राष्ट्रपति रनिङ शिल्ड: लुम्बिनीलाई सबैभन्दा धेरै शिल्ड – Nepal Press

राष्ट्रपति रनिङ शिल्ड: लुम्बिनीलाई सबैभन्दा धेरै शिल्ड

रुपन्देही । लुम्बिनी प्रदेशले १२ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सबैभन्दा धेरै उपाधि जितेर डिफेन्डिङ च्याम्पियन बनेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भएको प्रतियोगितामा लुम्बिनीले १६ स्वर्ण, ११ रजत र ११ कांस्य जित्दै ६ खेल समावेश प्रतियोगितामा समग्रमा टिम च्याम्पियन बनेको हो । लुम्बिनी प्रदेश खेलकुद समितिले सबै क्षेत्रका खेलमा लुम्बिनीबाट सहभागिता भएका खेडाीले राम्रो प्रदर्शन गरेको जनाएको छ ।

दोश्रो भएको बागमती प्रदेशले १६ स्वर्ण, ९ रजत र २० कांस्य जितेको छ । तेश्रो स्थानको सुदूरपश्चिम प्रदेशले ८ स्वर्ण, ९ रजत र ८ कांस्य जित्यो । ५० स्वर्णका लाग भएको प्रतिस्पर्धामा गण्डकी र कर्णालीले समान ५–५ स्वर्ण हात पारे । गण्डकीले थप समान ११–११ रजत र कांस्य पनि प्राप्त गरेका छ । स्वर्णका अलावा कर्णालीले १० रजत र १५ कांस्य हासिल गयो ।

प्रतियोगितामा ४ कीर्तिमान बने । चारै कीर्तिमान लुम्बिनीका खेलाडीको नाममा रह्यो । निशा चौधरीले मात्र २ व्यक्तिगत र एक टिममा कीर्तिमान रचिन् । छात्रा लङजम्पमा निशाले ५.४७ मिटर जम्प गर्दै शिला चौधरीले सन् २०१८ को अप्रिल २३ मा बनाएको ५.४५ मिटरको सिनियरको राष्ट्रिय कीर्तिमानलाई उछिनिन् ।

१ सय मिटर दौड १२.५३ सेकेन्डमा पूरा गर्दै निशाले अर्को नयाँ जुनियर राष्ट्रिय कीर्तिमान स्थापित गरिन् । त्यस्तै ४ गुणा १ सय मिटर रिले निशाले रेशु थारु, रामकुमारी थारु र सम्झना थारुसंग मिलेर ५४.२० सेकेन्डको जुनियर राष्ट्रिय कीर्तिमान रचिन् । छात्र लङजम्पमा सुदिप थारुले ६.६५ मिटर जम्प गर्दै जुनियर राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाए ।

विजेतालाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव तेजबहादुर गुरुङ, लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव जयप्रकाश भट्टराई, प्रशासन विभाग प्रमुख मधुसुदन बस्नेतलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । कुल नगद पुरस्कार राशी ९ लाख ४५ हजार रुपैयाँ रहेको थियो ।

टिम च्याम्पियन बनेपछि लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्यसचिव जय प्रकाश भट्टराईले आफ्नो कार्यकालमा खेलाडी र खेल क्षेत्रमा ऐतिहासिक सफलता हासिल गर्ने खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई धन्यवाद दिएका छन् । साथै खेल जगतमा लुम्बिनी प्रदेशको नाम राख्न सफल सबैलाई खेलकुद परिषद लुम्बिनी प्रदेश समितको तर्फबाट धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझै विकास गरी अगाडि बढाउने उनले बताए ।

खेलकुदको विकासका निम्ति आफूले पछिल्लो समय मेहनत गरिरहेको बताए । उनले भने, ‘आज एउटा सपना हाम्रो पूरा भएको छ । अब लुम्बिनी प्रदेशले खेलकुदको क्षेत्रमा भौतिक पूर्वाधारको विकाससँगै प्रतिभावान खेलाडी उत्पादन गर्ने लक्ष्यसहित अगाडि बढेको छ । हाम्रो लक्ष्य अन्तराष्ट्रिय पदक जित्ने खेलाडी उत्पादन गर्ने हो । त्यसका प्रदेशको खेलकुद नीतिलाई समेत परिमार्जन गरेर अगाडि बढिरहेका छौं ।’

तीनदिने प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसुमा ५ सय खेलाडीले प्रतिस्पर्धा गरेको खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले जनाएका छन् । प्रदेश संरचनामा प्रतियोगिता आयोजना भएको तेश्रोपटक हो ।

भलिबलको छात्रमा गण्डकी तथा छात्रामा बागमतीले उपाधि जिते । त्रिपुरेश्वरिस्थत राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको छात्र फाइनलमा गण्डकीले लुम्बिनीलाई २५–११, २५–१०, २०–२५, २०–२५ र १५–१२ को सेटमा पराजित ग¥यो । कर्णाली तेश्रो भयो । छात्राको उपाधि भिडन्तमा बागमतीले लुम्बिनीलाई २१–२५, २५–२१, २१–२५, २५–१९ र १५–७ ले हरायो । गण्डकी तेश्रो बन्यो ।

कबड्डीको छात्रमा पनि सुदूरपश्चिम च्याम्पियन बन्यो । ५ टिम सहभागी छात्रको राउन्ड रोविन लिगमा शत प्रतिशत जित निकालेको सुदूरपश्चिमले ८ अंक जोड्यो । लुम्बिनी ६ अंकसाथ दोश्रो भयो । छात्रामा सुदूरपश्चिम बुधबारनै उपाधि जितिसकेको छ । छात्रामा पनि ५ टिमले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गरेका थिए । मार्सल आर्ट्समा बागमतिकै दबदबा रह्यो । कराते, तेक्वान्दो र उसुमा बागमती टिम च्याम्पियन बन्यो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर