कस्तुरीको बिना राखेर निर्दोषलाई फसाउन खोजेको प्रहरीमाथि आरोप, छानबिन समिति गठन
काठमाडौं । कस्तुरीको बिनासहित भेटिएको भन्दै काठमाडौं प्रहरीले एक निर्दोष व्यक्तिलाई फसाउन खोजेको आरोपपछि उपत्यका प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ ।
एसपी दिलिप घिमिरेको संयोजकत्वमा समिति गठन भएको हो । छानबिन समितीमा डीएसपी कृष्ण चन्द र इन्सपेक्टर गणेशचन्द्र कोइराला रहेका छन् ।
प्रहरीले कपनमा बस्दै आएका पाँचथर तुमविया गाउँपालिका-५ का ४५ वर्षीय शिव लिम्बूको साथबाट कस्तुरीको बिना भेटिएको भन्दै केही दिनअघि सार्वजनिक गरेको थियो । लिम्बूलाई असार २४ गते गौशाला प्रहरी वृत्तको टोलीले चाबहिलबाट पक्राउ गरेको थियो ।
तर, सीसीटीभी फुटेजमा अरु व्यक्तिले लिम्बूको मोटरसाइकलमा कस्तुरीको बिना राखेपछि प्रहरीले उनलाई पक्राउ गरेको आफन्तको दाबी छ । लिम्बू रेस्टुरेन्टमा छिरेका बेला बाहिर रोकिराखेको मोटरसाइकलमा उक्त सामग्री राखिएको सीसीटीभीमा देखिएको भन्दै आफन्तले छानबिनको माग गरेका थिए ।