एम अधिकारी प्रकरण- ६ वर्षअघि एमाले र महाप्रसादको त्यो सवाल-जवाफ (पत्रसहित)
काठमाडौं । नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यको सूचीमा रहेका एम अधिकारी (खोटाङ) राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी हुन् कि होइनन् भन्ने बहसले राष्ट्रिय चर्चा पाइरहेको छ ।
गभर्नर अधिकारीले आफू कुनै पनि राजनीतिक दलमा आबद्ध नरहेको बताएका छन् भने एमालेले पनि एम अधिकारी महाप्रसाद नभएको दाबी गरेको छ । यसैबीच २०७३ सालमा पनि सुरेन्द्र पाण्डे नेतृत्वको अर्थ तथा योजना विभागमा महाप्रसाद अधिकारीको नाम भएको पत्र सार्वजनिक भएपछि गनर्भर अधिकारी विवादमा छन् ।
महाप्रसाद अधिकारी अहिले गभर्नर भएको र सरकारले उनलाई नरुचाएका कारण यो विषय चर्चामा आए पनि उनले आफू एमालेको सदस्य नरहेको सन्दर्भमा ६ वर्षअघि नै सो पार्टीलाई पत्र लेखेरै आफूसँग मिल्ने नामको बारेमा ध्यानाकर्षण गराएको पाइएको छ ।
अधिकारीले २०७३ जेठ २५ गते एमाले केन्द्रीय कार्यालयका सचिवलाई पत्र लेखेर सञ्चारमाध्यममा आफ्नो नामसँग मिल्दोजुल्दो नाम एमालेको अर्थ तथा योजना विभागको सदस्यको रूपमा मनोनयन भएको र त्यसमा आफ्नो ध्यानाकर्षण भएको उल्लेख गरेका थिए ।
सार्वजनिक भएको उनको पत्रमा आफूलाई एमालेले सोबारेमा जानकारी नदिए पनि आफू कुनै पनि राजनीतिक दलको सदस्य नरहेको र हाल त्यस्तो सदस्यता लिने मनसाय समेत नरहेकाले उक्त नाम हटाइदिन आग्रह गरेका छन् ।
२०७३ साल जेठमा एमालेको अर्थ तथा योजना विभागको सदस्यमा महाप्रसाद अधिकारीको नाम आएपछि उनले सो पत्र लेखेका थिए । आफूले केन्द्रीय कार्यालयमा पत्र प्राप्त भएपछि त्यसको जवाफसमेत समबन्धित व्यक्तिलाई लिखित रूपमै दिएको एमालेका तत्कालीन केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताए ।
हाल एमाले स्थायी कमिटी सदस्य रहेका श्रेष्ठले भने, ‘उहाँले त्यो महाप्रसाद अधिकारी यदि मलाई भनिएको हो भने म कुनै पार्टीको सदस्य छैन र मेरो नाम हो भने हटाइदिनु भन्नुभएको थियो । हामीले रुजु गर्दा उहाँको नाम पार्टी सदस्यमा नरहेको र विभागको सदस्य पनि उहाँ सम्बन्धित नभएको जवाफ दिएका थियौं ।’
एमालेले त्यसबेला महाप्रसाद अधिकारीको नाम भुलबस पर्न गएको र अन्तिम नामावलीमा नरहेको जवाफ दिएको पत्र सार्वजनिक भएको छ ।