को बन्ला भारतको नयाँ राष्ट्रपति ?
काठमाडौं । भारतको १५औँ राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदैछ । निर्वाचनमा सत्तारुढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) की साझा उम्मेदवार द्रौपदी मुर्मु र विपक्षी दलका यशवन्त सिन्हाबीच प्रतिस्पर्धा हुँदैछ ।
संसदको बर्खे अधिवेशनको पहिलो दिन निर्वाचन हुँदैछ । सन् २०१७ को राष्ट्रपति चुनावअघि देशको सर्वोच्च पदको लागि ६४ वर्षीय मुर्मु एक बलियो दाबेदार थिइन् । त्यति नै बेला बिहार राज्यपाल तथा दलित नेता राम नाथ कोविन्दलाई उक्त पदमा छनौटका लागि प्रस्ताव गरिएको थियो ।
ओडिशाकी आदिवासी तथा झारखण्डकी पूर्वगभर्नर मुर्मुलाई झारखण्डको सत्तारूढ झारखण्ड मुक्ति मोर्चाको पनि समर्थन छ । मुर्मुलाई बिहारका मुख्यमन्त्री नितिश कुमारले पनि समर्थनको आश्वासन दिएका छन् ।
त्यस्तै, शिवसेनाका दुवै गुटहरूले पनि उनलाई समर्थन गर्ने अपेक्षा गरिएको छ । भाजपासँग गठबन्धन गरेको एकनाथ शिन्दे नेतृत्वको गुट र उद्धव ठाकरेको नेतृत्वमा रहेको गुटले पनि उनलाई समर्थन गरिरहेको छ ।
ठाकरे गुटका १६ सांसदहरूले उद्धव ठाकरेलाई भेटेर मुर्मुलाई मतदान गर्न सुझाव दिएका छन् ।