स्वदेश फर्किएर सन्दीपले भने- ‘पोटेन्सियल’ अनुसार खेल्न सकेनौं, समर्थकको गाली स्वीकार्य छ – Nepal Press

स्वदेश फर्किएर सन्दीपले भने- ‘पोटेन्सियल’ अनुसार खेल्न सकेनौं, समर्थकको गाली स्वीकार्य छ

काठमाडौं । विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय सिरिज खेलेको नेपाली क्रिकेट टिम आज स्वदेश फर्किएको छ ।

त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कप्तान सन्दीप लामिछानेले नेपालले आफ्नो क्षमताअनुसार खेल्न नसकेको स्वीकार गरे ।

‘हामीले र खेलेकै हो, म कुनै बहानाबाजी गर्न चाहन्नँ,’ उनले भने, ‘तर, यो टिमसँग धेरै पोटेन्सियल छ र धेरै राम्रो गर्न सकिन्छ । हामीले आफ्नो लेभलमा खेल्न सकेनौं ।’

उनले सबैले आ–आफ्नो गल्तीलाई महसुस गरेर सुधार गर्नुपर्नेमा जोड दिए । समर्थकहरुले गरेको नकारात्मक टिप्पणीलाई आफूले सहजताका साथ लिएको सन्दीपको भनाइ छ ।

‘हामीले राम्रो गर्दा ताली खान्छौं भने नराम्रो गर्दा गाली खान पनि तयार रहनुपर्छ,’ उनले भने, ‘उहाँहरुसँग हामीलाई गाली गर्ने हक छ ।’

सन्दीपले अहिलेको खराब प्रदर्शनको दोष प्रशिक्षकलाई मात्रै दिन नहुने बताए । मैदानमा गएर खेलाडीहरुले खेल्ने भएकाले मुख्य जिम्मेवारी खेलाडीकै हुने उनको भनाइ छ ।

‘ब्याटिङको समस्या नेपालको पुरानै हो, कोचलाई मात्र दोष दिएर हुँदैन,’ उनले भने, ‘नेपाललाई यहाँसम्म ल्याउनुमा उहाँको पनि ठूलो योगदान छ ।’

सन्दीपले नेपालको ओडीआई स्टाटस बचाउन र विश्वकपमा छनोट हुन मात्र नभएर नेपाली क्रिकेटलाई जोगानका लागि पनि आफूहरुले राम्रो प्रदर्शन गर्नुपर्ने सन्दीपले बताए ।

टिममा धेरै युवा खेलाडीहरु रहेको भन्दै उनीहरुको क्षमतामा शंका नरहेको उल्लेख गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *