नभेटिएका खोटाङका एम अधिकारी, नखोजिएका खोटाङकै परशुराम
५ वर्षदेखि थला परेका नेता एमाले सल्लाहकार परिषदमा
काठमाडौं । यतिबेला सिंगै देश खोटाङका एम अधिकारी फेला नपरेर रनाहामा छ । देशको सबैभन्दा ठूलो दल एमालेले आफ्नो आर्थिक विभागमा यो नाम समावेश गरेपछि नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी आफ्नै रनाहामा छन् ।
यही पार्टी एमालेले आफ्नो केन्द्रीय सल्लाहकार परिषदमा समावेश गरेका खोटाङकै परशुराम कार्कीको भने कतै चर्चा छैन । होस् पनि कसरी, विगत ५ वर्षदेखि उनी आफ्नै घरको चौघेराभित्र गुमनाम जीवन बाँचिरहेका छन् । अहिले फ्याट्ट पार्टीको केन्द्रीय सल्लाहकार बनाइएको खबरले उनका परिवार पनि रनाहामा परेका छन् ।
श्रीमानलाई एमालेले सल्लाहकार परिषदमा मनोनीत गरेको खबर कमला कार्कीले मिडियाबाट थाहा पाइन् । पार्टीबाट कसैले पनि पूर्वजानकारी नदिएको उनी बताउँछिन् । परशुरामलाई त झन् थाहा हुने कुरै भएन, जो मानसिक रुपमा दुर्बल छन् । पार्टीले गहन जिम्मेवारी दिए पनि यसलाई निभाउनसक्ने हालत छैन उनको ।
कमलाका अनुसार लामो समयदेखि पार्टीबाट कसैले उनको श्रीमानको खोजखबर गरेका थिएनन् । अचानक श्रीमानलाई जिम्मेवारी दिइएको बाहिरबाट थाहा पाउँदा खुशी हुन नसकेको उनी बताउँछिन् । ‘उहाँलाई यतिबेला पार्टीको कुनै पद होइन, उचित स्वास्थ्याेपचार चाहिएको छ’, कमला भन्छिन्, ‘उठेर एक्लै हिँड्न नसक्ने, बोल्न नसक्ने मान्छेलाई सल्लाहकार बनाएर स्वास्थ्यमाथि नै मजाक गरेजस्तो भयो ।’
त्यसो त राजनीतिक जीवनलाई नियाल्ने हो भने परशुराम पार्टीको केन्द्रीय पद नै डिजर्भ गर्छन् । उमेरले ७१ वर्ष पुगेका उनी पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय थिए । १७ वर्षसम्म शिक्षकका रुपमा काम गर्दै उनले आफ्नो राजनीतिक जीवन अघि बढाए । २०४८ सालकै चुनावमा कार्कीलाई एमालेले सांसदको टिकट अफर गरेको थियो ।
तर, उनले लिएनन् । बरु जिल्लाकै प्रभावशाली नेता अशोक राईलाई प्रस्ताव गरे । २०५४ सालको स्थानीय चुनावपछि जिविस सभापति बने परशुराम । बीचमा केही समय एमालेको खोटाङ इन्चार्ज भए । अञ्चल कमिटी सदस्य भए । तर, अचानक २०७३ सालबाट उनको राजनीतिक यात्रा रोकियो । जीवनकै लय भंग भयो । परिवारमाथि बज्रपात आइपर्याे ।
२०७३ साल फागुन २५ गते । परशुराम कार्की पार्टीको कामका सिलसिलामा सदरमुकाममा थिए । एउटा होटलमा बसेका उनी २३ गते प्रशिक्षण कार्यक्रममा सहभागी भए । पर्सिपल्ट २५ गते नारी दिवस थियो । उनका साथीभाइहरु विभिन्न कार्यक्रममा भाग लिन भनेर हिँडे । परशुराम चाहिँ थकाइ लागेको भनेर होटलमै बसेका थिए ।
त्यसदिन बिहान १०-११ बजेसम्म उनले मोबाइल चलाएको देखिएको छ । तर, बेलुका साथीहरु होटलको कोठामा आउँदा उनी अचेत अवस्थामा भेटिए । कतिबेलादेखि अचेत भएका थिए भन्ने कसैलाई थाहा भएन ।
कमलालाई श्रीमानको खबर पुग्यो । उनी आत्तिँदै आइन् । काठमाडौं ल्याउने कुरा भयो । त्यसबेला गृहमन्त्री भीम रावल थिए । उनको पहलमा सेनाको नाइटभिजन हेलिकोप्टरको प्रवन्ध भयो । सोही हेलिकोप्टरले खोटाङबाट परशुरामलाई रातारात काठमाडौं ल्यायो । अन्नपूर्ण न्यूरो हस्पिटलमा उनलाई राखियो । डाक्टरहरुले ब्रेन स्ट्रोक भएको बताए । डेढ महिनासम्म अन्नपूर्णमा उपचार गरियो । तर, उल्लेख्य सुधार भएन । डाक्टरहरुले अब एकमात्र विकल्प थेरापी भएको बताए ।
त्यसपछि अन्नपूर्णबाट डिस्चार्ज गरेर थेरापीका लागि कालीमाटीको एउटा अस्पतालमा लगियो । त्यहाँ राखेर उनलाई चार महिनासम्म थेरापी गरियो । केही सुधार भयो । ह्वीलचेयरबाट उठ्नसक्ने भएपछि लोकन्थलीमा ल्याइएको हो ।
परशुरामले लोकन्थलीमा पहिल्यै सानो घर बनाएका थिए । अहिले काठमाडौंमा हुँदा श्रीमानश्रीमती यही घरमा बस्छन् । जाडो सिजनमा श्रीमानलाई लिएर गाईघाटमा बस्छिन् कमला । उनीहरुका दुई छोरा र दुई छोरी छन् । सबैको विवाह भइसकेको छ । जेठो छोरा गाईघाटमै पसल चलाएर बसिरहेका छन् । कान्छो छोरा हङकङमा छन् । छोरीहरु आआफ्नो घरमा छन् ।
कमला पनि श्रीमानजस्तै शिक्षण पेशामा नै थिइन् । उनी २०७३ साल जेठमा सेवा अवधि पूरा भएर रिटायर्ड भएकी हुन् । उनको मासिक पेन्सन आउँछ । श्रीमानले भने १७ वर्षमा नै जागीर छोडेकाले पेन्सन पाक्न पाएन । श्रीमानको उपचार र रेखदेखमा नै कमलाको दिन बितिरहेको छ । अहिले पनि नियमित रुपमा थेरापीका लागि कालिमाटी पुर्याउनुपर्छ ।
परशुरामको स्वास्थ्यमा केही सुधार भएको छ । तर, अपेक्षित छैन । उनी मानिसहरु चिन्छन् । पहिलेका कुराहरु सम्झिएजस्तो गर्छन् । अरुले बोलेको बुझेजस्तो भाव प्रकट गर्छन् । तर, आफू बोल्न सक्दैनन् । उनको मुखबाट सही शब्दहरु बन्दैनन् । एकाध शब्दहरुमात्रै फड्कार्छन् । फोन उठाएर हेल्लो भन्न सक्छन् । अरुको कुरा सुन्छन् । तर आफू राम्ररी बोल्न सक्दैनन् ।
ब्रेन स्ट्रोक भएपछि उनको शरीरको एकपाखो पक्षघात भएर चल्न छाडेको थियो । लामो समय थेरापी भएपछि त्यसमा सुधार भएको छ । अहिले उनी घरभित्र वल्लो कोठा, पल्लो कोठा गर्न र आफैं शौचालय जान सक्छन् । तर, सहाराविना घरबाहिर निस्किन सक्दैनन् ।
कमलाका अनुसार सुरु-सुरुमा पार्टीका नेताहरु भेट्न आउने, हालखबर सोध्ने गर्थे । तर, पछिल्लो समय त्यो लगभग बन्द भएको छ । धेरै समयदेखि नेताहरु नआएको उनले बताइन् ।
एमालेले परशुरामको उपचारमा केही आर्थिक सहयोग गरेको थियो । कमलाका अनुसार उनले बारम्बार ताकेता गरेपछि दुई वर्ष अगाडि ३ लाख रुपैयाँ सहयोग उपलब्ध भएको थियाे । तर, योभन्दा धेरै खर्च भइसकेको कमला बताउँछिन् । उनलाई अझै पनि आशा र अपेक्षा छ, पार्टीले उनको श्रीमानलाई हेरिदेओस् ।
उनी भन्छिन्, ‘पूर्ण रुपमा ठीक हुन त नसक्नु होला । तर, ५० प्रतिशत सुधार भए पनि हामी खुशी हुने थियौं । त्यसका लागि पनि अझै धेरै उपचारको खाँचो छ । हामी सामान्य परिवारका मान्छे हौं । धेरै पैसा छैन । त्यसैले चाहेजस्तो उपचार भएको छैन ।’
कमला थप्छिन्, ‘मैले पार्टीका नेताज्यूहरुलाई भनेको छु– म सधैँ तपाईंहरुसँग हात थाप्न आउँदिनँ । उहाँलाई छोडेर हिँडिरहने फुर्सद पनि हुँदैन । तर, पार्टीले सहयोग गर्छ भने स्वीकार गर्छु । उहाँ पार्टी कामकै सिलसिलामा बिरामी हुनुभएको हो । पार्टीले उहाँलाई स्वस्थ बनाउन मद्दत गर्नुपर्छ भन्ने हाम्रो माग छ ।’
बोहोरा भन्छन्ः के भएको रहेछ, बुझ्छु
एमालेको सल्लाहकार परिषदका संयोजक अमृतकुमार बोहोराले परशुराम कार्कीको विषय आफ्नो जानकारीमा नरहेको बताए । उनले पहिल्यै सल्लाहकार परिषदमा रहेको भएर उनलाई निरन्तरता दिइएको हुनसक्ने उल्लेख गरे ।
‘मूलतः दसौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीबाट प्रस्ताव भएर सल्लाहकार परिषदमा मनोनीत गरिएको हुन्छ । कतिपय नामहरु सम्बन्धित कमिटीबाट सिफारिस भएर आएका हुन्छन् । सबैको विषयमा हामीलाई जानकारी हुँदैन । उहाँ पहिले पनि सल्लाहकार परिषदमा रहेको भए निरन्तरता दिइएको हुनसक्छ । आज तपाईंले जानकारी गराउनुभयो, अब म सम्बन्धित परिवारसँग बुझ्नेछु’, बोहोराले भने ।
तर श्रीमती कमलाका अनुसार परशुराम यसअघि सल्लाहकार परिषदमा थिएनन् ।