तारकेश्वर गाउँपालिकाले हटायो मन्दिर गुम्बाका पुजारीदेखि पुल हेरालुसम्म
काठमाडौं । नुवाकोटको तारकेश्वर गाउँपालिकाले मन्दिर गुम्बाका पुजारीदेखि पुलका हेरालुसम्मका अस्थायी करारमा कार्यरत कर्मचारीलाई हटाएको छ । गाउँपालिकाले शनिबार ‘कर्मचारीको म्याद थप नहुने सम्बन्धी जरुरी सूचना’ जारी गर्दै उनीहरुलाई हटाउने निर्णय गरेको जानकारी गराएको हो ।
अस्थायी करारबाट हट्नेमा स्वास्थ्यतर्फ सशर्त अनुदान तथा गाउँपालिका अनुदान अन्तरगत नियुक्ति भएका सबै अस्थायी करार कर्मचारी, आयुर्वेद औषधालयमा कार्यरत सशर्त अनुदान अन्तरगत नियुक्ति सबै अस्थायी करार कर्मचारी रहेका छन् ।
यस्तै अन्य सेवातर्फ संघीय सरकार तथा प्रदेश सरकारको सशर्त बजेट अनुदान बाट सेवा सुविधा प्राप्त गर्ने बाहेक समानिकरण अनुदान, राजस्व बाँडफाँड तथा आन्तरिक आम्दानीबाट सेवा सुविधा प्राप्त गर्ने गाउँ कार्यपालिका कार्यालयमा कार्यरत सबैकर्मचारी, वडा कार्यालयमा कार्यरत सबै कर्मचारी, अन्य विषयगत कार्यालयमा कार्यरत सबै कर्मचारी, अनुदान शिक्षकको रुपमा विभिन्न विद्यालयमा कार्यरत सबै शिक्षक, एम्बुलेन्स चालकसहित सबै सवारी चालक रहेका छन् ।
गाउँपालिका करार अवधि थप नभएका कर्मचारीले आफ्नो जिम्मामा रहेको जिन्सी सामग्री तत्काल कार्यालयको जिन्सी शाखमा बुझाउनसमेत सूचनामार्फत नै जानकारी गराउदैँ नबुझाए कानुन अनुसार कारवाही गर्ने चेतावनी पनि दिएको छ ।
‘तारकेश्वर गाउँकार्यकापालिकाको २०७९ असार ३२ गतेको निर्णय अनुसार यस गाउँपालिका अन्तरगत विभिन्न शाखा, वडा कार्यालय, स्वास्थ्य कार्यालय लगायतका कार्यालयलमा मिति २०७९ असार १ गते अघि नियुक्त भई कार्यरत अस्थायी करार कर्मचारीमध्ये देहाय बमोजिमका कर्मचारीको करार म्याद थप नहुने भनि निर्णय भएकाले मिति २०७९ साउन १ गतेबाट निजहरुलाई सम्बन्धित कार्यालयमा हाजिर नगर्नु÷नगराउनुहुन यसैसाथ सूचित गरिन्छ ।’ गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
यसैबीच नेकपा एमालेले भने आस्थाका आधारमा गठबन्धनबाट निर्वाचित जनप्रतिनिधिले पुजारीसमेत हटाएको भन्दै आपत्ति जनाएको छ । निर्णय फिर्ता नभए सशक्त प्रतिवाद गर्ने एमालेले जनाएको हो ।