कोरोनापीडितको राहतमा दलका कार्यकर्ताबीच भागबण्डा गर्दा विवाद, झडपमा १८ घाइते – Nepal Press

कोरोनापीडितको राहतमा दलका कार्यकर्ताबीच भागबण्डा गर्दा विवाद, झडपमा १८ घाइते

रुपन्देही । नवलपरासीका जनप्रतिनिधिहरुले विपन्नहरुले पाउने राहतमा पनि दलीय आधारमा भागबण्डा गरेपछिको झडप हुँदा १८ जना घाइते भएका छन् । राहत वितरण कार्यमा भएको भागबण्डामा कुरा नमिलेपछि उत्पन्न विवादमा सरावल गाउँपालिकाको वडा नं. ५ मा कुटाकुटसमेत भएको छ । जनप्रतिनिधिबीचको विवाद बाहिर आएपछि कांग्रेस र एमालेका कार्यकर्ताबीच कुटाकुट हुँदा १८ जना घाइते भएका हुन् ।

घाइते १८ मध्ये ६ जनाको अहिले लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक(एसपी) ऋषिराम कडेलले जानकारी दिए । घाइते हुनेमा कांग्रेसका ८ र एमालेका १० जना रहेको प्रहरीले जनाएको छ । दुई पक्षले इट्टा र ढुंगा प्रहार गर्दा उनीहरु घाइते भएका हुन् । टाउकोमा चोट लागेका उनीहरुको अवस्था भने सामान्य बन्दै गएको प्रहरीले जनाएको छ ।

कोरोनाबाट प्रभावित अतिविपन्नका लागि संघीय सरकारबाट गाउँपालिकाको वडा नं. ५ मा आएको रकम वितरणका लागि आएको नाममा विवाद हुँदा भएको कुटाकुटमा उनीहरु घाइते भएका हुन् । रकम वितरणमै विवाद हुँदा चार दिनदेखि बन्द भएको अर्को वडा (वडा नं. २ को) कार्यालय अहिलेसम्म खुल्न नसकेको गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताए । कोटा लिएर रकम वितरण हुँदा वास्तविक विपन्नहरु रकम पाउनबाट बञ्चित हुने देखिएको छ ।

कोरोनाका समयमा घरमा कसैको पनि आयस्रोत नभएको र सामाजिक सुरक्षा भत्तासमेत नपाउने अति विपन्न परिवारका लागि सरकारले प्रतिपरिवार १० हजारका दरले रकम पठाएको छ । यो रकम सरकारले जिल्लाका सबै पालिकाहरुमा जेठको अन्तिम सातामा पठाएको हो । सरावल गाउँपालिकामा कुल ७ सय जनाका लागि कुल ७० लाख रुपैयाँ आएको अध्यक्ष चौधरीले बताए । सोही रकम वितरणमा कांग्रेस र एमालेका जनप्रतिनिधिबीच विवाद भएको हो ।

यसअघि निर्वाचित भएका एमालेका निवर्तमान वडाअध्यक्षले पठाएको विपन्नको नाम अहिले कांग्रेसबाट निर्वाचित भएका वडाअध्यक्षले काटेर पठाएको एक पक्षको आरोप छ भने अर्को पक्षले पहिला सम्पन्न व्यक्तिहरुको नाम पठाएको अर्को पक्षले आरोप लगाएपछि कांग्रेस एमालेका कार्यकर्ताबीच कुटाकुट भएको हो ।

वडा नं. ५ का अध्यक्ष लक्ष्मण चौधरीले फाराम नभरेकाहरुको पनि नामावली समावेश गरी रकमका लागि पालिकामा सिफारिस पठाएको आरोप लगाइएको छ । उक्त वडाबाट मात्र अति विपन्नबाट ४ सय १८ जनाले फाराम भरेका थिए । सुरुमा सबैको नामावली वडाअध्यक्षले पालिकामा पठाएका थिए । तर पालिकाले १ सय ६ जनाको नाम पठाउने भनेपछि वडाअध्यक्षले सोही अनुरुप नाम पठाएका थिए ।

ति सबैको नाम उपर दाबी विरोध गर्न पालिकाले सूचना जारी गरेको थियो । सोही सूचनाअनुसार वडाअध्यक्ष चौधरीले वडाबाट पठाएको नामावलीलाई गाउँपालिकाले थपघट गर्दै नामावली निकालेको भन्दै ३२ जनाको सूची हटाउन निवेदन दिएपछि विवाद सुरु भएको हो ।

विवादपछि १२ जना गाउँपालिका उपाध्यक्ष वासमति हरिजनले आफ्ना मान्छे राख्ने र बाँकी २० जना वडाअध्यक्षलाई आफ्ना मान्छे राख्न दिने सहमति भएको थियो । सहमतिमा वडाअध्यक्षलाई दाबी विरोध फिर्ता लिनुपर्ने बताए पनि उनले फिर्ता नलिएपछि विवादले उग्र रुप लिएको हो । उपाध्यक्ष हरिजन एमालेकी हुन् भने वडाअध्यक्ष चौधरी कांग्रेसका हुन् ।

विवादले उग्ररुप लिदैं कुटपिटको घटना भएपछि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको पहलमा शुक्रबार जिल्ला प्रशासन कार्यालयमा जनप्रतिनिधि र कांग्रेस एमालेका पार्टी प्रतिनिधिहरुलाई छलफलका लागि बोलाएका थिए ।

छलफल कार्यक्रममा वडा नं. ४ का अध्यक्ष एव गाउँपालिकाका प्रवक्ता सुरेश यादवले उपाध्यक्ष र वडाअध्यक्षलाई कोटा दिएर विवाद मिलाउन सहमति गरेपनि वडाअध्यक्षले दाबी विरोधको निवदेन फिर्ता नलिएपछि विवाद भएको बताए ।

सहमति भएको उपाध्यक्ष र वडाअध्यक्षले पनि स्वीकार गरेका छन् । विपन्नहरुको नामावली संकलन यसअघिको वडा जनप्रतिनिधिहरुले गरेका थिए । यसअघिका वडाअध्यक्ष दिनेश सहानीले राजनीतिक प्रतिसोधमा आफ्ना मान्छेको नाम सिफारिस गरेर पठाएको आरोप लगाएका छन् ।

तर अहिलेका वडाअध्यक्ष चौधरीले भने सम्पन्न व्यक्तिहरुको नाम संकलन गरेकाले काटेर पठाएको बताएका छन् । वडाअध्यक्ष चौधरीले निवर्तमान अध्यक्ष सहानीले गाउँले उचालेर विवाद निकालेको दाबी गरेका छन् । निर्वतमान वडाअध्यक्षले भने आफूले वास्तविक नाम पठाएपनि अध्यक्षले काटेर पठाएपछि जनता आक्रोशित भएर घटना भएको दाबी गरेका छन् ।

७ वडा रहेको पालिकामा अहिले २ वटा वडामा विवाद भएपछि अन्य वडाले पनि रकम वितरण गर्न सकेका छैनन् । विवाद आएपछि ३२ जनाको नाम कटाइएको गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताए । प्रशासन कार्यालयमा भएको छलफलमा छुटेका व्यक्तिहरुको नाम पनि समावेश गरी प्रकृया अघि बढाउने सहमति भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर