तीन दिनको बसाइमा पनि माेदी भेट्न नपाएका प्रचण्ड भारत भ्रमणबाट किन यति उत्साही ?
काठमाडौं । तीन दिने भारत भ्रमणबाट फर्केपश्चात त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै गर्दा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आवश्यकताभन्दा बढी प्रफुल्लित देखिन्थे । उनी भ्रमणबाट साँच्चै अति उत्साहित भएका हुन् वा तीन दिनको बसाइमा पनि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भेट नदिएको लज्जा लुकाउन बनावटी खुशी देखाएका हुन् भन्ने चाहिँ स्पष्ट भएकाे छैन।
२० मिनेटभन्दा बढी पत्रकारसँग गफिएका प्रचण्डले यहाँ जहाज चढेदेखि फर्किएर जहाजबाट ओर्लिसम्मका एक–एक प्रसंग रिठ्ठो नबिराइ सुनाउने प्रयास गरे । कुन होटलमा खाएँ, कुन होटलमा सुतेँ भन्नेसम्म बताउन भ्याएका प्रचण्ड भ्रमण आफैंले सोचेभन्दा पनि फलदायी भएको बताए । तर, के फल प्राप्त गरे भन्ने चाहिँ खुलाएनन् ।
प्रचण्डले आफूलाई भारतले दिएको सम्मानको बयानमा लामो समय खर्चिएका थिए ।
‘एयरपोर्टबाट होटलमा जाने बेलामा भाजपा र सरकारको तर्फबाट जुन सम्मान र सुरक्षाको व्यवस्था गरियो, पहिले प्रधानमन्त्री भएर जाँदाभन्दा अहिल फरक लागेन । उस्तै उस्तै पाइयो,’ प्रचण्डले भने ।
भारतीय जनता पार्टीको कार्यालयमा जाँदा अझ भव्य सम्मान पाएको उनले बताए ।
केटाकेटीजसरी फुर्किँदै प्रचण्डले भने, ‘बडो भव्य स्वागत थियो त्यो । त्यहाँको सजावट हामीले सामान्य सोच्नेभन्दा बढी नै थियो । प्रधानमन्त्री मोदी, भाजपा अध्यक्ष जेपी नड्डा र मेरो फोटो राखिएका थिए । चारैतिर व्यानरहरु सजाइएको थियो ।’
प्रचण्डले भारतीय विदेशमन्त्री एस जयशंकरले आफूसँग भएको भेटबारे ट्विट गरेको विषयलाई ठूलै उपलब्धीजसरी चर्चा गरे ।
‘उहाँले मेरो भ्रमणबारे एकपल्ट होइन दुईपल्ट ट्विट गर्नुभएको छ,’ प्रचण्डले गर्व गर्दै सुनाए ।
भारतीय सुरक्षा सल्लाहकार अजित डोभलसँग डेढ–दुई घन्टा वान टु वान कुराकानी भएको उनले जानकारी दिए । डोभलसँगको भेटमा आफूले नेपाललाई भारतले बेच्ने तेल अलिकति सस्तो गरिदिन आग्रह गरेको प्रचण्डले बताए ।
‘मेरो भ्रमणका उपलब्धीहरु बिस्तारै देखिँदै जानेछन्, आजै तेलको मूल्य अलिकति सस्तो भएर आएको छ,’ प्रचण्डले डोभलसँग गरेको आग्रहकै कारण भारतले तेलको मूल्य घटाएर पठाएको घुमाउरो दावी गर्दै भने ।
प्रचण्डले सुनाएको अर्को रोचक सन्दर्भ थियो आरएएसको । उनले भाजपा र आरएसएसबीचको सम्वन्ध र अन्तर आफूले बुझ्ने अवसर पाएको भन्दै खुशी व्यक्त गरे । साथै, चिनिया कम्युनिष्ट पार्टीलाई उछिन्दै भाजपा विश्वकै सबैभन्दा ठूलो राजनीतिक दल बनेको आफूले यसै भ्रमणबाट थाहा पाएको उनले बताए ।
प्रचण्डले भने, ‘हामीले त ९ करोड सदस्य रहेको चिनीया कम्युनिष्ट पार्टीलाई विश्वको ठूलो मान्दै आएका थियौं । तर भाजपाले त १७ करोड सदस्य बनाइसकेको रहेछ,’ प्रचण्डले भने ।
प्रचण्डले यसपाली भारतीय मिडियाले पनि आफ्नो भ्रमणलाई उत्साहबर्द्धक तरिकाले कभर गरेको दावी गरे । तर, नेपालमा चाहिँ एउटा भारतीय अखबारले ‘गिडगिडाए प्रचण्ड’ भन्ने हेडलाइनमा प्रकाशित गरेको समाचार भाइरल भइरहेको छ ।
प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न नपाएको प्रसंग निकै लाचार तरिकाले सुनाएका थिए । प्रचण्डका अनुसार मोदीलाई भेट्न भनेर होटलबाट हिँडिसकेपछि भेट्न सम्भव नरहेको खबर उनलाई आएको थियो ।
‘किन सम्भव भएन भन्ने मलाई जानकारी छैन,’ प्रचण्डले दयनीय हाँसो हास्दै भने, ‘तपाईंहरु जस्तो म पनि त्यस्तै ।’
उपलब्धी के ?
भारतीय प्रधानमन्त्रीलाई भेट्न नपाउँदा पनि प्रचण्डले आफ्नो भ्रमण सोचेभन्दा फलदायी र उपलब्धीपूर्ण बनेको दावी गरेका छन् । के हिसाबले फलदायी भयो त उनको भ्रमण ? त्यो फल उनले मात्रै पाउने हुन् ? उनको पार्टीले पाउने हो वा सिंगो देशले पाउने हो ?
देशले फल पाउने गरी प्रचण्डले यो भ्रमणबाट कुनै उपलब्धी हासिल गरेको जस्तो देखिँदैन । पार्टी र व्यक्तिगतरुपमा फल पाउने हुन् भने चाहिँ आगामी दिनहरुमा देखिन सक्छ ।
प्रचण्डको भारत भ्रमण नेपालको आगामी राजनीतिक दिशाबारे सेटिङ मिलाउनका लागि तय भएको चर्चा नेपालमा भइरहेको छ । केही मिडियामा प्रकाशित गसिप न्यूज अनुसार आगामी चुनावपछि प्रचण्ड र आरजु राणा आधा आधा कार्यकाल प्रधानमन्त्री र शेरबहादुर देउवा राष्ट्रपति बन्ने गरी भारतले सेटिङ मिलाउन खोज्दै छ रे । यद्यपि, यो अपुष्ट गसिप हो । आरजु पनि भारतमै भएको बेला प्रचण्ड त्यहाँ पुग्नु एउटा संयोग मात्रै हुन सक्छ । प्रचण्डले आरजु उपचारका लागि त्यहाँ बसेको बेला आफूले ‘कर्टसी’ का लागि मात्रै उनसँग भेटेको प्रष्टीकरण दिएका छन् ।
भ्रमणबाट प्रचण्डले के उपलब्धी हासिल गरे वा गरेनन् भन्नेमा देशको ठूलो चिन्ता होइन । तर, नेपालको एउटा भुतपूर्व प्रधानमन्त्री र सत्तारुढ दलको अध्यक्षले छिमेकी देश जाँदा त्यहाँको प्रधानमन्त्री भेट्नसमेत नपाउनु चाहिँ राष्ट्रिय लज्जा हो । यसले देशकाे हैसियत उदांगाे बनाइदिएकाे छ । भारतबाट एउटा सहसचिव नेपाल आउँदा पनि शीतलनिवसदेखि बालुवाटारसम्मका सबै द्वार एकैपटक खुल्ने गरेका छन् । नेताहरु लाइन लागेर उसलाई भेट्न होटल पुग्छन् । तर, नेपालको एउटा शीर्ष नेताले तीन दिन भारतमा बसेर पनि प्रधानमन्त्री भेट्न नपाइ फर्किएका छन् । र भन्दैछन्, गज्जबको सम्मान पाएँ ।
हाम्रो गाउँ घरमा काटन ठिक्क पारिएको खसिलाई पर्साउने चलन छ। पुस्पकमल जि तपाईलाई पनि अब भारतले राजनैतिक रुपमा सिध्याउन पर्साएको होकि?
१. पत्रकारिताको धर्म भनेको कसैलाई उछाल्ने वा ब्यांङग्य गर्ने होइन ।
२. सकिन्छ, वास्तविक समचार दिने सकिन्न, बरु समचार नै नलेख्ने । स्पेस नै नदिने ।
३. यो नेपाल प्रेस अनलाई खबर त वलीबाको अन्धभक्त र एमालेको मात्र उजागर गर्ने अनलाईन खबर हो भन्ने स्पष्टै बुझिन्छ । समचारले मात्रै पार्टी एमाले बच्ने होर ? नेता र नेतृत्व हुनु पर्यो नी अलि जनमूखी ।
४. खुरापाति र बा प्रवृति नै हावी भएका पत्रकार, कार्यकर्ता छन् । अनि यो समचारले मात्रै जनतालाई दिउँसै रात पार्न सक्छ त ?
५. यस्ता अनलाईन पत्रिकाहरु धेरै छन् । वास्तविकता बुझ्ने हैसियत नेपाली जनताले बनाएका छन् ।
भारतले एक नम्बरकाे आदेशपालकमा दर्ज गरिदिएकाेले हाेलानि त खुशी ।
भारतले एक नम्बरकाे आदेशपालकमा दर्ज गरिदिएकाेले हाेलानि त खुशी । नेपाललाई राम्राे हुने केही काम गर्न भारतले दिंदैन । त्याे जगजाहेर छ । याे किन खुशी भयाे हाेला भने नेपालमा भाडभैलाे मच्चा, हाम्राे लागि दलाली गर तलाई प्रधानमन्त्री पनि बनाईदिउँला भन्याे हाेला भारतले अनि हाैसियर आएकाे हाे । तर यसले के बुझेन भने भारतले यस्ता पिपलपातेकाे धेरै भर गर्दैन । प्रयाेग गर्छ फालिदिन्छ ।