के तपाईंलाई भाइरल हुन रहर छ ? – Nepal Press

के तपाईंलाई भाइरल हुन रहर छ ?

काठमाडौं । सुरुवातमा नै तपाईंहरुलाई ‘च्वास्स’ एउटा प्रश्न गर्न चाहन्छु । तपाईं मनमनै भन्नुहोला– ‘च्वास्स’ हैन के दाजु ‘च्वा…… स्सै ’ भन्नुन ।

खैर हामी प्रश्नमा थियौँ । त्यो प्रश्न के हो भन्दा ‘के छ हजुर ?’ तपाईंहरु उत्तर दिनुहोस्– ठीक छ हजुर ! तपाईंको के छ हजुर ?’ वा तपाईंले ‘ह्या लाइफ ड्यामेज’ भन्ने उत्तर दिँदा पनि हुन्छ ।

लेखमा अघि बढ्नु अगाडि ‘पखनुस्ट पखनुस्ट’, म तपाईंलाई अर्को प्रश्न गर्छु । के तपाईं भाइरल हुन तयार हुनुहुन्छ ? यसको उत्तर चाहीँ तपाईं आफैँ दिनुहोस् । तर यो लेख ‘हतततततततत’ गरेर हैन कि ध्यान दिएर समय लगाएर अन्त्यसम्म पढ्नु होला । तीन करोड नेपालीहरुले पढ्नैपर्ने लेख हो यो ।

माथि सोधिएका प्रश्नहरु पढ्दा तपाईंको मस्तिष्कमा जो मानिसहरुका तस्विरहरु आए ती सबै मानिसलाई हामी अहिले ‘भाइरल मानिस’ भनेर चिन्छौ । ‘चटपटे दाईदेखि सचिन भाई’, अघोरी बाबादेखि विजय शाही र अहिले आएर भेलुबाबादेखी चाउमिनमै भोला हालेर खाने दाई’ । नेपाली सामाजिक सञ्जालमा पछिल्लो समय केही मानिसहरु एकाएक चर्चामा आउने गरेका छन् । आफूलाई पत्रकार भन्न रुचाउने युटुबरहरुका च्यानलमा सेलिब्रेटी जसरी अन्तरवार्तामा छाउने गरेका छन् । चर्चित हुने गरेका छन् ।

तर सामाजिक सञ्जालको यो ट्रेन्डलाई अलिक ध्यान दिएर हेर्ने हो भने उनीहरु जसरी रातारात चर्चाको केन्द्रविन्दु बने त्यसरी नै एकाएक विलिन पनि भएका छन् । तरकारीवाली, अघोरीबाबा, च्वास्स चटपटे दाई, सर्लक्कको सेतो मुन्छे देखेँ आन्टी यसका ज्वलन्त उदाहरण हुन् । एका– एक चर्चामा आएर वा भनौं भाइरल भएर चर्चाकै केन्द्रविन्दुमा रहिराखेका व्यक्तीहरु सायदै कोही होलान् नेपालमा !

तर यसरी एकाएक चर्चामा आएर, मिडिया एटेन्सन पाएर, चर्चित बनिसकेपश्चात पुन आफ्नो सामान्य र पुरानै जीवनयापनमा जान कत्तिको सजिलो होला ? ह्याण्डल नै गर्न नसकिने गरी पाएको एटेन्सनदेखि पुनः गुमनाम बन्नुपर्दा ती मानिसहरुको मनोदशामा के कस्तो असर पर्ला ? यी लगायतका प्रश्नहरुको उत्तर नेपाली समाजले खोज्नु पर्ने भएको छ । तर त्योभन्दा पनि पहिला खोज्नुपर्ने भएको छ आखिर कुनै पनि तस्विर, भिडिओ अथवा अन्य सामग्री भाइरल हुनुको पछाडिको मुख्य कारण के हो भन्ने प्रश्नको उत्तर ।

काठमाडौं विश्व विश्वविद्यालय स्कुल अफ आर्ट्स अन्तरगतको आमसञ्चार विभागका प्रमुख प्रोफेसर डा. सुधाम्सु दाहालका अनुसार कुनै पनि सामग्री सामाजिक संजालमा भाइरल हुनको लागि मानिसको ‘बिहेभियरल साइकोलोजी’ अर्थात व्यवहारिक मनोविज्ञानको मुख्य भूमिका रहने गर्छ । समाजमा सजिलै देख्न नपाइने, समाजले सामान्यतया लुकाएर राख्न चाहेका वा खुलेर कुरा नगर्ने विषयवस्तुको बारेमा जान्न चाहने मान्छेको बानी हुन्छ । तसर्थ यस किसिमका सामग्रीहरु मानिसले छिट्टै सेयर गर्ने हुँदा तत्काल भाइरल हुन्छन् ।

यसबाहेक आम मानिसहरुमा संचार र सामाजिक संजाल बिचको भिन्नता थाहा हुँदैन । कन्टेन्ट क्रिएटरहरुले सामग्री निर्माण गर्दा वास्तविक पत्रकारहरुको जस्तै तरिका अपनाएर निर्माण गर्ने हुँदा हरेक सामग्रीहरुलाई आम मानिसले समाचारको रुपमा ग्रहण गरिदिन्छन् । यसले गर्दा कुनै समाचारीय महत्व नै नबोकेका सामग्रीहरु भाइरल हुन जाने दाहालको भनाइ छ ।

‘अहिले आम मानिसहरुलाई सामाजिक सञ्जाल र सञ्चार बीचको फरक नै थाहा छैन । आम मानिसहरुले हरेक ‘ग्लीटरिङ्ग स्क्रिनलाई’ (बलिरहेको स्क्रिन) लाई सञ्चारमाध्यमको रुपमा लिने गरेको छ भने कन्टेन्ट क्रिएटरहरुलाई पनि पोस्ट गर्नु र बोर्डकास्ट गर्नु बिचको फरक थाह छैन । पछिल्लो समय भाइरल भएका अधिकांस भिडिओ सामाग्री हेर्दा एक जना मानिस क्यामरा अगाडि एउटा बुम माइक तेर्साएर अन्तरवार्ता लिइरहेको शैलीमा देखापर्छ, जसलाई आम मानिसले अन्तरवार्ताको रुपमा नै ग्रहण गर्छन् ।

तर वास्तिकता त्यहाँभन्दा फरक छ । पत्रकारीता गरिरहेको मानिसले आफूले तयार पारेको सामाग्रीको फ्याक्ट चेक (सत्यता जाँच ) गर्नुपर्ने हुन्छ । उक्त सामाग्रीले कुनै व्यक्ती वा समुदायको मानहानी त गरिरहेको छैन भनेर सजग हुनु पर्ने हुन्छ । त्यसो भएको खण्डमा आफ्नो सामग्रीलाई सम्पादन गर्नुपर्ने हुन्छ । आफ्नो सामग्री एकपक्षीय त भएको छैन ? भन्ने मनन गर्न पर्ने हुन्छ । तर पछिल्लो समय पत्रकारिता अभ्यासको मुल मर्म नै नबुझेका ‘स्युडो जर्नालिस्ट’ हरुले यी यावत कुराहरुलाई मनन गरेको देखिदैन । जसका कारण हाल अर्थहिन र अपाच्य सामाग्रीहरु सामाजिक सञ्जालमा भाइरल भएको देख्न सकिन्छ ।’

तर यसो भनिरहँदा भाइरल हुनु नितान्त गलत हो भन्नु पनि गलत हुन्छ । सामाजिक संजालको ‘भाइरियालिटी’ले धेरै मानिसहरुलाई अवसरको ढोका पनि खोलिदिएको छ । जसका ज्वलन्त उदाहरणको रुपमा युट्यूवबाट भाइरल भएकी गायिका समिक्षा अधिकारी लिन सकिन्छ । उनको अन्तरवार्ता युट्यूवमा भाइरल भएपछि गीतकार तथा संगीतकारहरुले खोजी गरेका थिए ।

विभिन्न क्षेत्रमा भएका विसंगतीबारे भाइरल भएका भिडिओले नेपालमै सरोकारवाला निकायहरुको ध्यानकर्षण भएको उदाहरण पनि हामीले बेला बेलामा देख्ने गरेका छौं । यसलाई पनि भाइरियालिटीको सकरात्मक पक्षकै रुपमा लिन सकिएला । यावत कुरालाई मध्यनजर गर्दा भाइरल हुनु भन्दा पनि भाइरल भइसके पश्चातको लोकप्रियतालाई कुनै व्यक्तीले सही ठाउँमा प्रयोग गर्न सक्छ कि सक्दैन ? कुनै व्यक्तीको कला भाइरल भएको हो वा उसको हास्यास्पद अभिव्यक्ती भन्ने महत्वपूर्ण हुन्छ ।

भाइरल व्यक्तीका अगाडी तेर्सिएका बुम माइकहरु र पत्रकारको रुपमा देखिएका केही कन्टेन्ट क्रिएटरहरुको लक्ष्य भाइरल मानिसको कलालाई प्रस्फुटन गर्नु हो वा सनसनीपूर्ण शीर्षकमा भिडीओ बनाएर भ्युजको माध्यमबाट डलर कमाउनु मात्रै हो भन्ने हेर्नुपर्छ । पछिल्लो समय भाइरल हुने आशमा नेपालमै पनि एक किशोरले ज्यानै गुमाउन परेको सम्मको घटना देखापरेको छ ।

कुनै समय एकाएक भाइरल बनेका व्यक्ती जब आफ्नो वास्तविक धरातलमा फर्किन्छन्, उनीहरुको मनोदशामा के–कस्तो असर पर्छ होला ? वरिष्ठ मनोविश्लेषक बासु आचार्यका अनुसार एकपटक भाइरल बनिसकेका वयस्क मानिसहरु आफ्नो पुरानै दैनिकीमा जानुपर्दा सामन्यतया त्यति ठुलो असर नदेखिने भए तापनि साना बालबालिकामा भने पछिसम्म असर पर्न सक्ने प्रबल सम्भावना हुन्छ ।

‘एकपटक भाइरल भएका वयस्क मानिसहरु पुरानै जीवनयापनमा फर्किनु पर्दा मुड डाउन हुने झर्को लाग्ने किसिमका सामान्य असरहरु पर्न सक्ने हुनसक्छ । तर एक्कासी प्राप्त भएको फेमले बालबालिकालाई भने पछिसम्म असर पर्न सक्ने प्रबल सम्भावना हुन्छ । विशेषगरी स– साना बालबालिकाले आफ्नो उमेर बढ्दै जाँदा आफूले सानोमा प्राप्त गरेको एटेन्सनलाई ‘क्यास’ गर्न नसकेकोमा पछुतो मान्ने गर्छन् । जसको कारण उनीहरुमा एन्जाइटी डिप्रेशन सम्मका समस्याहरु पनि देखिन सक्छ । कुलतमा फस्ने हुन सक्छ ।’

उनी थप्छन्, ‘कुनै एउटा विन्दुमा गएर भाइरल मानिसले आफू के कारणले गर्दा भाइरल भएको छु भन्ने थाहा पाउँछ । त्यसपछि उसले त्यो कुरालाई ‘क्यास’ गर्न भरसक प्रयास गर्छ । उसमा वास्तवमा नै कला छ भने त्यो व्यक्ती आफ्नो क्षेत्रमा स्थापित हुन्छ । तर यदी कला छैन र उ फगतमै भाइरल भएको हो भने उ आफ्नो पुरानै जिन्दगीमा फर्केर जान्छ र पुन गुमनाम हुन्छ ।’

भाइरियालिटी पछाडीको विज्ञान र यसका सकारात्मक र नकरात्मक पक्षहरु चर्चा पश्चात अन्तिममा तपाईंलाई पुन एउटा प्रश्न– के तपाईंलाई भाइरल हुन रहर छ ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *