१४ वर्षदेखि सम्पर्कविहीन श्रीमान् खोज्न बैंगलाैर पुगेकी गंगा, आमा पनि भेटेपछि मन चंगा – Nepal Press

१४ वर्षदेखि सम्पर्कविहीन श्रीमान् खोज्न बैंगलाैर पुगेकी गंगा, आमा पनि भेटेपछि मन चंगा

धनगढी । ‘बुवा छन् ?’, केटा पक्षले गंगुलाई सोधे ।

‘छन् ।’

‘कई ठौर ?’

‘भारत ।’

‘कन्यादान उनकी गराउनुपड्यो’, दुई दशकसम्म आफूले एक्लै पालेको छोरीको विवाह गर्ने बेला बुवाको खोजी भएपछि गंगुलाई समस्या पर्‍यो ।

२०४१ साल पुसमा गंगुलाई लिएर बझाङ पुगेका दिलबहादुर माघमा फेरि भारत लागे । त्यसको केही वर्षपछि घर आएका दिलबहादुर त्यसपछि छोरी विवाह हुने उमेर हुँदासम्म फर्किएनन् ।

१४ वर्षदेखि घर नआएका श्रीमानलाई खोजेर ल्याउनु उनका लागि सामान्य कुरा थिएन । तर, २० वर्ष एक्लै हुर्काएकी छोरीको खुशीका लागि गंगुले त्यो आँट गरिन् ।

भारत जाने तयारी त गरिन् । तर, पैसा भएन । जसोतसो गरेर उनी बैंगलोर पुगिन् ।

श्रीमान रहेको बैंगलोर सहर गंगुको माइती पनि हो । आफू पुगेको खबर श्रीमानले पाए, फेरि त्यहाँबाट पनि फरार हुने र त्यसपछि छोरीको विवाह नहुने हो कि भन्ने चिन्ता गंगुलाई थियो ।

केही नेपालीले उनलाई साथ दिए ।

‘कइखि जन भन्या तिनुले था पायो भन्या अझ भागन्या हुन्’, भारतमा रहेका नेपालीहरूलाई उनले भनिन् ।

‘हुन्छ, हामी भन्दाइन’, उनीहरुले वाचा गरे । नेपालीहरूको सहयोगमा गंगुले श्रीमान भेटिन् । तर, उनले चिनेनन् ।

‘मलाई हेरेको हेरेइ गर्नुभयो । चिन्नुभएन’, उनले त्यो दिन सम्झँदै भनिन्, ‘१४ वर्षमा उहाँ पनि फेरिनुभएको रहेछ ।’

गंगुले छोरीको विवाह हुँदै गरेको श्रीमानलाई बताइन् । ‘त्यसपछि बल्ल उहाँले चिन्नुभयो’, केही उत्साहित हुँदै उनले भनिन् ।

‘१५ दिनपछि झाउला’, श्रीमानले फकाउन थाले । ‘नाइँ हुँदैन, अहिलै झाउ’, गंगुले अड्डी कसिन् ।

‘मेरो नानू, पैसो लिनु छ । त्यो लिएर झाउला’, यति भनेपछि गंगु आश्वस्त भइन् ।

श्रीमानलाई भेटिसकेपछि गंगुलाई आमाबुवा भेट्ने इच्छा जाग्यो । ‘यति टाढाबाट आएको छु । पछि आउन पाइँदैन । अहिले नै माइती भेट्नुपर्छ जस्तो लाग्यो । अनि माइती भेट्न गाएँ’, फेरि त्यो दिन सम्झिइन् ।

श्रीमान रहेको ठाउँबाट करिब ५ घण्टापछि उनी माइती पुगिन् । १७ वर्षको उमेरमा घरबाट टाढा भएकी गंगु ४० वर्षको उमेरमा आमाबुवा भेट्न गएकी थिइन् ।

‘२३ वर्षपछि घर कसरी फेला पार्नु भयो त’, मनमा कौतुहल जाग्यो ?

‘त्यहाँ राजा जन्मेको ठाउँ थियो । लडाइँ गरेको ठाउँ थियो । त्यही सम्झेर गएँ, अनि घर पुगें’, जति सजिलै घर पुगिन्, त्यति सजिलै गंगुले भनिन् ।

‘२३ वर्षपछि घर पुग्दा आफन्तले चिन्नुभयो त ?’, विगत सुनिरहेका नेकपा एमाले निर्वाचन आयोगका सदस्य सानुराज पोखरेलले जिज्ञासा राखे ।

गंगुले आफ्नो विगतबारे बताइरहँदा एमाले निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा पनि सँगै थिए । गंगुको विगतले सबैलाई भावुक बनाइरहेको थियो ।

‘बुवा पुजारी हुनुहुन्थ्यो । घर नजिकै मन्दिर थियो । त्यसैले घर चिन्न सहज भयो’, उनले भनिन्, ‘घर नजिकै पुग्दा मम्मीलाई देखें । बहुत खुशी लाग्यो । मैले चिनिहालें । मम्मीले चिन्नुभएन ।’

२३ वर्षपछि पनि आमा उस्तै लाग्यो उनलाई । सोधिन्, ‘आपका बालबच्चा अच्छा है ?’

‘सब अच्छा है ।’

आमाले आफ्नोबारेमा केही नभनेपछि गंगुको मन अमिलो भयो । उनले फेरि सोधिन्, ‘कहाँ है बालबच्चा ?’

‘कोई मेरा साथ है, कोई नै है । मेरा पति गुजरगए । बेटा पुजारी है’, आमाले यति भनेपछि गंगुले बुवा बितेको थाहा पाइन् ।

धेरै कुरा हुँदा पनि आमाले गंगुलाई चिन्न सकिनन् । ‘एक बेटी आपकी साथ नहीं थी ना, ओ कहाँ है ?’, आफ्नो कुरा कोट्याइन् । ‘पता नहीं, बहुत साल हुआ, हमारे साथ नै है’, आमाको त्यो उत्तरले गंगु भक्कानिइन् ।

छोरी हुँ भन्न पनि उनलाई आँट आएन । जन्म दिने आफ्नै आमाले पनि नचिनेपछि गंगु गहभरि आँसु बनाउँदै रुन थालिन् ।

अपरिचित महिला घरमै पुगेर केही संवाद गरेपछि रुन थालेको कुराले गंगुको आमालाई पनि अचम्म लाग्यो । आमाले गंगुको मुखमा एकटकले हेरिरहिन् । केही बेरपछि गंगुको आँखामाथि रहेको कोठीमा आमाको नजर पुग्यो ।

गंगु विवाह गरेर वर्षाैंसम्म माइती नगएपछि छोरी हराइन् भन्नेमा उनीहरु पुगिसकेका थिए । आमाले छोरीको एकमात्र चिनारी आँखामाथिको कोठी रहेको कुरा परिवारका अन्य सदस्यहरुलाई भने बताएकी थिइन् ।

‘अरे तु गङ्गा तो नै ?’, झट्ट सोधिहालिन् । नेपालमा गंगु भने पनि त्यहाँ मायाले उनलाई सानैदेखि गङ्गा भन्ने रहेछ ।

गंगुले टाउको हल्लाइन् । केहीबेर सन्नाटा छायो । आमाछोरीले बोल्न सकेनन् । एक–अर्कालाई अँगालोमा बेरेर धेरै बेर रोए ।

त्यही वेला गंगुको पुजारी भाइ घर पुग्छन् । आमा अपरिचित महिलासँग भक्कानो छोडेर रुँदा पुजारी भाइलाई अनौठो लाग्छ ।

‘तेरी बहन आई है’, गंगुको परिचय गराउन समय लगाउँदिनन् उनकी आमा ।

‘ऐ मेरी बहन नै है’, भाइले तत्काल जवाफ फर्काउँछ । आमाले आँखामाथिको कोठी देखाउँदै छोरालाई दिदी नै भएको विश्वास दिलाउँछिन् । २३ वर्षपछि दिदी घरमै पुगेको कुरा सबै भाइबहिनीसम्म क्षणभरमै फैलिन्छ । परिवारमा खुशीको सीमा रहन्न ।

२३ वर्षपछि घर फर्किंदा परिवारका ठूला सदस्यहरू हालखबर सोधिरहेका हुन्छन् । साना केटाकेटीहरू भने खानेकुरा खोजिरहेका हुन्छन् । एकसरो वस्त्रसहित श्रीमान लिन पुगेकी गंगुलाई आमा भेटिएको खुशी र आउँदा केही ल्याउन नपाएको पछुतो दुबै सँगै हुन्छ ।

त्यति हुँदा पनि आफूले २३ वर्षसम्म गरेको दुःखबारे कसैलाई केही भन्दिनन् गंगु । छोरीको विवाह हुँदै गरेको र श्रीमानलाई लिन आएको मौका छोपेर माइती पसेको भन्दै उनले दुःखको भारी आफैंसँग लुकाइन् । केही दिन माइती बसेर फेरि नेपाल फर्किइन् गंगु ।

श्रीमानसँगै नेपाल पुग्दा छोरीको विवाहको तयारी भइरहेको हुन्छ । सही समयमा पुगेपछि सबै खुशी हुन्छन् ।

२३ वर्षमा पहिलो पटक माइती गएकी गंगु त्यसपछि भने निरन्तर गइरहिन् । तर, उनले अहिलेसम्म आफ्नो ठेगाना भने माइती पक्षलाई दिएकी छैनन् । ‘यहाँ आए भने त मलाई सधैंका लागि लिएर जान्छन् । मलाई जान मन छैन । यही बस्न मन छ’, उनले भनिन् ।

अहिले छोरीको मात्र होइन छोराको पनि विवाह भइसकेको छ । छोराछोरीतर्फका नातिनातिनासँग उनी रमाउँदै बसेकी छन् । तर, केही वर्ष पहिले उनका श्रीमान बिते । अहिले समाजसेवा र राजनीतितर्फ उनको ध्यान छ ।

नेपाल कसरी पुगिन् ?

भारतको कर्नाटक राज्यको बैंगलोर सहरमा सामान्य परिवारमा जन्मिएकी हुन्, गंगुदेवी खडायत । मालिकको घर सरसफाइ गर्ने, खाना पकाइदिने, लुगा धोइदिने काम गरिरहेकी गंगुदेवीले त्यो वेला सपनामा पनि भिन्न कुरा देख्न सकिनन् ।

१६ वर्षकी हुँदा बझाङका दिलबहादुर खडायतसँग उनको विवाह भयो । परिवारका सदस्यहरूले केटा खोजिदिएका हुन् । तर, विवाहको अन्तिम दिनसम्म पनि उनलाई दिलबहादुरले आफ्नो वास्तविक परिचय दिएका थिएनन् । ‘दिल्लीमै घर छ भनेर कुरा पक्का भएको थियो’, उनले भनिन् ।

टनकपुरबाट आएको उनलाई सम्झना छ । बझाङ आएको एक महिनामै उनका श्रीमान भारततर्फ हिँडे । एकल जस्तै बनेर सन्तानलाई हुर्काउने क्रममा गंगुले दुःखका पहाड फोड्नुपर्‍यो । ‘महिलालाई यतिसम्मको तल्लोस्तरबाट हेरिन्छ भन्ने सोचेकी पनि थिइनँ’, उनले विगत सम्झिँदै भनिन्, ‘एकपल्ट त आत्महत्या गर्न भन्दै भीरबाट हाम फालेकी थिएँ । कसले बचायो, पत्तै भएन ।’

विगत कोट्याइरहेका बेला उनका आँखामा वेला-वेला आँसु छचल्किन्थ्यो । आँसुले आँखा धपक्क छोप्दा उनी घोप्टो पर्थिन् र केही बेर बोल्न सक्दिनथिन् ।

गंगुलाई ती दिनहरू कहालीलाग्दो लाग्छ । ‘आफूले जन्माएका चिचिला सन्तानहरूको हेरचाह गर्ने दायित्वसँगै सामाजिक कुरीतिहरूको आडमा महिलामाथि हुने ज्यादतीविरुद्ध एकैचोटि जुध्नु कम जोखिम थिएन’, उनले भनिन्, ‘तर, मेलै कहिल्यै हिम्मत हारिनँ ।’

सन्तान पाल्न जाेतिन् हलो

२०५९ सालको समय थियो । मुलुकमा सशस्त्र द्वन्द्व उत्कर्षमा थियो । गंगुलाई देशको द्वन्द्वभन्दा पनि आफ्नै घरभित्र र मनभित्रको अन्तरद्वन्द्वले पिरोलिरहेको थियो । ‘आफ्नै श्रीमानले छाडेर गएपछि अरू कसले साथ दिन्थ्यो र’, गंगुले मलिन स्वरमा भनिन्, ‘आफूलाई र सन्तानलाई दुईछाक टार्न हल गोरु चलाउन थालें ।’

परिवार पाल्न गंगुले हलो जोत्न थालिन् । सुदूरपश्चिमको ग्रामीण बस्तीमा एक महिलाले हलो जोतिन् भन्ने सुनेर हेर्न आउनेहरूको दैनिक घुइँचो हुन्थ्यो । गंगुले निरन्तर पाँच वर्ष बढी हलो जोतेर आफ्नो खेती आफैँ गरिन् ।

कामदारदेखि उपाध्यक्षसम्मको यात्रा

२०५४ सालको स्थानीय निर्वाचनमा वडा सदस्य भएपछि उनको राजनीतिक यात्रा सुरु भएको थियो । २०५६ सालमा उनी क्षेत्रपालमा मनोनीत भइन् । त्यस वेला उनी ५ कक्षासम्म मात्र पढेकी थिइन् । राजनीतिसँगै अध्ययनलाई अघि बढाएकी गंगुले ४७ वर्षको उमेरमा २०६७ सालमा एसएलसी पास गरिन् ।

अघिल्लो स्थानीय तह निर्वाचनमा उनी बझाङको थलारा गाउँपालिका उपाध्यक्ष निर्वाचित भइन् । अहिले उनी महिलाहरूलाई दुःखसँग जडाउने होइन, दुःखलाई जित्ने हो भन्दै आत्मबल बढाउने काम गर्छिन् ।

दुःखको पहाड बोकेर पहाडमै संघर्ष गरिरहेकी गंगुको अहिले भने कुनै कुरामा गुनासो छैन । उनी भन्छिन्, ‘मेरो भाग्य खोटो रैछ भनेर रुँदै बस्नुभन्दा मेरो भाग्य म आफैं बनाउँछु भनेर संघर्ष गर्ने कुरा ठूलो हो । म मेरो भाग्य राम्रो छैन भनेर बसेको भएँ आज यो ठाउँमा पुग्ने थिएन ।’


प्रतिक्रिया

4 thoughts on “१४ वर्षदेखि सम्पर्कविहीन श्रीमान् खोज्न बैंगलाैर पुगेकी गंगा, आमा पनि भेटेपछि मन चंगा

  1. हो,! भाग्य कर्मले बनाउने कुरा हो ।नकि कर्म भाग्यअनुसार !

  2. सालाम छ।कमरेड ।जिन्दगी को यात्रा लाई सफल पारेकोमा।

  3. दुख र कष्ट लाइ पनि सान्त्वना दिदै समाजमा नारि हरुको सिर उच्च बनाउनु भएको मा बदाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर