गभर्नरविरुद्ध कांग्रेस र माओवादीका विद्यार्थीको संयुक्त आन्दोलन, २४ घण्टाभित्र बर्खास्त गर्न अल्टिमेटम (भिडिओ) – Nepal Press

गभर्नरविरुद्ध कांग्रेस र माओवादीका विद्यार्थीको संयुक्त आन्दोलन, २४ घण्टाभित्र बर्खास्त गर्न अल्टिमेटम (भिडिओ)

काठमाडौं । सत्तारुढ दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका विद्यार्थीहरू राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्न माग गर्दै संयुक्त आन्दोलनमा उत्रेका छन् । उनीहरूले गभर्नरलाई बर्खास्त गर्न २४ घण्टाको अल्टिमेटम दिए ।

गभर्नरविरुद्ध नेविसंघ र अखिल क्रान्तिकारीका कार्यकर्ता बालुवाटारमा घेराउ गर्न पुगेका थिए । त्यस क्रममा अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह र नेविसंघका अध्यक्ष डुजाङ शेर्पाले २४ घन्टाभित्र राजीनामा वा बर्खास्त नभएको खण्डमा गभर्नर बहिष्कार गर्ने तथा आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिएका हुन् ।

क्रान्तिकारी अध्यक्ष सिंहले एमालेका कार्यकर्ता एमप्रसाद अधिकारीले राष्ट्र बैंकको कुर्सीमा बसेर राष्ट्रको ढुकुटी दोहन गरिरहेको आरोप लगाइन् । एमाले पार्टी नै झूटको पुलिन्दा र जालझेलको अर्को नाम भएको उनको भनाइ छ ।

‘आजका दिनसम्म जनतालाई गुमराहमा राखेर, ऐनलाई छलेर एमालेका कार्यकर्तालाई देशको ढुकुटी सुम्पिएको छ । एमालेले अहिले खोटाङमा टर्च लगाएर एम अधिकारी खोजिरहेको छ । रातारात खडा गरिने डमी एम अधिकारी हामी खारेज गर्नेछौं । गभर्नरलाई बर्खास्त नगरिएसम्म सडक आन्दोलन निरन्तर अगाडि जानेछ,’ सिंहले भनिन् ।

उनले प्रधानमत्रीलाई शेरबहादुर देउवालाई गभर्नर अधिकारीलाई तत्काल बर्खास्त गर्न अपिल गरिन् ।

‘यो लज्जास्पद दृष्यले नेपाली जनताको शिर निहुरिएको छ,’ सिंहले भनिन्, ‘प्रधानमन्त्रीज्यू, उहाँलाई बर्खास्त गर्ने हिम्मत गर्नुस् । नेपाली जनताले तपाईंलाई सलाम गर्नेछ । अबको २४ घण्टामा अवैधानिक गभर्नर बर्खास्त नगरिए क्रान्तिकारी चुप लागेर बस्दैन । सडकमा आगो बाल्छौं ।’

नेविसंघका अध्यक्ष शेर्पाले देशको ढुकुटीको चाबी बोकेका गभर्नर अधिकारी राति-राति बालकोट दरबारमा गएर केपी ओलीसँग डिनर मिटिङ गर्दै कसरी सरकारलाई असफल बनाउने भन्ने षड्यन्त्रमा तल्लीन रहने गरेको आरोप लगाए । अर्थतन्त्रमा संकट ल्याएर सरकारलाई दोष थोपर्ने दाउपेचमा गभर्नर लागेको उनको दाबी छ ।

शेर्पाले भने, ‘अब हामी धेरै धैर्य गर्न सक्दैनौं । तत्काल गभर्नरले राजीनामा नदिएको खण्डमा उनलाई बहिष्कार गर्नेछौं । २४ घन्टाभित्र एम अधिकारीले राजीनामा नदिए वा बर्खास्त नभएमा आन्दोलनको आँधीबेहरी उराल्ने छौं ।’

उनले तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई बालुवाटारबाट लखेटेजस्तै गभर्नरलाई पनि लखेट्ने चेतावी दिए ।


प्रतिक्रिया

One thought on “गभर्नरविरुद्ध कांग्रेस र माओवादीका विद्यार्थीको संयुक्त आन्दोलन, २४ घण्टाभित्र बर्खास्त गर्न अल्टिमेटम (भिडिओ)

  1. तिमीहरूमाे बाउकाे पेवा हाे ? लुटेराका दासहरू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर