जापानी पूर्वप्रधानमन्त्री आबेको हत्यामा देखिएको ‘होली वाइन’ कनेक्सन !
इटहरी । गत शुक्रबार पश्चिम जापानको नारा क्षेत्रमा चुनावी अभियानमा रहेका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या भयो । जापानको सत्तामा सबैभन्दा धेरै पुगेको लिबरल डेमोक्रेटिक पार्टीको चुनावी अभियानमा रहेका जापानका सबैभन्दा लामो समय प्रधानमन्त्री भएका आबेको हत्या गोली हानेर भयो । विश्वको बन्दुक नियन्त्रणको कडा बन्देज भएको देशमा आबेको हत्या घरेलु बन्दुकबाटै भएपछि विश्वभर चासो र चिन्ता बढेको छ ।
आबेको हत्यामा जापानबाहेकका विश्वका धैरै देशले शोक मनाए । जसमा नेपाल र भारतसमेत छन् । आबेको हत्या भएको हप्तादिन पुग्न लाग्दा हत्याको कारण खोजिने क्रम जारी छ । यसै मेसोमा आबेको हत्यामा धार्मिक सम्बन्ध जोडिएको पाइएको छ । यसबारेमा जापानका राष्ट्रियदेखि अन्तरास्ट्रिय मिडियाहरुसम्ममा समाचारहरु आइसकेका छन् ।
आबे हत्यामा देखिन्छ ‘होली वाइन’को यस्तो कनेक्सन !
आबेका हत्यारा हुन् जापानका ४१ वर्षे बेरोजगार व्यक्ति तेत्सुया यामागामी । यामागामी कुनै समय जापानको नेभीसँग जोडिएका थिए । आबेको हत्या गर्नुको मुख्य कारण उनकी आमालाई आर्थिक रुपमा लुट्ने धार्मिक संस्थालाई आबेको समर्थन र सहयोग हुनुमा उनको आपत्ति देखिएको छ । जापानका अपराध अनुसन्धानकर्ताहरुको प्रारम्भिक नतिजाअनुसार यस्तो तथ्य बाहिर आएको हो ।
यामागामीले आक्रोश पोखेको धार्मिक संस्था युनिफिकेसन चर्च हो । कोरियाली मूलका पादरीले सन १९५४ मा खोलेको युनिफिकेसन चर्चमा जापानमा मात्रै ६ लाख बढी अनुयायीहरु रहेको बेलायती समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । जापानमा चर्चको हाँगा सन १९५९ मा खुलेको हो । युनिफिकेसन चर्चमा जापानका ६ लाख अनुयायी छन् । जसमध्ये एक थिइन् आबेका हत्यारा यामागामीकी वृद्ध आमा । आफ्नी आमालाई युनिफिकेसन चर्चले कंगाल बनाउनेगरी लुटेको उनको आरोप छ । अमेरिकी समाचार संस्था एपीको समाचारअनुसार सन् २००२ बाट यामागामीकी आमा आर्थिक रुपमा कंगाल भएकी थिइन् । कंगाल हुनुमा चर्चलाई दिइएको चन्दा मुख्य कारण हो ।
यामागामीकी आमा युनिफिकेसन चर्चमा जोडिएको कुरा युनिफिकेसन चर्चका जापान प्रमुख स्वयंले स्वीकार गरेका छन् । सोमबार युनिफिकेसन चर्च जापानका प्रमुख तोमिहिरो तानाकाले यामागामीकी आमाले युनिफिकेसन चर्चमा सन् १९९८ मा आवद्धता जनाएको जापान टाइम्सले उल्लेख गरेको छ । तर, उनले यामागामीको आमालाई आर्थिक शोषण नगरिएको दाबी गरेका छन् । उनको चर्चलाई आबेले समर्थन भने गरेको तानाकाले उल्लेख गरेका छन् । जुन कुरा अहिले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले प्रमुखताका साथ सम्प्रेषण गरेका छन् ।
अमेरिकी अखबार वाल स्ट्रिट जर्नलका अनुसार सन् २०२१ को सेप्टेम्बरमा युनिफिकेसन चर्चको एक कार्यक्रममा आबेले सम्बोधन गरेका थिए । चर्च प्रमुख तानाकाले चर्चमा चन्दा दिइने बताए पनि त्यो स्वेच्छिक हुने भएको दाबी गरेका छन् ।
हत्यारा यामामागीले आबेलाई मार्ने कारण मानिएको युनिफिकेसन चर्चलाई नेपालमा भने होली वाइन भनेर चिनिन्छ । २०७५ साल मंसिर १४ देखि १६ सम्म भएको युनिफिकेसन चर्चको काठमाडौंमा भएको सम्मेलनमा चर्चको विधिविधानअनुसार पवित्र जल भनिने होली वाइन खुवाइन्छ । नेपालमा पनि त्यही भएको थियो । एकनाथ ढकालदेखि माधव नेपाल यस्ता कार्यक्रममा मुख्य हर्ताकर्ता छन् ।
२०७५ मंसिरमा भएको कार्यक्रममा भने नेपालकै लबिङमा तत्कालिन नेकपाको ओली सरकारले सहयोग गरेको थियो । तर, कार्यक्रम ज्यादै विवादित भएको थियो । ४५ देशका १५ हजार हाराहारी प्रतिनिधिहरु आएको कार्यक्रम भने अन्तर्राष्ट्रियस्तरको थियो । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सूचि समेत कार्यक्रममा आएकी थिइन् ।
आफूलाई जिजस क्राइस्टका असरी अवतार दाबी गर्ने स्वर्गीय सन म्युङ मुनले खोलेको युनिफिकेसन चर्चका विभिन्न हाँगाहरु छन् । जसमा एक हो, युनिभर्सल पिस फेडरेसन । छोटकरीमा युपीएफ भनिने यो संस्थाले विभिन्न ‘शान्तिदूत’ पदक बाँड्ने गर्छ । शान्तिदूतको कार्डमा धेरै यो संस्थासँग आकर्षित हुन्छन् । विभिन्न देशहरुको भ्रमणको चाँजोपाँजो मिल्ने भएकाले आफ्नै पैसामा विदेश जान धेरै लालायित देखिन्छन् ।
नेपालमा पनि शान्तिदूतको कार्ड धेरै बिकेको छ । विभिन्न देशहरुमा पुगेर शान्तिदूत भएको प्रमाणपत्र पाउँदा मख्ख पर्नेहरु नेपालमा धेरै छन् । एकनाथ ढकालदेखि माधव नेपालसम्मको सक्रियता र साथ भएको संस्थाको तर्फबाट माधव नेपाल स्वयंले उत्तर कोरियादेखि धेरै देश भ्रमणमा जान पाएका छन् । सामूहिक विवाह कार्यक्रम युनिफिकेसन चर्चको अर्काे चिनिएको कार्यक्रम हो । नेपालमा पनि यस्ता कार्यक्रमहरु हुने गरेका छन् ।
तर, नेपालमा भने वैवाहिक प्रतिबद्धता कार्यक्रमको नाममा विवाह गरिसकेका जोडीहरुलाई सरिक गराइने गरेको देखिन्छ । जसमा समाजमा प्रभाव पार्ने खालका व्यक्तिहरुलाई समावेश गरिन्छ । अन्य देशहरुमा भने यस्तै तरिकाले विवाह नै गराइने गरिएको छ । इसाई दुनियाँमै भने युनिफिकेसन चर्च विवादास्पद चर्च हो । यसलाई पुरातनपन्थी विचार भएको चर्चको रुपमा हेरिने धेरै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गर्ने गरेका छन् ।
आर्थिक दानको विषयमा जापानमा मात्रै हैन थुप्रै देशमा यो चर्चमा विवाद देखिने गरेको छ । अमेरिकी समाचार संस्था एपीका अनुसार चर्चमा दान विवादका स्क्यान्डलहरु धेरै हुँदै आएका छन् र सन् २००९ बाट त्यसको सम्बोधन गर्ने संरचनासमेत बनाइएको छ । तर पनि विवादहरु बन्द भएका छैनन् ।