एमालेको रिपोर्ट- कांग्रेस १३५ पालिकामा मात्र एक्लै लड्यो, माओवादी र एस मतियार मात्र (अपानीसहित)
काठमाडौं । ७५३ वटै स्थानीय तहको निर्वाचन परिणाम आइसकेपछि नेकपा एमालेले गठबन्धनको सहारामा कांग्रेसले प्रमुख पदमा केही बढी जिते पनि एमालेको जनमत बढेको निष्कर्ष निकालेको छ ।
पछिल्लो बैठकका निर्णय र चुनावी समीक्षाको बारेमा जारी गरिएको अन्तर पार्टी निर्देशन (अपानी) मा कांग्रेसले आफू बलियो भएका १३५ पालिकामा मात्र एक्लै चुनाव लडेको र बाँकी ठाउँमा कतै दुई दल र कतै महागठबन्धन बनाएर एमालेसँग प्रतिस्पर्धा गरेको उल्लेख छ ।
एमालेले देशभरको चुनावी रिपोर्टका आधारमा ३०७ पालिकामा कांग्रेसले आफूलाई सहज हुने एक वा एकभन्दा बढी दलसँग आंशिक गठबन्धन बनाएको र एमाले बलियो भएका ३११ पालिकामा सबै दलको पूर्ण या महागठबन्धन गरेको जनाएको छ ।
एमालेको अपानीमा भनिएको छ, ‘कुल विजयी सिटमध्ये २० प्रतिशतमात्र एक्लै प्रतिस्पर्धाबाट जीत हासिल गरेको कांग्रेसले गठबन्धनबाट अधिकतम लाभ लिन सफल भयो । गठबन्धनका अरु दलहरूलाई कुनै पनि हालतमा एमालेसँग तालमेल हुन नदिने नीति लिएको कांग्रेसले कतिपय ठाउँमा एमालेसँग पनि तालमेल गर्न अग्रसर भयो । सारमा, कांग्रेस जसरी पनि आफूले जित्ने कुरामा केन्द्रित भयो ।’
एमालेले महागठबन्धनविरुद्धको लडाइँमा एमालेले प्राप्त गरेको मत विगतको भन्दा बढेको भन्दै माओवादी केन्द्र र माधव नेपाल समूहको उद्देश्य भने एमालेलाई हराउनेमा केन्द्रित भएको निष्कर्ष निकालेको छ । माओवादीले गठबन्धनबाट सिट संख्या १५ वटा बढाए पनि लोकप्रिय मतमा ५ प्रतशितले कमी आएको एमालेको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै करिब २० प्रतिशत सांसद र १० प्रतिशत स्थानीय जनप्रतिनिधि लिएर एमालेबाट बाहिरिएको नेकपा एसले ४ प्रतिशत हाराहारीको लोकप्रिय मतमात्र पाएको र सिट संख्या नगण्य रहे पनि एमालेलाई पराजित गर्नुमै आफ्नो सफलता देखेको अपानीमा उल्लेख छ ।
हेर्नुस्- अपानीको पूर्णपाठ