पोखरेलको दाबी- स्थानीय चुनावमा कांग्रेस दोस्रो भएको हो
काठमाडौं । नेकपा एमालेले हालै सम्पन्न स्थानीय चुनावमा कांग्रेस पहिलो पार्टी नबनेको दाबी गरेको छ । पार्टीका महासचिव शंकर पोखरेलले जनमतका आधारमा एमाले पहिलो र कांग्रेस दोस्रो भएको बताए ।
आज आयोजित पत्रकार सम्मेलनमा पोखरेलले गठवन्धन बनाएर चुनाव जितेको कांग्रेसलाई पहिलो पार्टी भन्न नमिल्ने तर्क गरे ।
उनले भने, ‘हामीले गठबन्धनसँग चुनाव हारेको साँचो हो । तर, गठबन्धन बनाएर चुनाव जितेको कांग्रेस पहिलो भयो भन्ने व्याख्यासँग हामी सहमत छैनौं । गठबन्धन पहिलो भन्दा हामी मान्छौं । स्थानीय चुनावमा गठबन्धन पहिलो र एमाले दोस्रो भएको सत्य हो । तर, पार्टीगतरूपमा कांग्रेस पहिलो होइन । जनमतमा कांग्रेस एमालेभन्दा पछाडि छ । त्यसैले एमाले पहिलो र कांग्रेस दोस्रो हो । चुनाव लड्दा गठवन्धनबाट लड्ने पार्टी कांग्रेस पहिलो भयो भन्न मिल्दैन । हामी त्यसको प्रतिवाद गर्छौं ।’