सुदूरपश्चिम सरकार र प्रतिपक्षको वार्ता निष्कर्षविहीन, १४ बुँदे सुझावमा पुन: छलफल हुने – Nepal Press

सुदूरपश्चिम सरकार र प्रतिपक्षको वार्ता निष्कर्षविहीन, १४ बुँदे सुझावमा पुन: छलफल हुने

कैलाली । बजेट पारित गर्ने विषयमा सरकार र प्रतिपक्षबीच भएको वार्ता निष्कर्षविहीन भएको छ । करिब ३ घण्टाको वार्ता सकारात्मक रहेपनि कुनै सहमतिमा नपुगेको नेताहरूले बताएका छन् ।

प्रतिपक्षी दलले सरकारलाई १४ बुँदे सुझाव पत्र बुझाएको छ । त्यसमा सहमति भए आजै संसद् सुरु हुन सक्ने बताइएको छ । १४ बुँदे सहमतिका बिषयमा केही बेरपछि पुन: बस्ने गरी बैठक सम्पन्न भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

सरकार मागको विषयमा केही सकारात्मक देखिएको भन्दै माग सम्बोधन भए संसदलाई अनिर्णयको बन्दी बनाउन आफूहरूले नचाहेको ती नेताले बताए ।

असार १ गते प्रदेश सरकारले ल्याएको बजेटमाथि सदनमा अहिलेसम्म छलफल भएको छैन । प्रतिपक्षीमा रहेका एमाले, जसपा र लोसपा बजेट संशोधन नहुँदासम्म छलफल नहुने अडानमा छन् । आज ८ बजे मुख्यमन्त्री त्रिलोचन भट्टले प्रतिपक्षी दललाई संवादका लागि बोलाएका थिए ।

वार्तामा सरकारको तर्फबाट मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रणबहादुर रावल, भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश रावल र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मनाबहादुर धामी थिए । प्रतिपक्षी दलको तर्फबाट एमाले दलका नेता प्रकाश शाह, प्रमुख सचेतक लीलाधर भट्ट र कार्य व्यवस्था परामर्श समितिका सदस्य बलदेव , लोसपाका कृष्ण चौधरी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर