राजनीति: अवसरवादको अविरल श्रृंखला !
संघीय गणतन्त्र स्थापनापश्चातको नेपालको राजनीतिलाई नजिकबाट नियाल्ने हो भने यसमा चर्को अवसरवादबाहेक अन्य पाइँदैन । राजनीति जब स्वार्थ र अवसरमा केन्द्रित हुन्छ, विभिन्न नाटक मञ्चन भइरहन्छन् । देश र जनताका नारा रट्नेहरुको चर्को अवसरवादले नेपाली जनतालाई मात्र होइन विश्व राजनीतिको समेत ध्यान खिचेको छ । आखिर राजनीति यति धेरै अवसरवादको भर्याङ कसरी बन्यो ? यसमा अब धेरै घोत्लिन जरुरी छैन । देशका सीमित नेताको केही समयको गतिविधिलाई नियाल्ने हो भने छर्लङ्ग देखिनेछ ।
नेपालको सन्दर्भमा जनता कम र कार्यकर्ता धेरै बन्नु नै राजनीतिमा नेताहरुको दास मनोवृत्ति हावी बनिदियो । जब जनता जनता रहँदैनन्, स्वतन्त्र र सार्वभौम रहँदैनन्, त्यसमा हुने भनेको यही नै हो । किनकि देश गुलामीमा चलेको छ । यो गुलामीको रोग कार्यकर्तामा ज्यादा भए तापनि यो सीधै देखिँदैन भने नेताको अवसरवादको नमुना भने प्रस्ट देखिन्छ । यसका बावजुद पनि गुलामी मानसिकताले ढाकछोपमा तल्लीन देखिन्छ । यही नै देश र जनताको दुर्भाग्य हो ।
देश र समाज परिवर्तनको नाउँमा सबैको एउटै उद्देश्य छ, जनताको नाममा लुट्ने, यसका लागि कार्यकर्तामा गुलामी र दास प्रवृत्ति हावी गराउने । यही प्रयासमा नेताहरु सफल बनिदिँदा जनता खाडीमा र नेता कुर्चीमा आसीन रहने प्रवृत्ति रहिरह्यो । देशलाई समृद्ध बनाउने अभियानमा लागेर धेरैको परिवार उजाडेका प्रचण्ड राजनीतिको केन्द्रमा छन् । प्रचण्ड शान्ति वार्तामा आइसकेपछि देशका कार्यकारी पदमा रहेदेखि हालसम्म हेर्ने हो भने देश र जनताको पक्षमा छैन ।
तर पनि जनतालाई ऊल्लु बनाउन अभ्यस्त छन् र सफल पनि छन् । जुन हालै सम्पन्न स्थानीय तह निर्वाचनको परिणामले पनि पुष्टि गर्दछ । राजनैतिक दस्तावेजमा सबैभन्दा ठूलो प्रधान शत्रु देखेका नेपाली कांग्रेस अहिले प्रचण्डका लागि शक्तिमा रहिरहने भरपर्दो माध्यम बनेको छ । जसको शासन पद्धती र जसको विचारसँग असहमत भएर लामो समय संघर्ष गर्यो माओवादी, आज उसैको बैशाखी बनेर पुनः प्रधानमन्त्री बन्ने लालसामा गुलामी राजनीतिमा अभ्यस्त छ । यो भन्दा लज्जाको विषय के हुनसक्छ ?
देश र समाज परिवर्तनको नाउँमा सबैको एउटै उद्देश्य छ, जनताको नाममा लुट्ने, यसका लागि कार्यकर्तामा गुलामी र दास प्रवृत्ति हावी गराउने । यही प्रयासमा नेताहरु सफल बनिदिँदा जनता खाडीमा र नेता कुर्चीमा आसीन रहने प्रवृत्ति रहिरह्यो ।
राजनीति सम्भावनाको खेल यसै भनिएको रहेनछ । यही सम्भावनाभित्र चित्र, विचित्र रहेको हुनेरहेछ । यही चित्र विचित्रको ललीपपमा भुल्ने जनता जबसम्म रहिरहनेछन् तबसम्म प्रचण्डका ग्याण्ड डिजाइन सक्रिय रहिरहनेछ । अनुकूलताका लागि जता पनि परिवर्तनको व्याख्या गर्न सक्ने प्रचण्डका आज सबैभन्दा नजिकका पात्र भनेका देउवा हुन् । यिनीहरुको सबैको ध्येय भनेको गठबन्धन गर्ने, संसदमा ठूलो दल बन्ने र शासन सत्ता हातमा लिने हो । योभन्दा पृथक योजना सुनाउनु भनेको दास कार्यकर्तालाई मूर्ख बनाउनु शिवाय अन्य केही होइन ।
कर्ममा भन्दा भाग्यमा विश्वास गर्ने देउवा जसरी पनि प्रधानमन्त्रीमा आसीन हुनु नै राजनीति ठान्दछन् । हिजो जनयुद्धमा सबैभन्दा निशानामा परेका नेपाली कांग्रेसका नेता–कार्यकर्ताहरु आज प्रचण्डका भक्त बनेका छन् । किनकि देउवाले प्रचण्डको प्रशंसा गरिदिन्छन् । गठबन्धनविना जित्न सकिँदैन भन्ने धम्की दिन्छन् । पार्टी र संगठन मजबुत बनाउनभन्दा पनि गठबन्धन गरेर जित्ने र ज्योतिषीले भनेझैं पुनः प्रधानमन्त्री बन्ने ध्येय देउवाको हो । यति धेरै प्रस्ट हुँदाहुँदै पनि विद्रोह गर्न नसक्नु भनेको दास मानसिकताको उपज हो । यही दास मानसिकताभित्र रहेर अवसरवादमा रम्ने र रमाउनेहरुको भीडले अन्तत्वगत्वा राजनीतिका र पनि नबुझेका सीमित जनता र देश नै भड्खालोमा फस्दै गएका छन् ।
हिजोसम्म सुशासन र विधि पद्धतीको नारा ओकल्ने रामचन्द्र आज देउवा र प्रचण्डका ललीपपमा भुलेका छन् । लामो समय सत्ता र शक्तिमा रहेर पनि गृह जिल्लाको आफ्नै निर्वाचन क्षेत्रमा व्यापारी किसानसँग पराजय भोगेका पौडेल अझै पनि जनता ढाट्न सक्रिय छन् । विगतको समीक्षाभन्दा पनि गठबन्धन गरेर जिताइदिने अभिष्ट पालेका पौडेलका हालको गतिविधि सत्ता र शक्तिको खातिरभन्दा अन्यथा हुन सक्दैन । पार्टीभित्र रहेर सधैँ विधि र पद्धतीको वकालत गरेका पौडेल अहिले देउवाको सारथी बनेका छन्, देउवाका छायाँ बनेका छन् । यसभित्रका चित्र विचित्रभित्र जनताको आवश्यकता र समृद्ध नेपालको परिकल्पना पाइँदैन ।
बौद्धिकताका मापन लगाएका बाबुराम भट्टराई जनयुद्धकालमा जति लोकप्रिय थिए । शान्ति प्रक्रियामा आइसकेपछि उनको क्रान्तिकारिता पनि भिन्न हुन सकेन । विचार र दृष्टिकोणमा अब्बल केवल शक्ति र सत्ताका लागिमात्र रहेछ भन्ने बाबुरामले पनि पुनर्पुष्टि गरे । विचार र दृष्टिकोण अविचलित र निडर हुनुपर्ने हो, तर बाबुराम आफ्नै विचारधारामा प्रस्ट हुनसकेनन् । जसले गर्दा माओवादी, नयाँशक्ति र विभिन्न शक्ति हुँदै जसपाबाट पनि निष्कासित भएका छन् ।
यति धेरै अस्थिर पात्र मधेसवादी पार्टीमा पनि देखिएको थिएन । बाबुराम शक्ति र अवसरका लागि राष्ट्रिय पार्टी हुँदै, जातीय, क्षेत्रीय हुँदै सडकमा आइपुगेका छन् । सडकमा आइपुगेपछि छुट्टै क्रान्तिकारिता पलाएका बाबुराम अब देश र जनताको विश्वासका पात्र बन्न सक्दैनन् । शक्ति र सत्तामा रहँदा देश र जनताका याद नआउने नेताहरुको सम्पूर्ण ध्येय अवसरवाद शिवाय अन्य हुनसकेन । जुन विभिन्न कालखण्डमा प्रस्फुटित भइसकेका छन् ।
शासन व्यवस्था परिवर्तन हुनु एउटा कुरा हो भने जनताको जीवनस्तर परिवर्तन अलग कुरा हो । जनताको न्यूनतम आवश्यकता पूरा गर्न र समृद्ध नेपाल, सुखी नेपाली बन्न आत्मनिर्भर जनता बन्नुको विकल्प छैन । अबको हाम्रो बाटो यही हुनुपर्दछ, नकि दास प्रवृत्ति ।
सधैँ मान चाहिने माधवकुमार नेपाल पुनः मान पाउन नसक्ने गरी अपमानित बनेका छन् । पन्ध्र वर्षसम्म एमालेको महासचिव बनेका माधव नेपाल केपी ओली एमालेको अध्यक्ष भएपछि अपमानित बनी अनेकौं जालझेल गरेर केहीसमेत राहत महसुस गरे पनि अन्तत्वगत्वा सडकमा नै आईपुगेका छन् । आफू पदमा रहँदा पनि मान सम्झने माधव नेपाल देशलाई अस्थिर राख्ने पात्रमध्येका एक हुन् । जसको विगत देश र जनताप्रति कहिल्यै बफादार बनेन ।
अध्यक्ष प्राप्तिका लागि समाजवादी गठन गरेर केही समय रापतापमा अडेका माधव मन्त्री परिवर्तनमा अपमानित हुनुपरेपछि राजनीतिको सबैभन्दा पीडाका क्षणमा छन् । अवसरवाद आफूमा मात्र रहेनछ, कार्यकर्तामा पनि रहेछ भन्ने कुरा माधव नेपालले मन्त्री परिवर्तनमा देखिएको व्यवहारबाट सिकेको हुनुपर्दछ । विचार, दृष्टिकोण र पार्टीको दस्तावेज जब अनुकूलतामा स्वखलित हुन्छ, त्यसपछि पतनको दिशाउन्मुख नै एकमात्र विकल्प हो । माधवको बाटो यही हो । यसैमा देश र जनताको भलो हुनेछ ।
विचारमा अडिग र राष्ट्रिय राजनीतिमा गहिरो छाप बनाएका केपी ओली राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा छुट्टै पहिचान बनाए तापनि उनी पनि अवसरवादबाट अछुतो छैनन् । ओली आफैंमा अवसरवादी नभए तापनि पार्टीभित्रका अवसरवादीका कारण आलोचित बने । नजिकका विश्वासपात्रबाट धोका खाएर आम नेपाली जनताको नजरमा अवसरवादी र भ्रष्ट देखिएका ओलीको राष्ट्रिय राजनीतिमा खेलेको भूमिका सबै देश र जनताको हितमा हुनसकेन ।
शक्ति र सत्ताका लागि नेकपा एमाले र ओलीले खेलेको भूमिकालाई सकारात्मक मान्न सकिँदैन । अनुकूल व्याख्याता ओलीको पनि सकारात्मक देखिएन । विपक्षीलाई जसरी पनि सक्ने मानसिकतामा फसेका ओली पार्टीको दृष्टिकोण र देशको आवश्यकताभन्दा पनि कुर्चीमोहले खेलेको भूमिकाले विवादित बने । भलै ओली व्यक्तिगत रुपमा प्रस्ट भए तापनि अवसरवादको कसीमा सफल हुन सकेनन् ।
देशमा जनता जबसम्म आत्मनिर्भर बन्दैनन तबसम्म स्वार्थ र अवसरका गन्धले दास मानसिकता हावी बनिदिन्छ । यही दास मानसिकताले गुलामी राजनीतिलाई प्रश्रय गर्दछ र नेताहरुले यसको फाइदा लिँदै जनतालाई मूर्ख बनाउने खेल खेलिरहन्छ, नेपालको सन्दर्भमा भएको यही हो । शासन व्यवस्था परिवर्तन हुनु एउटा कुरा हो भने जनताको जीवनस्तर परिवर्तन अलग कुरा हो । जनताको न्यूनतम आवश्यकता पूरा गर्न र समृद्ध नेपाल, सुखी नेपाली बन्नका लागि आत्मनिर्भर जनता बन्नुको विकल्प छैन । अबको हाम्रो बाटो यही हुनुपर्दछ ।