एमालेले भन्यो- स्वास्थ्य बीमा पूर्ववत् व्यवस्थाअनुरूप नै सुरू गर
काठमाडौं । नेकपा एमालेले विभिन्न अस्पतालबाट बन्द गरिएको स्वास्थ्य बीमा कार्यक्रमलाई सुचारू गर्न माग गरेको छ ।
एमालेले सेवा प्रदायक संस्थाबाट हुनसक्ने गलत क्रियाकलापमाथि निगरानी र अनुगमन गर्दै पूर्ववत् व्यवस्थाअनुरूप नै स्वास्थ्य बीमा कार्यक्रमलाई सुचारू माग गरेको हो ।
एमालेको प्रमुख स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले बुधबार एक विज्ञप्ति जारी गर्दै वर्तमान सरकारले २०७९ ०८० को बजेट वक्तव्यमार्फत् स्वास्थ्य बीमालाई नियोजित गर्ने षड्यन्त्र गरेको एमालेले आरोप लगाएको छ ।
उक्त बजेट वक्तव्यको १५१ नं। बुंदामा स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन लाभग्राहीहरूलाई सामुदायिक तथा सरकारी अस्पतालहरूबाट मात्र उक्त सेवा प्रदान गर्ने व्यवस्था मिलाइनेछ । यसका लागि सबै सामुदायिक तथा सहकारी अस्पतालहरूमा सामाजिक स्वास्थ्य इकाइ स्थापना गरिनेछ । स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाउन बीमा कम्पनीमार्फत सञ्चालन गर्न आवश्यक तयारी गरिनेछ’भनी उल्लेख गरिएको छ ।
सरकारको यो नीतिले एकातिर बीमा प्रदायक संस्थाको संख्या घटाएर सहज पहुँचबाट टाढा राख्ने र अर्कोतिर सामाजिक स्वास्थ्य बीमामा निजी कम्पनीहरू प्रवेश गराई सरकार आफनो दायित्वबाट पन्छने षड्यन्त्र गरेको एमालेको ठहर छ ।
साथै एमालेले संघीय संसदमा भएको छलफलमार्फत् उक्त नीति खारेज गरी बजेट वक्तव्यमार्फत् आएको जनविरोधी नीति फिर्ता लिन समेत आग्रह गरेको छ ।