सुदखोरबाट भागेर काठमाडौंमा होटल चलाउँदै सिरहाकी बिनिता, भात बेचेर कसरी तिर्लिन् २४ लाख ? (भिडिओसहित) – Nepal Press
मिटर ब्याजको पासो- ५

सुदखोरबाट भागेर काठमाडौंमा होटल चलाउँदै सिरहाकी बिनिता, भात बेचेर कसरी तिर्लिन् २४ लाख ? (भिडिओसहित)

१२ लाखको २४ लाख असुल गर्न खोजेका मोतीले बेइज्जत गरेपछि डेढ महिनाअघि बेपत्ता भएकी थिइन् ।

काठमाडाैं । सिरहाकाे औरही गाउँपालिका- ४ इँटाटारकी बिनिता यादव केही समयअघि घरबाट अचानक बेपत्ता भइन् । कसैलाई खबरै नगरी बिनिता बेपत्ता भएपछि परिवार उनको खोजीमा लाग्यो । तर, उनीहरुले कुनै मेसो पाउन सकेनन् कि बिनिता कता गायब भइन् !

बिनिताका श्रीमान् दिनेश यादवले ससुरालीमा पनि खोजखबर गरे । त्यहाँ पनि बिनिता नभएको खबर पाएपछि निराश दिनेशको केही जोर चलेन । एक न एक दिन त भेटिएलिन् भनेर प्रतीक्षामा बस्न थाले ।

दिनेशले श्रीमती हराएको भनेर प्रशासनमा उजुरबाजुर गर्न पनि सकेनन् । यसको एकमात्रै कारण हो, सुदखोर मोती यादव । भूतपूर्व शिक्षक मोतीले दिनेशलाई केही वर्षअघि ८ लाख रुपैयाँ ऋण दिएका थिए । केही समयपछि ४ लाख रुपैयाँ पनि थपिदिए । उक्त पैसा दिनेश-बिनिताले अर्को सुदखोरबाट जग्गा फुकुवा गर्न लिएका थिए ।

ऋण तिर्न दिनेश कतार उडे । सामान्य श्रमिकको हैसियतमा २०७६ सालमा कतार पुगेका दिनेशले १२ लाख त के, एक लाख पनि राम्रोसँग कमाउन सकेनन् । र, विदेश जाँदा म्यानपावर र एजेन्टलाई बुझाएको पैसा पनि ऋणमै राखेर नेपाल फर्के ।

दिनेश-बिनिताले १२ लाख ऋणका लागि १५ कठ्ठा जमिन दृष्टिबन्धक राखेका थिए । बाँकी केही जग्गा कृषि विकास बैंकमा राखेर पनि ऋण लिएका थिए । १५ कठ्ठा मोती यादवलाई कागज गरेर दिएपछि जग्गा बिक्री वितरण गर्न नपाउने अवस्थामा थिए ।

समय बित्दै गयो, ऋणको ब्याज बढ्दै आयो । तीन वर्षपछि मोतीले दिनेशको घरमा सम्पूर्ण हिसाबको तमसुक पछारे । तमसुकमा १२ लाखको २४ लाख लेखिएको थियो । मोतीले कागजमा पछारेको हिसाबको पैसा तिर्ने अवस्थामा दिनेश-बिनिता थिएनन् । उनीहरुले प्रस्ताव गरे, ‘हाम्रो जग्गा फुकुवा गरिदिनुस् । हामी जग्गा बेचेर तपाईंको ऋण तिर्छौं ।’

दिनेश-बिनिताको प्रस्ताव सुदखोर मोतीले माने । तर, जग्गा फुकुवा गरेनन् । दिनेशले जग्गा किन्ने मान्छे पनि लिएर आए । प्रतिकठ्ठा ६ लाखका दरले बेच्दा ४ कठ्ठामात्रै बेचे मोतीको ऋण तिर्न पुग्ने थियो । दिनेश सुनाउँछन्, ‘तर, मैले खोजेको मान्छेलाई मोती आफैंले भेटेर ३ लाख रुपैयाँ कठ्ठामा जग्गा बेच्ने अफर दिए ।’

जति पनि जग्गा किन्ने मान्छे भेटेँ, तिनलाई मोतीले भाँडिरहे । यसपछि त मोतीलाई झनै के चाहियो ! जग्गा बेच्न नसकेपछि घरमा आएर बिनितालाई ‘घर खाली गर्नू, नत्र जेलमा पुर्‍याइदिन्छु’ भनेर धम्की दिन थाले । सम्पूर्ण जग्गा आफ्नो नाममा आइसकेको र छिटो खाली गर्न ताकेता गर्न थाले । यदि यसो नगरे जेल हाल्ने, प्रहरी ल्याएर हत्कडी लगाउनेलगायत धम्की दिए ।

मोतीका हर्कत यत्तिमै सीमित भएन । दिनेश-बिनिताले अर्को ठाउँको जग्गा कृषि विकास बैंकमा राखेका थिए । उक्त जग्गामा १५-१६ वटा आँपका बोट थिए । त्यसमध्ये गएको सिजनमा ३-४ वटा बोटमा आँप फलेका थिए । मोती र उनका मतियारले दिनेश-बिनितालाई आफ्नै खेतको आँप टिपेर खान पनि दिएनन् । अन्ततः बेइज्जतीको पराकाष्ठा नाघेपछि बिनिता एक रात घरबाट अलप भइन् ।

उनीहरुको दुःखको कथा यहीँ सकिँदैन ।

बेपत्ता भएको डेढ महिनापछि बिनिताले श्रीमान् दिनेशलाई अचानक सम्पर्क गरिन् । र, आफू काठमाडौं आएको जानकारी दिइन् । दिनेशलाई पनि काठमाडौं आउनू भनिन् । दिनेश बस चढेर काठमाडौं हुइँकिए । दिनेशलाई गौशालामा लिन बिनिता नै पुगिन् । डेढ महिनापछि श्रीमान्-श्रीमतीको भेट भयो ।

डेढ महिनासम्म सम्पर्कविहीन बिनिताले काठमाडौंमा सानो सटर भाडामा लिएर खाना खाने होटल सुरु गरेकी थिइन् । सानो होटलमा बिहान-बेलुका भात पकाएर बेच्थिन् । अन्ततः दिनेश पनि त्यही पुगे ।

आफ्नी श्रीमतीले काठमाडौं जस्तो अञ्जान सहरमा आएर व्यापार गरेको देख्दा दिनेशका आँखामा आँसु थामिएको थिएन । अहिले दुई महिना ज्यादा भइसक्यो, दुवैले होटल चलाइरहेका छन् । तर, जति नै राम्रोसँग होटल चलाए पनि सुदखोर मोतीको २४ लाख ऋण तिर्न सकिँदैन भन्ने उनीहरुलाई थाहा छ ।

हाम्रो सम्पर्कमा आएका उनीहरु दुवैले एउटै माग राखेका छन्, ‘आफ्नो जग्गा आफैंले बिक्री गरेर मोती यादवको ऋण तिरिपाउँ ।’ तर, उनीहरुले सोचेजस्तो सहज नभएकाले दुवै निराश छन् ।

दुवैले अश्रुधारा बगाउँदै हामीलाई भने, ‘त्यो पुर्खाले दुःख गरेर जोडेको जग्गाको याद आउँछ । त्यो जग्गा मोतीले खाइदिन लागेका छन् । गाउँभरि पनि हाम्रो बेइज्जत गरेर बसेका छन् । अब कसरी गाउँ जाने र सुदखोर मोतीसँग लड्ने, केही सोच्न सकेका छैनौं । यहाँ भात बेचेर त्यत्रो २४ लाख तिर्न कसरी सक्नू !’

यी पनि पढ्नुहाेस्ः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर