स्वेच्छाले सँगै बसेकी महिलाले पुरुषमाथि बलात्कारको मुद्दा हाल्न नसक्ने भारतीय सर्वोच्च अदालतको ठहर
काठमाडौं । भारतको सर्वोच्च अदालतले कुनै पुरुषसँग रिलेसनसीपमा रहेकी र स्वैच्छाले उसँग बसेकी महिलाले सम्वन्ध बिग्रिएपछि निज पुरुषविरुद्ध बलात्कारको मुद्दा हाल्न नसक्ने निर्णय सुनाएको छ । अदालतले यस्तै मुद्दामा फसेका एक आरोपिलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
एक महिलाले आफ्नो पूर्वप्रेमी विरुद्ध सर्वोच्च अदालतमा बलात्कारको मुद्दा दायर गरेकी थिइन् । अदालतले ती महिला र पुरुष ४ वर्षसम्म रिलेसनसीपमा रहेको तथा शारीरिक सम्वन्ध कायम भएको समयमा महिलाको उमेर २१ वर्ष पुगेकाले यो बलात्कार ठहर हुन नसक्ने जनाएको हो ।
‘वादी पक्ष आरोपीसँग स्वैच्छाले नै बसेको तथा प्रेम सम्वन्धमा रहेको तथ्य देखिएको हुँदा यदि त्यो सम्वन्ध टुटेको अवस्थामा निजविरुद्ध एफआइआर दर्ता हुन सक्दैन,’ सर्वोच्चको इजालासले भनेको छ ।
राजस्थान उच्च अदालतले गत मे १९ मा सुनाएको फैसला विरुद्ध अन्सार मोहम्मद नामका पुरुषले सर्वोच्चको ढोका ढक्ढाकाएका थिए । उच्च अदालतले मोहम्मदलाई धरौटीमा छोड्न अस्वीकार गरेको थियो । उच्च अदालतको आदेश उल्टाउँदै सर्वोच्चले मोहम्मदलाई धरौटीमा छोडेको हो ।
यद्यपि, यो आदेश धरौटीका लागि दिइएको निवेदनको हकमा मत्रै भएको इजलासले स्पष्ट पारेको छ ।‘यो आदेशले घटनाको अनुसन्धान भने प्रभावित हुने छैन,’ इजलासले भनेको छ ।
निवेदकले आफूलाई विवाहको आश्वासन राखेर मोहम्मदले शारीरिक सम्वन्ध राखेको आरोप लगाउँदै बलात्कारको मुद्दा दायर गरेकी थिइन् । आफूहरुबीचको सम्वन्धबाट एक बच्चा समेत जन्मिएको उनको भनाइ छ ।