महावीर पुन गण्डकी रत्नबाट विभूषित, अनुसन्धान केन्द्रलाई १० करोड छुट्याइयो
पोखरा । गण्डकी प्रदेश सरकारले महावीर पुनलाई गण्डकी रत्नबाट विभूषित गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार पोखरामा आयोजित एक कार्यक्रमबीच पुनलाई सम्मान गरे ।
प्रदेश प्रमुख गुरुङले ग्रामीण भेगमा जन्मिएर पनि अनुसन्धानको महावीर पुनले पुर्याएको योगदानको प्रशंसा गरे ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अनुसन्धानबाट मुलुकलाई समृद्ध बनाउन चालेको कदमको सम्मान गर्दै पुनलाई गण्डकी रत्न प्रदान गरिएको बताए । उनले राष्ट्रिय अनुसन्धान केन्द्रको सहकार्यमा अनुसन्धानका लागि आगामी वर्षमा गण्डकी सरकारले १० करोड विनियोजन गरेको जानकारीसमेत गराए ।
उनले भने, ‘हामीले महसुस गरेका छौं, समृद्धिका लागि अनुसन्धानको महत्व कति छ भन्ने छिटै कार्यविधि बनाएर कार्यक्रम सञ्चालन गरिने छ ।’
कार्यक्रममा सभामुख नेत्रनाथ अधिकारीले महावीर पुनको सम्मानले गण्डकी प्रदेशको शिर अझै उँचो भएको बताए । उक्त अवसरमा आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माले गण्डकी प्रदेशभित्र जन्मिएर यहाँकै श्रीवृद्धिको लागि योगदान गरेकाबाट नाम छनोट गरिएको बताए । छनोट समितिले ३ जनालाई छान्नसक्ने कार्यविधि भए पनि पहिलोपटक भएकाले एक जनालाई मात्र छनोट गरिएको जानकारी उनले दिए ।
विभूषण ग्रहणपछि पुनले अध्ययन अनुसन्धानका लागि पर्याप्त बजेट लगानी गरेका मुलुक समृद्ध भएको उदाहरण पेस गरे । उनले भने, ‘अनुसन्धानमा बलियो नभएकाले हाम्रो देश हेपिएको हो, युवाहरु रोजगारी खोज्दै विदेश धाउँदा यहाँको अर्थतन्त्र अस्तव्यस्त भएको छ, अनुसन्धान र विकासका लागि अब ढिला गर्न हुँदैन ।’
अनुसन्धान आफैँमा कठिन काम भएको भन्दै उनले एक सय वटा अनुसन्धानमध्ये १०/१५ वटा मात्र सफल हुने भएकाले सतप्रतिशत नतिजा आउन नसक्ने उनको भनाइ थियो ।