न्याय माग्न पुगेका स्वास्थ्यकर्मी प्रहरीबाटै निर्घात कुटिए – Nepal Press

न्याय माग्न पुगेका स्वास्थ्यकर्मी प्रहरीबाटै निर्घात कुटिए

कैलाली । दार्चुलामा पारिवारिक विषयको उजुरी लिएर न्यायका लागि पुगेका एक स्वास्थ्यकर्मी प्रहरीबाट कुटिएका छन् ।

बैतडी दोगडाकेदार गाउँपालिकाका चक्र कार्की मंगलबार गोकुलेश्वर प्रहरी चौकीमा कुटपिटमा परेका हुन् । कार्की दार्चुलाको शैल्यशिखर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख हुन् ।

गोकुलेश्वरस्थित प्रहरी चौकीका इन्चार्ज इन्सपेक्टर सुरजबहादुर सिंहले आफूलाई दुई झापड हानेको त्यसपछि अरु प्रहरीसहित पाइपले तिघ्रा र पैतालामा नीलडाम हुने गरी कुटेको कार्कीले बताए ।

बोगटीले घाउ केस फारम भरी पाऊँ भन्दै गोकुलेश्वर प्रहरी चौकीमा बुझाएको पत्रमा पनि उनले त्यो उल्लेख गरेका छन् ।

प्रहरीको कुटाइबाट कार्की घाइते भएपछि आक्रोशित स्थानीयले चौकीसमेत घेराउ गरेका छन् ।

सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी मोहन आचार्यले घटनालाई गम्भीर रूपमा लिएको भन्दै छानबिनका लागि प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय दार्चुलालाई निर्देशन दिइसकेको बताए ।

‘हामीले घटनाबारे छानबिन गर्न समिति गठन गर्न भनेका छौँ’ उनले नेपाल प्रेससँग भने ‘दोषी देखिएकाहरू कारबाहीमा पर्छन् ।’

प्रहरी स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय दार्चुलामा प्रहरी निरीक्षकको नेतृत्वमा छानबिन समिति समेत गठन भइसकेको छ । उक्त समितिको प्रतिवेदनका आधारमा आफ्नै कार्यालयमा सर्वसाधारण कुटपिट गर्ने प्रहरीमाथि कारबाही हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *