चौकुने गाउँपालिकाको ७१ लाख कोरोना भत्ता फ्रिज ! – Nepal Press

चौकुने गाउँपालिकाको ७१ लाख कोरोना भत्ता फ्रिज !

सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिकाको ७१ लाख १४ हजार रुपैयाँ कोरोना भत्ता रकम फ्रिज भएको छ । गाउँपालिकाले ७१४ जना नागरिकले प्रतिव्यक्ति दश हजार पाउने कोरोना भत्तावापतको रकम फ्रिज गराएको हो ।

गाउँपालिकामा अघिल्ला जनप्रतिनिधिले जनसंख्या हेरेर कोरोनाबाट प्रभावित अति विपन्न परिवारको नाम छनोट गरी भत्ताका लागि पालिकामा पेश गरेका थिए । वडा अध्यक्षहरुले गरेको सिफारिसको आधारमा एउटा वडाबाट कम्तिमा ६० र बढीमा ७० जना व्यक्ति छनोट गरिएको थियो । यसरी छनोट भएका ७१४ जनाले गुटुस्थित लक्ष्मी बैंकमा खातासमेत खोलेका थिए । तर, पालिकाले अन्तिम समयमा उक्त बजेट फ्रिज गराएको थियो ।

‘लगामबाट गुटु आउन एकदिन लाग्छ । मैले राज्यले दश हजार दिने भनेपछि बैंक खाता खोल्दा तीन हजारभन्दा बढी रकम खर्च गरें । तर, अन्तिममा आएर गाउँपालिकाले हामीलाई पैसा दिएन’, एक सेवाग्राहीले भने, ‘उहाँहरुले कागजात धेरै माग्नुभएको थियो । सोहीअनुसार बुझाउँदा पनि पालिकाले हामीलाई धोका दियो ।’

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गगन पाण्डेले उक्त बजेट फ्रिज भएको बताए । ‘केन्द्रबाट आएको कार्यविधिविपरीत हामीले भुक्तानी दिँदा भोलि बेरुजु आउने र असुल गर्न समस्या हुने भएका कारण सो रकम फ्रिज गराएका हौं’, उनले भने ।

उनले पहिले कुन आधारमा नाम स्वीकृत गरिएको हो र अहिले किन भत्ता अस्वीकृत गरियो भन्ने प्रश्नको भने जवाफ दिएनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर