ओलीको कटाक्ष: अर्काको पात जम्मा गरेर डोकामा हाल्नेले एमालेको वनै समाप्त पार्‍यौं भन्दैछन् (भिडिओ) – Nepal Press

ओलीको कटाक्ष: अर्काको पात जम्मा गरेर डोकामा हाल्नेले एमालेको वनै समाप्त पार्‍यौं भन्दैछन् (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावमा पार्टीले चित्तबुझ्दो नतिजा निकाल्न नसकेपछि विरोधीहरुले प्रचार गरेजस्तो अवस्था नभएको बताएका छन् । उनले चुनावमा आफ्नै कन्तविजोक हुनेहरुले एमाले हारेको भनेर प्रचार गरिरहेको आरोप लगाए ।

पार्टीको प्रशिक्षण कार्यक्रममा बोल्दै ओलीले भने, ‘अस्तिको चुनाव राम्रो भएन । तर, हाम्रा विरोधीहरुले भनेजस्तो पनि होइन । १०-१५ वटा सीट ल्याएको छ, त्यो पनि अरुको सहारामा । अर्काको रुखका पात जम्मा गरेर अलिअलि डोकामा हालेको छ, अनि एमालेको त वनै समाप्त गर्‍यौं भन्दै उफ्रेका छन् । न आफ्नो विरुवा छ न त केही छ ।’

हारेको भनेको एमाले पनि दोस्रो पार्टीका रुपमा स्थापित भएको ओलीले बताए ।

‘एमालेले हार्‍योभन्दा पनि २०६ सीट एक्लै जितेर दोस्रो पार्टी भएको हो । अरु सप्पै झुण्डिएर कसैले हात समातेको छ, कसैले पिडौंला अँठ्याएको छ, कोही तिघ्रासम्म उफ्रीउफ्री झम्टिएको छ । र पनि सबैभन्दा ठूलो पार्टी कांग्रेसभन्दा १ लाख बढी भोट त एमालेले ल्याएको हो नि ! अहिले ऐँचोपैँचो, सरसापटी सबै गरेर ३ प्रतिशत पुर्याउनेले ३४ प्रतिशत मत ल्याएको एमालेलाई हार्‍यो अरे । यो हल्लाका पछि लाग्नुपर्दैन ।’

पार्टीभित्रकै कमिकमजोरीले सोचेजस्तो नतिजा नआएको ओलीको भनाइ थियो । पार्टीको सरकारले गरेका राम्रा कामहरुबारे जनतामा प्रचारप्रसार गर्न नसकिएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर