अब वैदेशिक रोजगारीमा रहेकाहरू पनि सामाजिक सुरक्षा कोषकाे दायरामा – Nepal Press

अब वैदेशिक रोजगारीमा रहेकाहरू पनि सामाजिक सुरक्षा कोषकाे दायरामा

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनका लागि सामाजिक सुरक्षा कोष र गैरआवासीय नेपाली संघ (एनआरएनए)बीच समझदारीमा हस्ताक्षर भएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर, श्रम सचिव एकनारायण अर्यालको उपस्थितिमा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली र एनआरएनएका अध्यक्षद्वय कुल आचार्य र बद्री केसीबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

श्रम सचिव अर्यालले वैदेशिक रोजगार ऐनलाई संशोधन गर्ने कार्य अघि बढाएको बताए । केही नेपाल ऐन संशोधनमार्फत विदेशमा रहेका नेपाली कामदारलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याउने गरी वैदेशिक रोजगार ऐन परिमार्जन गर्न लागिएको उनको भनाई छ । कोषमा विदेशमा गएका कामदारलाई हेर्ने छुट्टै युनिट गठन हुनेछ सचिव अर्यालले बताए ।

एनआरएनका उपाध्यक्षसमेत रहेका वैदेशिक रोजगार राहत कोष समितिका संयोजक आरके शर्माले विदेशमा रहेका नेपाली जीवनभर विदेशमा रहे पनि उनीहरूको सुरक्षाका लागि भने कुनै व्यवस्था नहुँदा उनीहरू समस्यामा पर्ने गरेको बताए ।

उनीहरूको जीवनभरको कमाइ अनुत्पादक क्षेत्रमा मात्रै खर्च भइरहेको भन्दै उनले विदेशमा रहेका नेपालीलाई नेपालको उत्पादनमूलक क्षेत्रमा समेट्न पनि आग्रह गरे ।

एनआरएनएले लामो समयदेखि वैदेशिक रोजगारीमा जाने कामदारलाई सामाजिक सुरक्षा कोषमा समेट्न पहल गर्दै आएको थियो ।

तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखासमेत रहेका मन्त्रालयका सहसचिवको दिपक काफ्लेको नेतृत्वमा वैदेशिक रोजगारीमा रहेका युवालाई पनि सामाजिक सुरक्षा कोषको दायरमा ल्याउनका लागि अध्ययन गर्न एक कार्यदल गठन भएको थियो । कार्यदलले त्यस विषयमा अध्ययन गरिरहेको कार्यदलका संयोजक काफ्लेले नेपाल प्रेसलाई जानकारी दिए ।

कोषले पनि सामाजिक सुरक्षा कोष सञ्चालन सम्बन्धी ऐनलाई संशोधन गर्नका लागि प्रक्रिया अघि बढाइसकेको र कार्यविधिको पनि मस्यौदा निर्माण गरिरहेको कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवालीले नेपाल प्रेसलाई जानकारी दिए ।

चालू आर्थिक वर्षको बजेट वक्तव्यमा पनि वैदेशिक रोजगारीमा रहेका नेपाली युवालाई सामाजिक सुरक्षा कोषको दायरमा ल्याउने उल्लेख गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर