रूपन्देहीमा ५ महिलाकाे एकपछि अर्काे रहस्यमय मृत्यु : न्याय कहिले ? – Nepal Press

रूपन्देहीमा ५ महिलाकाे एकपछि अर्काे रहस्यमय मृत्यु : न्याय कहिले ?

रुपन्देही । केही महिनायता रुपन्देहीमा ३० वर्ष नकाटेका युवतीहरुको रहस्मय मृत्यु प्रकरणले यहाँको प्रहरी र अधिकारकर्मीलाई सताएको छ । भरखर लाउँलाउँ खाउँखाउँ उमेरका युवतीहरुको रहस्मय मृत्युले समाजमा महिला हिंसाको अर्को त्रास थपेको छ ।

यसरी मृत्यु भएका युवतीहरु धेरै वैवाहिक जीवनमा जोडिएका नै भएकाले पनि यसको कारण पहिलाउनुपर्ने अधिकारकर्मीले जोडदार माग गरिरहेका छन् । असार २६ गते आइतबार रुपन्देहीको तिलोत्तमामा एक युवती मृत अवस्थामा फेला परेकी छन् ।

२ महिना अगाडि विवाह गरेकी तिलोत्तमा–३ शंकरनगर बस्दै आएकी अन्दाजी २२ वर्षीया अस्मिता पटहरा शर्मा आइतबार तिनाउ नदीमा मृत अवस्थामा फेला परेकी हुन् । शनिबार दिउँसो करिब १२ बजेदेखि हराएकी भनिएकी अस्मिता तिनाउ नदीको बीच भागमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर २ माइत भएकी अस्मिताले गत वैशाख २६ गते विवाह गरेकी थिइन् । गुल्मीको दरबार गाउँपालिका–४ घर भई हाल तिलोत्तमा–३ शंकरनगरमा सासुसँग घर भाडामा बस्दै आएका थिए ।

उनका श्रीमान अनिल चुँदाली शर्मा रोजगारका लागि भारतमा रहेका छन् । अस्मिताको परिवारले शनिबार दिउँसो करिब ३ बजेको समयमा छोरी हराएको खबर आफूहरुलाई सुनाएको अस्मिताका बुवा नागेन्द्र पटहराले बताए । हराएको खबर पाएलगत्तै खोजीकार्यमा लागेका उनीहरुलाई अस्मिताको घरबाट नै आइतबार फोन गरि छोरी मृत भेटिएको जानकारी गराएका थिए ।

खबर पाएसँगै घटना स्थल तिलोत्तमा–६ पश्चिम पहुनी स्थित तिनाउ नदीमा पुग्दा छोरीको शवलाई उठाएर पोस्टमार्टमका लागि अस्पताल लगिएको पाइएपछि घटना शंकास्पद भएको माइती पक्षको आरोप छ ।

शनिबार बुटवलको गोलपार्कस्थित पाल्पाली होटलमा २१ वर्षकी युवती मृत अवस्थामा फेला परिन् । बुटवल–३ पाखापानीकी २१ वर्षीया समिक्षा गुरुङ शुक्रबार राति ती युवती र एक युवासँग त्यो होटलमा पुगेकी थिइन् तर उनी गएको केही समयपछि होटलका र्मचारीले झुण्डिएको अवस्थामा फेला पारे । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले होटलमा सँगै बस्न गएका ती युवाका बारेमा पत्ता नलागेको बताए ।

‘ती युवती र युवा राति साढे १० बजे सो होटलमा गएको खुलेको छ । युवकले बिल तिरेर गएको र पछि चेक आउट हेर्न जाँदा युवती झुन्डिएको भन्दै १२ बजे होटल संचालकले फोनबाट जानकारी गराएका हुन्’उनले भने ।

गत चैत ३१ गते रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं २ की २९ वर्षीय अमृता खत्री टण्डनको रहस्मय मृत्यु भएको ७३ दिनपछि अन्त्येटि गरियो । ७ वर्षीय छोराकी आमा रहेकी टण्डनको माइतीबाट घरमा पुगेको आधा घन्टा पनि नसकिदै भएको मृत्युले उनका माइती मात्रै होइन धेरै अधिकारकर्मीलाई विश्वास लागेन र लामोसमय आन्दोलन गरे ।

तर अन्तिममा त्यो आन्दोलन यसै सेलायो र सामान्य माग पूरा गर्ने शर्तमा उनको अन्त्येष्टि भयो । पोष्टमार्टम रिपोर्टले उनले आत्महत्या गरेको देखाएपनि माइती पक्ष त्यसलाई अझै स्वीकार गर्न तयार भएनन् । उनको मृत्युको कारण खोज्न अधिकारकर्मीहरुले धेरै मेहनत गरे ।

जेठ ३१ गते तिलोत्तमा नगरपालिका–६ मा २५ वर्षीय सुविना गिरी मृत अवस्थामा फेला परिन् । सुविनाको तिलोत्तमा–६ स्थित पश्चिमपहुनीमा रहेको मिलन फेमिली रेष्टुरेण्टको कोठामा जेठ ३१ गते राती १ बजे झुण्डिएको अवस्थामा फेला परेको थियो ।

झुण्डिएको अवस्थामा फेला परेकी सुविनालाई उनका श्रीमान् सञ्जयले क्रिमसन अस्पताल पुर्याएका थिए । अस्पताल पुर्याएपछि मात्रै सञ्जयले सुविनाका आफन्तलाई खबर गरेका थिए । झुण्डिएको अवस्थामा फेला परेकी सुविनाले आत्महत्या नगरी हत्या गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

सुविनाका परिवारले सुविनाले आत्महत्या गरेको बताउँदै आए पनि पोष्टमार्टम रिर्पोटले भने उनको घाँटी थिचेर हत्या गरिएको देखाएको छ । सुविनाको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ समेत गरेको छ ।

सुविनाका बाबु नवलपरासीको कावासोती नगरपालिका -१६ बस्ने नरु गिरीले ३८ वर्षीय सञ्जय (सुविनाका श्रीमान्) र कञ्चन गाउँपालिका घर भइ मामाघर बस्दै आएका भान्जा २१ वर्षीय कुशल गिरीविरुद्ध इलाका प्रहरी कार्यालय बुटवलमा किटानी जाहेरी दिएपछि प्रहरीले उनीहरुलाई बिहीबार पक्राउ गरेको हो ।

पोष्टमाटम रिपोर्टमा घाँटी थिचेर झुण्डिएको खुलेपछि सुविनाका अभिभावकले किटानी जाहेरी दिएको बताएका छन् । सोही जाहेरीका आधारमा सञ्जय र कुशललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।सुविनाको हत्या महिला हिंसाको चरम रुपको रुपमा देखापरेको महिला अधिकारकर्मी ज्ञानु पौड्याल बताउँछिन् ।

होटलमासँगै बसेका बेला कोही पनि आत्महत्या गर्न खोजे त्यसलाई रोक्न सकिन्छ, सुरुवाती बयानमा आत्महत्या गरेकाले अस्पताल पुर्याएको बताए पनि पोष्टमार्टम रिर्पोटले घाँटी थिचेर हत्या गरेको प्रमाणित गरेको छ, अधिकारकर्मी पौड्यालले भनिन, सुविनाको न्यायका लागि घटनामा संलग्नलाई कडा कारवाही हुनुपर्छ ।’

अमृता र सुविनाको घटनाको विषय त एउटा उदाहरण मात्र हो । अमृताको मृत्यु पनि परिवारको चरम हिंसाको रुप भएको अधिकारकर्मी पौड्यालले बताइन् । टण्डनको मृत्यु परिवारले दिएको चरम हिंसाका कारण घटेको वा परिवारकै सदस्यले घटाइएको घटना हुनसक्ने उनको भनाइ छ ।

रुपन्देहीमा पछिल्लो समय महिला हिंसाका घटनामा वृद्धि भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दिएको तथ्यांकअनुसार जबरजस्ती करणी, जबरजस्ती करण उद्योग, बहुविवाह र घरेलु हिंसाका घटनामा वृद्धि भएको छ । आर्थिक वर्षको जेठ मसान्तसम्ममा रुपन्देहीमा जबरजस्ती करणीका ५५ वटा मुद्दा प्रहरी कार्यालयमा दर्ता भएका छन् । २०७६/०७७ मा ६३ वटा घटना दर्ता भएकोमा २०७७/०७८ मा ८० वटा घटना दर्ता भएको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै जबरजस्ती जबरजस्ती करणी उद्योगका घटनामा पनि वृद्धि भएको छ । २०७६/०७७ मा १७ वटा घटना दर्ता भएकोमा २०७७/०७८ मा बढेर २३ वटा पुगेको देखिन्छ । यता आर्थिक वर्षको जेठ मसान्तसम्म नै २२ वटा जबरजस्ती करण उद्योगका घटना दर्ता भएका छन् ।

बहुविवाह र घरेलु हिंसाका घटनामा पनि वृद्धि भएको देखिन्छ । २०७६/०७७ मा बहुविवाहसम्बन्धी २२ वटा घटना रहेकोमा २०७७/०७८ मा केही घटेर १३ मा भए पनि २०७८/०७९ को जेठ मसान्तसम्ममै १५ वटा घटना प्रहरीमा दर्ता भएका छन् । घरेलु हिंसाका घटनामा भने निकै वृद्धि भएको देखिन्छ । २०७६/२०७७ मा ३७८ वटा घरेलु हिंसाका घटना रहेकोमा २०७७÷०७८ मा बढेर ४८३ वटामा पुगेको थियो । आर्थिक वर्षको जेठसम्ममा ४४३ वटा घटना प्रहरीमा दर्ता भएको देखिन्छ ।

इन्सेक रुपन्देही प्रतिनिधि रिमा विसी परिवारमा बेमेल, यौनहिंसा र सम्पत्तिको लोभ, कानुन बनेपनि कार्यान्वयनमा भएको कमजोरी र आर्थिक विपन्नता नै कम उमेरका महिला मारिनुका मुख्य कारण भएको बताउँछिन् ।

‘धेरै ठाउँमा न हत्या नै गरिएका छने, आफै आत्महत्या भएका स्थानमा पनि महिलाले हिंसा सहन नसकेर, माइती र घर पक्षको इज्जत जोगाइदिनुपर्ने संस्कार छोड्न नसकेर, माइती र समाजलाई पीडा भन्न नसकेर, वैदेशिक रोजगारीका कारण पारिवारिक तनाबमा परेर धेरै युवतीले ज्यान गुमाएका छन्’ उनले भनिन् ।

एड्भोकेसी फोरम लुम्बिनी अध्यक्ष तथा अधिवक्ता इन्दिरा आचार्यले रुपन्देहीमा पछिल्लो समय बढ्दै गएका महिलाको रहस्यमय मृत्युका डरलाग्दो विषयहरु बाहिरिएको बताइन् । ‘महिला हिंसाका धेरै डरलाग्दा विषयहरु सामाजिक संरचनाका कारण बाहिर आउन सकेका छैनन्, परिवार र समाजको डरका कारण धेरै लुकेका छन्, यी घटनाको गम्भीर अनुसन्धान हुन जरुरी छ’उनले भनिन् ।

मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय अध्यक्ष गोविन्द खनालले केही समययता श्रृङ्खालवद्ध रुपमा भएका यस्ता डरलाग्दा घटनाले सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण गराएको बताएका छन् । ‘वैज्ञानिक तबरमा यी घटनाको विश्वसनीय अनुसन्धान गरौं, दण्डहीनताको अन्त्य गरौं, सबै मिलेर हिंसाको मूलभूत कारण र समाधान खोजौं, यसमा शान्ति समाजले सहकार्य गर्न तयार छ’ खनालले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर