पूर्वअर्थमन्त्रीको बयानपछि छानबिन समितिका सदस्यसचिव भन्छन्- हामीले धारणा बनाउन बाँकी नै छ (भिडिओ) – Nepal Press

पूर्वअर्थमन्त्रीको बयानपछि छानबिन समितिका सदस्यसचिव भन्छन्- हामीले धारणा बनाउन बाँकी नै छ (भिडिओ)

काठमाडौं । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन गरिएको संसदीय विशेष समितिलाई दिइएको म्याद आज सकिँदैछ । तर, समिति अहिलेसम्म कुनै निष्कर्षमा पुग्न सकेको छैन ।

समितिले आज पूर्वअर्थमन्त्री शर्मालाई बोलाएर ३ घन्टा लामो बयान लिएको थियो । बयानमा अर्थमन्त्रीले आफूमाथि लागेको आरोप अस्वीकार गरे । बजेट भाषणको अघिल्लो रात अर्थ मन्त्रालयमा कोही पनि अनाधिकृत व्यक्तिको प्रवेश नभएको उनको जिकिर थियो ।

बैठकपछि पत्रकारहरूलाई प्रतिक्रिया दिँदै समितिका सदस्य सचिव सुरेन्द्र अर्यालले शर्माले यसअघि संसदमा बोलेका कुराहरुलाई नै बल पुग्ने गरी बयान दिएको बताए । अहिलेसम्म कसैले पनि बजेट निर्माण प्रक्रियामा अनाधिकृत हस्तक्षेप स्वीकार नगरेको उनको भनाइ छ ।

अर्यालले भने, ‘हामीले बजेट निर्माणमा संलग्न सबैको बयान लियौं । अहिलेसम्म कसैले पनि अनधिकृत व्यक्ति प्रवेश गरेको हो भनेर भन्नुभएको छैन ।’

समितिमा बयान दिनेहरूको कुरा बाझिएको छ कि छैन भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘त्यस्तो हामीले पाएका छैनौं ।’

करका दरको हेरफेर गर्नुपर्ने आवश्यकता र सान्दर्भिकताबारे सबैले आफ्नो धारणा राखेको काफ्ले बताए । सबैको बयान सकिएर सीसीटीभी फुटेजको रिपोर्ट पनि आइसकेपछि समितिले धारणा बनाउने उनको भनाइ छ ।

‘सीसीटीभी फुटेजको रिकभरिका लागि प्रहरीको फरेन्सिक ल्याबमा पठाइएको छ । त्यसको रिपोर्ट आएपछि निष्कर्षमा पुग्न सहज हुन्छ । अहिलेसम्म समितिले आफ्नो धारणा बनाएको छैन,’ उनले भने ।

समितिको काम नसकिने भएपछि म्याद थपका लागि सभामुखसमक्ष लिखित आग्रह गरिएको काफ्लेले जानकारी दिए ।

उनले भने, ‘अब कति समय लाग्ने हो भन्न सकिँदैन । त्यसैले यति दिन उति दिन नभनिकन हामीले आवश्यकता अनुसार समय थप गर्न माग राखेका छौं । आज संसद बैठक पनि छ । कति दिन म्याद थप हुन्छ, अहिले भन्न सक्दिनँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *