एमाले गण्डकीले प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण गर्ने
पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेश कमिटीले प्रदेशस्तरीय कार्यकर्ता भेला गर्ने भएको छ ।
कमिटीले आगामी साउन ८ गते पोखराको सभागृहमा भेला तथा प्रशिक्षण आयोजना गरेको एमाले गण्डकी कार्यालय सचिव माधव बास्तोलाले जानकारी दिए ।
कार्यक्रममा सहभागिताका लागि एमालेले प्रदेशका ११ वटै जिल्लाका नेता तथा कार्यकर्ताहरुलाई पोखरामा बोलाएको छ ।
प्रदेशकाे गत असार ३२ गते बसेको बैठकले तय गरेको कार्यक्रममा प्रदेश कमिटीका सदस्यहरु, प्रदेश विभागका सदस्यहरु, ११ वटै जिल्ला कमिटीका सदस्यहरु, जिल्ला सल्लाहकारहरु, गण्डकी प्रदेशअन्तर्गतका जनसंगठनका केन्द्रीय सदस्यहरु, प्रदेशस्तरीय जनसंगठनका सदस्यहरु तथा स्थानीय पालिका र जिल्ला समन्वय समितिका जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिइनेछ ।
पार्टीका शीर्ष नेताहरुले दिइने प्रशिक्षणमा बाहिरका मानिसलाई प्रवेश निषेध गरिएको छ । प्रशिक्षण विशेषगरी निर्वाचन लक्षित हुने एमाले गण्डकीले जनाएको छ ।
एमालेले गत स्थानीय तह निर्वाचनलाई समीक्षा गर्दै आगामी संघ र प्रदेश निर्वाचनमा आफ्नो सम्पूर्ण शक्तिलाई निर्वाचन केन्द्रित गरेर अभियानहरु सञ्चालन गर्ने क्रमको पहिलो भेलाको सुरुवात पोखराबाट गर्न लागेको हो ।
यो भेलापछि एमालेले जिल्ला, पालिका, वडा र टोलटोलमा अभियानहरु सञ्चालन गर्ने कार्यक्रम तय गरेको छ ।
यस अभियानमा करिब १५०० कार्यकर्ताहरु प्रदेशभरि नै परिचालन गर्ने एमालेको योजना छ । यस अभियानले एमालेलाई आगामी निर्वाचनमा पहिलो बन्न भूमिका खेल्ने बताइएको छ ।
त्यस्तै अभियानले जनतासँग जोड्ने, वर्तमान सरकारले गरेका राष्ट्रघाती कदम, जनविरोधी गतिविधि, महंगी, भष्ट्राचार, असमान विकास बजेट वितरण, परिवारको नाममा भएका ट्रष्टहरुमा करौडौं वितरण गरी राज्यको रकम दुरुपयोग, बैदेशिक हस्तक्षेप, एमालेको पालामा जारी गरेको चुच्चे नक्साको बारेमा भारतसँग गर्नुपर्ने कूटनैतिक कदमको विषयमा सरकार लम्पसारवादी बनेको, एमसीसी, एसपीपीका विषयमा सरकारको भण्डाफोर गर्ने एमालेले जनाएको छ ।