बढुवा भएका ३७ जना वरिष्ठ प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं । प्राविधिक तथा प्रशासनतर्फका विभिन्न पदमा बढुवा भएका ३७ जना वरिष्ठ प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच उनीहरुलाई प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।
दर्ज्यानी चिन्ह प्राप्त गर्नेमा सूचना प्रविधितर्फका प्राविधिक प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) ई.अरूणकुमार भण्डारी, स्वास्थ्यतर्फका प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा.सुरज राना, डा. दीपा न्हुच्छे प्रधान तथा डा.अमिनकुमार श्रेष्ठ र सवारीतर्फका एसएसपी ई.दिनेश केसी रहेका छन् ।
साथै प्रशासनतर्फका प्रहरी वरिष्ठ उपरीक्षक गणेश चन्द, सिद्धिबिक्रम शाह, सुशिलसिंह राठौर, उमाप्रसाद चतुरबेदी, दानबहादुर कार्की, डा.मनोजकुमार केसी, राजन अधिकारी, जिबन कुमार श्रेष्ठ, हिमालयकुमार श्रेष्ठ, डम्बरबहादुर बिक, ओम बहादुर राना, ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल, गोबिन्द थपलिया, माधबप्रसाद श्रेष्ठ, दिल्लीराज बिष्ट, मनोजकुमार यादब, रेवती ढकाल, दिपेन्द्र जिसी, दिपक रेग्मी, दिलिपसिंह देउवा, बिनोद घिमिरे, किसनसिंह थापा, सुदर्शनप्रसाद कोईराला, दिपककुमार बस्नेत, जयराज सापकोटा, सुरेन्द्रबहादुर गुरुङ्ग, संजिब शर्मा दास, लोकेन्द्र श्रेष्ठ र शारदाप्रसाद चौधरी रहेका छन् ।
समारोहमा प्रहरी महानिरीक्षक सिंहले बढुवा भएका वरिष्ठ प्रहरी अधिकृतलाई बधाई ज्ञापन गर्दै बढुवासँगै प्रहरी अधिकृतले दत्तचित्त भएर सेवाभावका साथ प्राप्त जिम्मेवारी पूरा गरी संगठनप्रतिको श्रीवृद्धिमा लाग्नुपर्ने बताए । प्रहरी संगठनमा अनुशासनको धेरै महत्व हुने चर्चा गर्दै उनले यसप्रति सबै सचेत हुनुपर्नेमा जोड दिए ।
प्रहरी महानिरीक्षक सिंहले कामका आधारमा प्रहरी कर्मचारीको मूल्याङ्कन हुने भएकोले संगठनप्रतिको जिम्मेवारी र आफ्नो व्यावसायिक कार्यकौशलतालाई कायम राखी उच्च मनोवलका साथ कार्यसम्पादन गर्न निर्देशन दिए । साथै उनले पदोन्नति भएका चिकित्सक प्रहरी अधिकृतले विरामीको सेवा र रोगको निदान गर्न थप जिम्मेवार भएर काम गर्न आग्रह गरे ।
उक्त अवसरमा बढुवा भएका अधिकृतको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्राविधिक डीआईजीपी ई.अरूणकुमार भण्डारीले नेपाल प्रहरीमा सूचना प्रविधिको प्रयोग र विकास अब्बल रहेको बताउँदै पूर्ण रूपमा प्रविधियुक्त प्रहरी बनाउनको लागि अझ धेरै कार्य गर्न बाँकी रहेको बताए । साथै उनले प्रहरी संगठन आफैँमा गतिशील संगठन भएकोले प्रहरी कर्मचारी पेशागत रूपमा निपूर्ण हुनुपर्ने र वृत्तिविकासले थप उर्जाशील भई संगठनले दिएको जिम्मेवारी उच्च मनोवल तथा पूर्ण ईमान्दारिताका साथ वहन गर्दै संगठनको श्रीवृद्धितर्फ क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरे ।
समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी), प्रहरी नायव महानिरीक्षक(डीआईजीपी), वरिष्ठ प्रहरी अधिकृत (एसएसपी), प्रहरी अधिकृत एवं जवानकोसमेत उपस्थिति थियो ।