डिएसपीले धकेलेर पौडीपोखरीमा डुबेका वडाअध्यक्ष भन्छन्ः यो भन्दा अन्याय के हुन्छ – Nepal Press

डिएसपीले धकेलेर पौडीपोखरीमा डुबेका वडाअध्यक्ष भन्छन्ः यो भन्दा अन्याय के हुन्छ

रूपन्देही । आइतबार तिलोत्तमा नगरपालिकाको नगरसभामा गएका वडाध्यक्षलाई धकेलेर पौडीपोखरीमा डिएसपीले डुबाएपछि उनी आक्रोशित भएका छन् । जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतको बीचमा विवाद बढ्दै गएपछि उत्पन्न परिस्थितिलाई साम्य पार्न गएको प्रहरीले जनप्रतिनिधिलाई हातपात र दुर्व्यवहार गरेको भन्दै वडाध्यक्ष हरिबहादुर क्षेत्रीले यहाँभन्दा अन्याय के हुन्छ भनेर प्रश्न गरेका छन् ।

गत शुक्रवारदेखि नै नगरसभाको विषयमा एमाले र नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुका बीचमा विवाद उत्पन्न हुँदै आएको थियो। नेपाली कांग्रेसबाट निर्वाचित नगरप्रमुख रामकृष्ण खाँड र अरु जनप्रतिनिधिले नगरसभाबाट बजेट मात्रै पास गर्ने र एमालेबाट निर्वाचित उपप्रमुख र अरु जनप्रतिनिधिले बजेटसँगै न्यायिक समिति, लेखा समिति, विधायन समिति र सुशासन समितिसमेत गठन गर्नुपर्ने अडान लिएपछि विवाद उत्पन्न हुँदै आएको थियो।

आइतबारको बैठकमा आफुहरुलाई उपस्थिति पुस्तिकामा हस्ताक्षर गर्न रोक लगाएको भन्दै आक्रोशित बनेका एमालेका जनप्रतिनिधिहरुले प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीलाई घेरा हालेर नियन्त्रणमा लिन खोजेपछि उद्वारको लागि प्रहरी परिचालन गरिएको थियो।

नगरसभास्थलमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक रविन्द्र पौडेल र ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरिक्षक ठगबहादुर केसीको नेतृत्वमा पुगेको प्रहरी टोलीले प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीलाई लैजाने क्रममा प्रहरीले आफुहरुमाथि हातपात र दुर्व्यवहार गरेको एमालेका जनप्रतिनिधिहरुले बताएका छन्।

तिलोत्तमा नगरपालिका वडा नंं ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले नगरसभा भईरहेको होटलको स्वीमिङ पुलमा हुत्याएर फालिदिएको भिडियोसहितको समाचार नेपाल प्रेसमा आएको थियो ।

प्रशासकीय अधिकृत ज्ञवालीलाई रोक्न पुगेका क्षेत्रीलाई प्रहरी नायब उपरीक्षक केसीले लछारपछार गर्दै स्वीमिङ पुलमा फालिदिएका थिए। वडा अध्यक्ष क्षेत्रीले नागरिकको जिउज्यानको सुरक्षामा खटिनुपर्ने प्रहरी आफै जनप्रतिनिधिमाथि जाईलाग्नु दुखदायी भएको बताए। ‘डिएपी ठगबहादुर केसीले मलाई लछारपछार गर्दै लात्तीले धकेलेर पोखरीमा फालिदिनुभयो, जनताको सुरक्षामा खटिनुपर्ने प्रहरीलाई जनप्रतिनिधीमाथि हातपात गर्न र जाईलाग्ने अधिकार कस्ले दियो?’ क्षेत्रीले भने।

नेकपा एमालेका प्रदेश कमिटी सदस्य एवं तिलोत्तमा नगरपालिकामा नगरप्रमुखका प्रत्यासी समेत रहेका मोहन चापागाईले प्रहरी नायब उपरीक्षक केसीले क्षेत्रीमाथि ज्यादति गरेको बताए। चापागाईले वडाअध्यक्ष क्षेत्री मुटुका बिरामी रहेको र केही समय अगाडि गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा अपरेशन गरेर आएको बताए। ‘डिएपी केसीले जनप्रतिनिधीलाई लछारपछार गर्दै पोखरीमा फालेर आफ्नो पदिय मर्यादा विपरित काम गर्नुभएको छ।’ चापागाईले भने।

चापागाईले गृहमन्त्री बालकृष्ण खाणको गृहनगरमा भएको ताण्डवनृत्यले तिलोत्तमावासीलाई आश्चर्यमा पारेको बताए। ‘प्रशासनको आडमा भएको यो खालको गलत कामले नगरलाई कहाँ पुराउँछ ? गृहमन्त्रीको आडमा यस्ता दम्भले नगरको विकास गर्दैन, दोषीलाई तत्काल कारबाही गरियोस्,’ उनले भने ।

प्रहरी नायब उपरिक्षक केसीले वडा अध्यक्ष क्षेत्रीमाथि गरेको ज्यादतीप्रति एमालेका अन्य जनप्रतिनिधिले चर्को विरोध गरेका छन्। तर डिएसपी केसीले प्रमुख प्रशासकीय अधिकृतलाई जोगाउन जाँदा भएको सामान्य विषय बताएका छन् । प्रहरीले सबैलाई सुरक्षा दिनुपर्ने दायित्व हो, हामी त्यसैका लागि गएका हौं,राजनीति विषयमा प्रहरीलाई जोडेर विवादमा तान्नु राम्रो होइन, उनले भनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *