महानगरले पहिलोपटक आफ्नै पैसाले किन्यो दमकल, पानी नहुँदा पनि आगो निभाउने प्रविधि
यस वर्ष थप ३ वटा खरिद गर्ने योजना
खरिदको लागि टेन्डर आव्हान भएको एक वर्षपछि तीन वटा दमकल काठमाडाैं आइपुगेकाे छ । इन्डोनेसियाबाट खरिद गरिएका यी दमकल आधुनिक प्रविधिले सुसज्जित रहेको बताइएको छ ।
महानगरका पूर्वमेयर विद्यासुन्दर शाक्यको पालामा गत वर्ष दमकल खरिदको प्रकिया अघि बढेको थियो । सबै प्रक्रिया पुरा गर्दा दमकल ल्याउन ढिला भएको काठमाडौं महानगरपालिकाका विपद व्यवस्थापन विभागका निर्देशक रविनमान श्रेष्ठले बताए ।
उनले नेपालप्रेससँग भने, ‘यो एक वर्ष अगाडिको टेन्डर हो । सबै प्रकिया पुरा गरेर अहिले आइपुगेको हो ।’दमकल कतिमा खरिद गरेको हो भनेर एकिन हिसाब गरिनसकेको उनको भनाइ छ ।
श्रेष्ठका अनुसार तीनवटा दमकलको पाँच लाख डलरमा खरिद सम्झौता भएको थियो । सम्झौताअनुुसार ३ वटा दमकल खरिद गर्न ६ करोड रुपैयाँभन्दा बढि खर्च भएको छ । एउटाको दुई देखि साढे २ करोड रुपैयाँ पर्न गएको उनले बताए । दमकल ल्याउँदा लाग्ने करहरुको हिसाब गर्न बाँकी रहेको उनको भनाइ छ ।
नयाँ दमकलले १० तलासम्मको आगो निभाउने क्षमता राख्छ । दमकलमा बत्ति र फोमहरु छन् । पानी नभएको बेलामा पनि फोमबाट आगो निभाउन सकिनेछ भने साँघुरो गल्लीमा पनि सजिलै आगो निभाउन सकिन्छ ।
यसअघि महानगरसँग ८ वठा पुराना दमकल रहेकोमा ३ वटा मात्रै सञ्चालनमा थिए । अरु विग्रेर थन्केका छन् ।श्रेष्ठले भने, ‘पहिला त हामीकहाँ पुरानो पुरानो दमकल मात्र थियो । सबै डोनेसनमा आउथ्यो र आउने वित्तिकै विग्रिन्थ्यिो । ’
महानगरले यो वर्ष पनि दमकल खरिदको लागि १२ करोड रुपैयाँ बजेट छुट्याएको छ । काठमाडौंलाई ९ वटा दमकल आवश्यक पर्ने महानगरको अनुमान छ । यसै वर्ष थप ३ वटा दमकल खरिद गर्न सकिने श्रेष्ठ बताउँछन् ।
काठमाडौंमा आगलागीको घटना भइहाले दमकल समयमै पुग्न नसक्ने अवस्था छ । भएका दमकलहरु पनि विग्रिएर थन्किदा अन्य पालिकाबाट दमकल निभाउने गरिएको छ । अब यस्तो समस्या टर्ने विश्वास महानगरका अधिकारीहरुले लिएका छन् ।
१५ दिन भित्रमा दमकल सञ्चालनमा ल्याउने श्रेष्ठको दाबी छ । उनी भन्छन्, ‘कम्पनीबाट शनिबार मान्छे आउँछ भनेको छ । उनीहरुले यहाँका अपरेटरहरुलाई सिकाउँछन् । त्यसपछि १० १५ दिनमा शुरु हुन्छ होला । तर इमरजेन्सी नै पर्यो भने त चलाउनु परिहाल्यो ।’