नेपालमा अनुवादका समस्या र निराकरणका उपायहरूबारे प्राज्ञमाझ विमर्श
काठमाडौं । नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (अनुवाद) विभागले ‘नेपालमा अनुवादका समस्या र निराकरणका उपायहरू’ विषयक विचार-गोष्ठीको आयोजना गरेको छ ।
गोष्ठीमा सहभागी वक्ताहरूले उत्कृष्ट अनुवादका लागि सिद्धान्तअनुसारको अभ्यास गर्नुपर्नेमा जोड दिए । कूलपति गङ्गाप्रसाद उप्रेतीले साहित्यको वैश्विक आदानप्रदानका लागि अनुवाद आवश्यक रहेको र नेपाली भाषा-साहित्यलाई विश्वस्तरमा लैजान नेपाल प्रज्ञा-प्रतिष्ठानले अनुवाद कार्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।
उनले भने, ‘चिनियाँ भाषाका साहित्यिक कृति नेपाली भाषामा र नेपाली भाषाका साहित्यिक कृति चिनियाँ भाषामा अनुवाद भइरहेको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदन दुई किसिमले चीनमा अनुवाद भइरहेको छ । सन् २०१९ मा बेइजिङमा भएको सम्मेलनले एसियाका प्राचीन ग्रन्थको अनुवाद गर्ने निर्णय गरेको थियो, त्यसअनुसार चीनले व्यवस्थित कार्यक्रम बनायो । जसमा एसियाका १६ देशका ग्रन्थ अनुवाद हुँदैछन् ।’
कुलपति उप्रेतीले विश्वेश्वरप्रसाद कोइरालाको कथासङ्ग्रह ‘दोषी चश्मा’, भानुभक्त आचार्यको ‘रामायण’, बाबुराम आचार्यको ‘नेपाल, तिब्बत र चीन’ चिनियाँ भाषामा अनुवाद भइरहेको जानकारी गराए । त्यस्तै नेपाली कविताको सङ्ग्रह ‘भ्वाइस अफ नेपाल’ पनि चिनियाँ भाषामा अनुवाद भएको तथा पाकिस्तान र बङ्गलादेशले पनि आफ्ना भाषामा अनुवाद गरिरहेको उप्रेतीले बताए ।
अनुवादलाई अझै गुणस्तरीय बनाउन तालिम र कार्यशाला आवश्यक छ भन्ने निष्कर्षमा प्रज्ञा-प्रतिष्ठान पुगेको विचार व्यक्त गर्दै विश्वेश्वरप्रसाद कोइरालाको उपन्यास ‘हिटलर र यहुदी’ इजरायलको प्रस्तावमा अङ्ग्रेजी भाषामा अनुवाद गरी हिब्रु भाषामा अनुवादका लागि पठाइएको उनको भनाइ छ ।
सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले अनुवादका काम वि.सं. २०१६ देखि गर्न थालिएकामा २०६६ सालमा साहित्य (अनुवाद) विभागको स्थापना भएपछि कामले अझ तीव्रता पाउन थालेको बताए ।
विभागका प्रमुख एवम् कार्यक्रम संयोजक प्रा.डा. उषा ठाकुरले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै साहित्यको वैश्विक प्रतिष्पर्धाका लागि अनुवाद आवश्यक रहेको बताए । वि.सं. २०७५ पछि २७ ओटा अनुदित ग्रन्थ तयार भएको जानकारी गराएका छन् ।
प्रा.डा. मोहन लोहनीले अनुवादकमा भाषाका साथै सांस्कृतिक ज्ञानको पनि आवश्यकता पर्ने भन्दै अनुवादको सिद्धान्त ग्रहण नगरी गरिएको अनुवादमा गुणस्तरीयता नहुने विचार व्यक्त गरे ।
सभाध्यक्ष प्रा.डा. अभि सुवेदीले अनुवादका लागि विश्व दृष्टिकोण आवश्यक पर्ने बताए ।
डा. बलराम अधिकारीले ‘नेपालमा साहित्य अनुवादका समस्या र निराकरणका उपायहरू’ विषयक गोष्ठीपत्र प्रस्तुत गर्दै अनुवादको व्यावसायिक सम्पादन नहुँदा गुणस्तरीयतामा ह्रास आएको बताए ।
कार्यक्रममा प्रा.डा. योगेन्द्रप्रसाद यादव, भाषा आयोगका सदस्य गोपाल अश्क, प्रा. डा. कुमारप्रसाद कोइरला, रामबहादुर पहाडी, विक्रममणि त्रिपाठी, सालिकराम तिमल्सिनालगायतले गोष्ठीपत्रमाथि जिज्ञासा राखेका थिए ।
कार्यक्रमको सहजीकरण प्राज्ञ सभा सदस्य शशी लुमुम्बूले गरेका थिए ।
अनुवाद एक अपरिहार्य बिषयको रुपमा देखिए तापनि यस सम्बन्धी तालिम तथा स्तरिय मापनको उपलब्धता सर्वविदित भएको देखिदैन। यसलाई सर्बसुलभ बनाऔं। धन्यवाद।