महिला अधिकार सुनिश्चित गर्न राप्रपानिकट महिला संगठनको माग
काठमाडौं । राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महिला अधिकार, महिला हिंसा र सुरक्षासम्बन्धी विभिन्न मागसहित गृहमन्त्री बालकृष्ण खाणसमक्ष ज्ञापनपत्र बुझाएको छ ।
राप्रपा र भ्रातृ संगठन असार १३ देखि विभिन्न सरोकारका माग लिएर आन्दोलनरत छ । गत असार १ गते विभिन्न २२ सुत्रीय माग राखी प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको राप्रपाले आफ्ना मागहरू पूरा गराउन सरकारलाई दबाब सिर्जना गर्न निरन्तर आन्दोलनमा होमिएको हो ।
राप्रपाले किसानलाई रासायनिक मलको सहज आपूर्ति गरिनुपर्ने, खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि नियन्त्रण हुनुपर्ने, दैनिक उपभोग्य खाद्यवस्तुको अनियन्त्रित महंगीको अनुगमन र नियन्त्रण हुनुपर्ने, कालोबजारी नियन्त्रण हुनुपर्ने, महारोगको रुपमा फैलिएको भ्रष्टाचार नियन्त्रण हुनुपर्ने, ४७ पछिका उच्च पदस्थको सम्पत्ति छानबिन हुनुपर्ने, बेरोजगारी समस्या समाधान गरिनुपर्ने, रोजगार सिर्जनाका लागि अल्पकालीन र दीर्घकालीन रणनीति बनाउनुपर्नेलगायत जनजीविकासम्बन्धी मागहरू राखेको छ ।
त्यस्तै राजसंस्था र हिन्दूराष्ट्रको पुनःस्थापना, संघीयताको खारेजी, राष्ट्रप्रमुखको रुपमा राजा र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, पूर्णसमानुपातिक निर्वाचन प्रणालीको व्यवस्था, विदेशमा रहेका नेपाली नागरिकलाई आगामी निर्वाचन मै मतदान गर्न पाउनुपर्ने व्यवस्था, प्रदेश र संघको निर्वाचनलाई निष्पक्ष बनाउन निष्पक्ष चुनावी सरकारको गठनलगायतका माग पनि राप्रपाको छ ।
राप्रपाले उपाध्यक्ष बुद्धिमान तामाङको नेतृत्वमा आन्दोलन परिचालन समिति गठन गरेर देशव्यापी आन्दोलन गरिरहेको हो ।