वडाध्यक्षलाई पौडीपोखरीमा फ्याँकेको घटनामा प्रहरी मुख्यालयको चासो
यथार्थ जानकारी गराउन रुपन्देही प्रहरीलाई निर्देशन
रुपन्देही । रूपन्देहीको तिलोत्तमा नगरपालिका- ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई बर्दीधारी डीएसपीले पौडीपोखरीमा धकेलेको घटनामा प्रहरी मुख्यालयले चासो लिएको छ ।
रुपन्देहीका एसपी रविन्द्र रेग्मीसँग घटनाको यथार्थ विवरण तत्काल जानकारी गराउन भनिएको प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले नेपाल प्रेसलाई बताए । ‘हामीले घटनाको विषयमा यथार्थ विवरण पठाउन भनेका छौं । त्यसपछि के गर्ने हो थप प्रक्रिया अघि बढ्छ’, राईले भने ।
आइतबार इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई लतारेर पौडीपोखरीमा फ्याँकेका थिए । उक्त भिडिओ अहिले भाइरल भएको छ ।
आइतबार बोलाइएको नगरसभा गणपुरक नपुगेको भन्दै मेयरले स्थगित गरेपछि विवाद बढेको थियो । नेकपा एमालेका जनप्रतिनिधिले नगरसभा स्थगितको विरोधमा प्रदर्शन गरेका थिए ।
एमालेले गृहमन्त्रीको आडमा प्रहरी प्रशासन लगाएर आफूहरूमाथि दमन गरेको आरोप लगाएको छ ।