बजेट पारित गराउन प्रतिपक्षीलाई फकाउँदै सुदूरपश्चिम सरकार, मुख्यमन्त्रीसहित पाँच मन्त्री वार्तामा – Nepal Press

बजेट पारित गराउन प्रतिपक्षीलाई फकाउँदै सुदूरपश्चिम सरकार, मुख्यमन्त्रीसहित पाँच मन्त्री वार्तामा

कैलाली । सुदूरपश्चिम सरकारले ल्याएको बजेट पारित गर्न अहिले सरकारले प्रतिपक्षी दललाई मनाउने प्रयास गरिरहेको छ । मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा अहिले प्रतिपक्षी दलसँग सरकारका मुख्यमन्त्री सहित पाँच मन्त्री वार्तामा छन् ।

सरकारको तर्फबाट मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रणबहादुर रावल, भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश रावल र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मना बहादुर धामी वार्तामा छन् ।

यता प्रतिपक्षी दलको तर्फबाट एमाले दलका नेता प्रकाश शाह,प्रमुख सचेतक लिलाधर भट्ट र कार्य व्यवस्था परामर्श समितिका सदस्य वदलेव रेग्मी छन् । लोसपाका कृष्ण चौधरी पनि वार्तामा छन् ।

जसपाका सांसद मलामती रानाले हिजै साझा असहमतिमा सहमति जनाइसकेकी छन् । आज उनी प्रदेश बाहिर रहेको हुँदा उपस्थित हुन नसकेको बताइएको छ ।

सुदूरपश्चिममा प्रदेशमा नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र र नेपाली कांग्रेस सरकारमा छन् भने एमाले, जसपा र लोसपा प्रतिपक्षीमा छन् । आज ११ बजे प्रदेश सभाको बैठक बोलाइएको छ। सत्ता पक्ष र विपक्षीसँग सहमति गरेर आजैबाट बजेट माथि छलफल सुरु गर्ने सरकारको तयारी छ । असार १ गते ल्याएको बजेटमा तीव्र विवाद कारण २९ दिन सम्म प्रदेश सभामा छलफल हुन पाएको छैन ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर