वडाध्यक्षलाई पौडीपोखरीमा धकेल्ने डीएसपीमाथि कारबाही होस् : खिमलाल भट्टराई
काठमाडौं । रुपन्देहीको नगरसभामा विवाद हुँदा डीएसपीले वडाध्यक्षलाई पौडीपोखरीमा धकेलेको विषयले सदनमा पनि चर्चा पाएको छ । नेकपा एमालेका राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नगरसभामा प्रहरीबाट ज्यादती भएको भन्दै डीएसपीलाई कारबाही गर्न माग गरेका छन् ।
राष्ट्रियसभाको सोमबारको बैठकमा भट्टराईले घटनामा डीएसपीले वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई पोखरीमा धकेलेको देखिएको भन्दै तिलोत्तमा प्रकरणको अनुसन्धान हुनुपर्ने र सदनलाई सत्यतथ्य जानकारी गराउनुपर्नेमा जोड दिए ।
संघीयतालाई बलियो बनाउनेभन्दा पनि कमजोर बनाउने गरी सरकारले गतिविधि गरिरहेको उनको टिप्पणी छ ।
त्यस्तै, नागरिकताको विषय धेरै गम्भीर भएको भन्दै भट्टराईले यसलाई द्रुत गतिबाट छिटो टुङ्गो लगाउनुपर्ने धारणा व्यक्त गरे ।