रुसद्वारा युक्रेनको भिनित्सिया शहरमा क्षेप्यास्त्र प्रहार, २३ जनाको मृत्यु
काठमाडौं । रुसले युक्रेनको भिनित्सिया शहरमा तीन वटा क्षेप्यास्त्र प्रहार गर्दा तीन बालबालिकासहित २३ जनाको मृत्यु भएको छ । एकसयभन्दा बढी घाइते भएका छन् ।
भिनित्सिया शहरको आवासीय क्षेत्रमा मिसाइल प्रहार हुँदा उक्त क्षति भएको हो । हाल घटनास्थलमा उद्दार कार्य भइरहेको छ । मृत्यु हुनेको संख्या बढ्नसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
घटनास्थलबाट हाल ६४ जनालाई उद्दार गरिएको छ । जसमध्ये चार जना बालबालिकासहित ३४ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । क्षेप्यास्त्र प्रहारबाट मृत्यु हुनेमध्ये हालसम्म ६ जनाको मात्र सनाखत हुन सकेको छ ।
पूर्वी युक्रेनभन्दा धेरै टाढा रहेको आवासीय क्षेत्रमा भएको क्षेप्यास्त्र प्रहारपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यस घटनालाई खुलमखुला गरिएको आतङ्कवादी कार्यको संज्ञा दिएका छन् ।
भिनित्सियामा झण्डै तीन लाख ७० हजार मानिस बसोबास गर्दै आएको बताइएको छ ।