भारत भ्रमणबारे प्रचण्डले भने- चिनियाँ नेताको भ्रमणसँग संयोग मात्र (भिडिओ) – Nepal Press

भारत भ्रमणबारे प्रचण्डले भने- चिनियाँ नेताको भ्रमणसँग संयोग मात्र (भिडिओ)

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो भारत भ्रमण आकस्मिक नभएको प्रष्टीकरण दिएका छन् ।

दिल्ली उड्नुअघि विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले हेर्दा आकस्मिक जस्तो देखिएपनि २ महिनाअघि नै भ्रमणको कुरा चलेको दाबी गरे ।

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउको नेपालभ्रमणलगत्तै भारत जानुका पछाडि पत्रकारको प्रश्नमा उनले भने, ‘यो संयोगजस्तो मात्र हो । चिनियाँ कम्युनिष्ट पार्टी विभागका प्रमुख आउने-जाने कुरामा कुनै सरोकार छैन । प्रष्ट पार्न चाहन्छु ।’

‘हेर्दा आकस्मिकजस्तो देखियो । २ महिनाअघिबाट नै यसको कुरा चलेको थियो । विनय क्वात्राकै पालामा उहाँले उपयुक्त समयमा भारत भ्रमण आवश्यक छ त्यो वातावरण मिलाउँदैछु भन्नुभएको थियो’, प्रचण्डले प्रष्ट्याए, ‘विदेश सचिव भएर गएपछि मलाई उपयुक्त समय कुन हुनसक्छ ? भनेर सोध्नुभयो । पार्टीको केन्द्रीय समिति बैठकलगायतका समय हेरेर जुलाईको दोस्रो या तेस्रो साता हुनसक्छ भनेको थिए । त्यसकारण यो आकस्मिक होइन ।’

भारत भ्रमण सद्भाव भ्रमण मात्र भएको बताउँदै दाहालले भने, ‘नेपालसँगको सम्बन्धलाई अझ मजबुत कसरी बनाउने भन्नेबारे । यो सद्भाव भ्रमण मात्र हो । नेपाल र भारत दुवैको हितलाई केन्द्रमा राखेर छलफल हुनेछ । भारतसँगका सिमाना, व्यापारलगायतका विषयमा कूटनीतिक वातावरण बनाएर टुंग्याउने विषयमा छलफल हुनेछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर