संघीयताबारे ओलीको प्रष्टीकरण : संविधान बनाउँदा राम्ररी विचार पुर्‍याउन सकिएन, अब सफल बनाउनुपर्छ – Nepal Press

संघीयताबारे ओलीको प्रष्टीकरण : संविधान बनाउँदा राम्ररी विचार पुर्‍याउन सकिएन, अब सफल बनाउनुपर्छ

काठमाडौं । केपी ओलीले कतिपयले संघीयता विरोधी भनेर प्रचार गर्दै आएका छन् । बेलाबखत उनले संघीयताको विषयमा आलोचनात्मक टिप्पणी पनि नगरेका होइन्न । यद्यपि, उनको पार्टी एमालेले अहिलेसम्म संघीयताकै पक्षमा आफूलाई उभ्याइरहेको छ ।

आज आयोजित सम्पादकहरूसँगको अन्तरक्रियामा एक सम्पादकले ओलीलाई संघीयताको विषयमा उनको दृष्टिकोण सोधे । जवाफमा ओलीले संघीयताबारे घुमाउरो असन्तुष्टि जनाए पनि कार्यान्वयनमा आइसकेकाले यसलाई सफल पार्नुपर्ने मत राखे ।

ओलीले भने, ‘संविधान हामीले मुस्किलले ल्याएका थियौँ । त्यो अवस्थामा जति विचार गर्नुपर्थ्यो गर्न सकिएन । त्यस बेला साम्प्रदायिक विषयहरू उछालेर देशलाई रुवान्डा बनाउन खोजिएको थियो । १५ वटा २५ वटा राज्य बनाउनेदेखि लिएर त्योभन्दा बढी पृथकताकै कुरा गरे । देशलाई एकताबद्ध राखेर विष र विषाक्त कुरालाई समन गरेर लोकतान्त्रिक संविधान जारी गर्नुपर्ने अहम् जिम्मेवारी थियो । हामीले त्यो जिम्मेवारी बहन गर्दा धेरै कुरामा विचार पुर्‍याउने परिस्थिति रहेन ।’

उनले एउटा चिज आइसकेपछि यसलाई अनवरत घोचेको घोच्यै र आलोचना गरेको ग¥यै गर्नु नहुने बताए ।

‘एक तहसम्म कार्यान्वयनमा आइसकेपछि यसका कमीकमजोरी हटाउने र सफल बनाउने कोसिस गर्नुपर्छ । यो सफल नहुने नै चिज हो भने हामीले चाहेर पनि सफल हुन्न । सफल बनाउन चाहने कि असफल ? बनाइसक्न पाएको छैन असफल भयो भनेर लाग्न थाल्यौँ भने कसरी सफल हुन्छ ? सफल बनाउनका निम्ति हामीले कोसिस गर्नुपर्छ । व्यवहारको क्रममा सफल हुन सकेन भने फेरि राष्ट्रिय सहमति बन्छ’ ओलीले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर