथि कारबाही गर्यो । त्यसमा उनले संगीतलाई दोषारोपण गरिन् । उनले संगीतविरुद्ध फायर खोलेको त्यही वेलादेखि हो । एउटा लेखका कारण संगीतसँग सम्बन्ध बिग्रिएपछि बल्ल उनले यौन दुर्व्यवहारको विषयलाई खोस्रिइन् र विभिन्न मानिसहरुलाई सुनाउन थालिन् । सरिता स्वयंकाे भनाइबाट यो पुष्टि हुन्छ ।

सरिताले यस मामलामा आफूलाई असहयोग गरेको भन्दै विभिन्न व्यक्तिहरुलाई आरोपित गरेकी छन् । जसमा सोही शिविरका खगेन्द्र संग्रौलादेखि मानुषी यमी भट्टराईसम्म छन् । यदि आफ्नो बिरादरीभन्दा बाहिरका पात्रहरु यसमा मुछिएको भए यी व्यक्तिहरुले पक्कै माइतीघर मण्डलामा धर्ना दिन पुग्थे । तर, दुवै पात्र आफ्नै ग्याङका भएपछि उनीहरुले घटनालाई ढाकछोप गर्न र सल्टाउनतिर लागेका थिए । उनीहरुले सरिताको आरोपमाथि संशय प्रकट गर्नु अस्वाभाविक थिएन । तर, यस्तै केसमा अरु व्यक्ति मुछिँदा कसरी आँखा चिम्लेर नारा लगाउने थिए भन्ने सम्भवतः अहिले मनन गरिरहेका होलान् ।

आरोप लागेजस्तो संगीत नैतिक रुपमा पतित नै थिए भने यसको पहिलो अनुभूति उनको श्रीमतीलाई हुनुपर्थ्याे । सरिताभन्दा अघि वा पछि अरु पनि यस्ता घटनाहरु भएका हुनसक्थे । तर, डेढ दशकअघि विवाह गरेकी श्रीमती अहिले पनि आफ्नो श्रीमानलाई गलत देखिरहेकी छैनन् । उनले फेसबुकमा लामो स्टाटस लेख्दै श्रीमानको बचाउ गरेकी छिन् । उनले स्टाटसमा उल्लेख गरेका केही सन्दर्भ मननयोग्य छन् ।

संगीतकी पत्नी बन्दना ढकालका अनुसार सरिता उनीहरुको कोठामा रात बस्ने गरी जाँदा उनी काम विशेषले पोखरामा थिइन् । त्यसवेला सरितासँग बन्दनाको पनि राम्रो मित्रता थियो । बन्दना कोठामा नभएको थाहा पाउँदापाउँदै पनि सरिता उनको कोठामा सुत्ने गरी जान तयार भएकी थिइन् । तर, सरिताले आफ्नी साथी बन्दनालाई ‘तिम्रो कोठामा जाँदैछु’ भनेर फोन गरिनन् । संगीतले नै आफूलाई ‘सरिता कोठामा आउँदैछिन्’ भनेर जानकारी गराएको बन्दनाले बताएकी छन् ।

त्यस घटनापछि सरिता र बन्दनाको पनि पटकपटक भेटघाट र सहकार्य भयो । सरिताको किताब विमोचनमा बन्दनाले नै एंकरिङ गरेकी थिइन् । तर, कुनै पनि दिन सरिताले आफू उनीहरुको कोठामा गएर दुई रात सुतेको कुरा चुहाएकी थिइनन् । यसबाट गलत नियत संगीतको थियो वा सरिताको भन्ने प्रश्न उठ्छ । यदि थिएन भने दुवैको थिएन भनेर पनि अर्थ्याउन सकिन्छ । संगीतको गलत नियत थियो भने श्रीमतीलाई जानकारी नदिन पनि सक्थे भन्ने कोणबाट पनि प्रश्न उठाउन सकिन्छ ।

सरिता तिवारीका साथमा बन्दना ढकाल

बन्दनाले अरु पनि केही तथ्य उजागर गरेकी छन् । जसअनुसार सरिताले संगीतलाई आफूसँग भारत घुम्न जाने प्रस्ताव गरेकी थिइन् । संगीत जान पाएनन् । भारत पुगेर उनले ‘वी आर मिसिङ यू’ भनेर म्यासेज पठाएकी थिइन् । उक्त म्यासेज संगीतको मोबाइलमा अझै रहेको बन्दनाले बताएकी छन् ।

यतिमात्र होइन । महावीर विश्वकर्माले लेखक आहुतीसँग रेडियोका लागि गरेको ‘प्रेम संवाद’ को एक अंश पनि सरिताले संगीतलाई म्यासेन्जरमा पठाएको बन्दनाले बताएकी छन् । ‘विवाह र प्रेम फरक हुन्, विवाह कसैसँग भए पनि अरुसँग प्रेम गर्न सकिन्छ भन्ने आशयको थियो त्यो अडियो क्लिप’ बन्दनाले लेखेकी छन् ।

यसरी ‘माया गर्नेको चोखो माया पनि देखियो…’ बोलको गीत र विवाहेत्तर प्रेमको वकालत गर्ने अडियो क्लीप पठाउनुले संगीतप्रति सरिताको विशेष अनुराग झल्किन्छ । यस्तो अनुराग एकतर्फी थियो वा दुईतर्फी, उनीहरु नै जानून् ।

सरिताको दोगला चरित्र त यसबाट पनि उजागर हुन्छ कि आफूलाई मार्क्सवादी भनेर चिनाउने उनले मार्क्सलाई नै बलात्कारी भनेर लेख लेखिन् । यसले उनी आफ्नो विचार प्रवाहका लागि होइन, ‘एटेन्सन सिकिङ’का लागि लेख्छिन् भन्ने देखिन्छ ।

लाइभमा आएर एउटी महिलाले रोनाधोना गरेपछि सहानुभूति उनीतिर सोहोरिने नै भयो । तर, आँशु सधैं सत्य हुँदैन । सबै प्रश्नको जवाफ आँशु होइन । । र, हरेक घटनामा पुरुष गलत हुँदैनन् । यस घटनामा यदि चारित्रिक प्रश्न उठाउने हो भने त्यो संगीतमाथि मात्र होइन, सरितामाथि पनि उठ्नसक्छ ।

यावत् पृष्ठभूमि र दुवै पक्षका बयानहरु हेर्दा सरिताले ‘प्रतिरोध’का अभियन्ता संगीतमाथि लगाएका आरोप प्रतिरोधका लागि नभएर ‘प्रतिशोध’का निम्ति भएको आशंका उब्जिएको छ । यदि प्रतिशोध नै साँध्ने हिसाबले आधारहीन रुपमा यौन दुर्व्यवहारको आरोप लगाएकी हुन् भने यसबाट एउटा पुरुषको जीवन र उर्बर करिअर तथा उसको परिवारको प्रतिष्ठामा हुनसक्ने क्षतिको कसले पूर्ति गरिदिने ?


प्रतिक्रिया

3 thoughts on “दुर्व्यवहार प्रकरणको अर्को पाटो : सरिता तिवारीको प्रतिरोध कि प्रतिशोध ?

  1. यो यस्तो धार हो जसले आफूहरुबाहेक देशका सबैलाई प्रतिगामी र बर्जुवामात्र होइन, उत्पीडक र स्त्रीद्वैषी पनि देख्छ । उत्पीडित वर्गको लागि आवाज उठाउने, सामाजिक न्यायको वकालत गर्ने ठेकेदारी आफूहरुसँग मात्रै भएको ठान्छ । यो शिविरमा वाम आन्दोलनका बाइप्रडक्टदेखि प्रजातान्त्रिक धाराका कुण्ठा र अराजकताका शिकारीहरु पनि वेलावेला सहकार्य गर्न पुग्छन् ।

    विदेशी परियोजनाको जूठोपुरो खाएर उनीहरुकै एजेन्डाहरुको भारी बोकेका तथा राष्ट्रियता र देशभक्तिको कुरा गर्नेहरुलाई खोक्रो राष्ट्रवादी भन्दै धारेहात लगाउन बानी परेका कथित फरक चेतवाला अतिक्रान्तिकारीहरु यही धारभित्र गोलबन्द छन् । आज यही धारका दुई प्रतिनिधिले एक–अर्कालाई तरवार उज्याउनु एउटा ननिको दृश्य हो ।

  2. Justice and equality is different things .we must know the reality first either it is right or wrong .there is always dominace the me and mine not we and our eventhough we must evaluate the event in sight of equality not by the partiality…but it seems the groupism and ultimately groupism never give the justice its the innovation of the situation more chaotic.

Leave a Reply

Your email address will not be published. Required fields are marked *