सुदूरपश्चिम प्रदेश : सरकारले वितरणमुखी बजेट ल्याएको एमाले सांसदको आरोप
कैलाली । नेकपा एमालेका प्रदेश सभा सदस्य पठानसिंह बोहराले सरकारले वितरणमुखी बजेट ल्याएको बताएका छन् । बजेटमाथि धारणा राख्ने क्रममा उनले वित्तीय अनुशासनभन्दा बाहिर गएर बजेट ल्याइएको टिप्पणी गरे ।
‘सरकारले गलत चिन्तन राखेर अगाडि बढेको बजेटबाट पुष्टि हुन्छ’ उनले भने, ‘अघिल्ला वर्षहरू भन्दा यो अझै परिष्कृत भएर आउनुपर्ने हो । तर, त्यो भन्दा पनि खराब बजेट आएको छ । माननीयज्यूले सिफारिस गरेका योजना, कर्मागत, बहूबर्षिय योजनाहरू काटिएका छन् । ती योजनामा न्यून बजेट छ । वितरणमुखी बनाएर दामासाही बाँडिएको छ ।’
विद्यालय स्वास्थ्यमा भन्दा मन्दिरमा करोडौँ बजेट दिएको भन्दै उनले विरोध गरे ।
बजेट किताब आउनुअघि नै सामाजिक सञ्जालहरूमा योजना सार्वजनिक भइरहेकोमा उनले आपत्ति जनाए ।
‘यो सदनमा प्रतिपक्षी पनि छ । प्रतिपक्षी एकजुट पनि छ भन्ने देखाएका छौँ ’ उनले भने, ‘बजेटमा सुधार नआएसम्म संसदमा प्रवेश नगर्ने भनेका थियौँ ।’
बोहराले सरकारबाट संसदको अपहेलना भएको भन्दै खेद जनाए । बजेट पारित गर्ने अन्य खेल भइरहेको दाबी गर्दै उनले प्रतिपक्षमा रहेका एक सांसदलाई फकाउँदै गरेको पनि खुलासा गरे ।
बोहराले सरकार र प्रतिपक्षी दलबीच भएको १४ बुँदे माग कार्यान्वयन हुनु पर्नेमा पनि जोड दिएका थिए । उनले अर्थमन्त्रीले प्रदेशसभामा त्यो विषयमा प्रतिबद्धता गर्न समेत जनाए ।
‘भएको सहमति कार्यान्वयन हुनु पर्छ । यथास्थितिमा बजेट समर्थन गर्न लायक होइन ’ उनले भने, अर्थमन्त्रीबाट प्रतिबद्धता आउनुपर्छ ।’